दमौंली । तनहुँ जिल्ला नापी कार्यालयले राष्ट्रगानबाट दिनको सुरुवात गर्ने अभ्यास सुरु गरेको छ। राष्ट्रप्रति सम्मान, सामाजिक सद्भाव र एकता अभिवृद्धि गर्न कार्यालयले प्रत्येक दिन बिहान १० बजे राष्ट्रिय गान बजाएर मात्र दैनिक कामकाज थाल्ने परम्परा शुरु गरेको हो।
कार्यालय प्रमुख विजय कुमार सिंहका अनुसार, राष्ट्रगानले देशको गौरव, सहिदको योगदान र जनताको बलिदान सम्झाउने मात्र होइन, कर्मचारीहरूलाई सकारात्मक प्रेरणा र कर्तव्यबोध गराउने विश्वासका साथ यो अभ्यास सुरु गरिएको हो। उनले भने, “यो अभ्यासले राष्ट्रप्रतिको निष्ठा र कर्तव्यपरायणता झनै बलियो बनाउँछ।”
नापी कार्यालयले सेवा प्रवाहलाई छरितो र प्रभावकारी बनाउन आन्तरिक प्रणालीमा समेत उल्लेखनीय सुधार गरेको छ। अब पुराना ढड्डा खोज्ने झन्झट हटाइएको छ र सम्पूर्ण रेकर्डहरू कम्प्युटर प्रणालीमा राखिएको छ। विद्युत अवरोध हुँदा पनि इन्भर्टर प्रणालीमार्फत सेवा अवरुद्ध नहुने व्यवस्था मिलाइएको छ।
कार्यालयमा अब बिहान १० बजेपछि आउने कर्मचारीको हाजिरी नलिने र अनुपस्थितिको कारण अनिवार्य खुलाउनु पर्ने नियम लागू गरिएको छ। इलेक्ट्रोनिक हाजिरी प्रणाली अन्तर्गत बिहान १० बजे र साँझ ५ बजे अनिवार्य रूपमा हाजिरी गर्नुपर्ने व्यवस्था गरिएको छ।
कार्यालय प्रमुख सिंहको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटोसँगै महाकवि भानुभक्त, महर्षि व्यास र पराशरका तस्बिरहरू समेत राखिएका छन्। कार्यालयको मुख्य गेटमा पनि व्यास र पराशरका फोटो टाँसिएको छ, जसले राष्ट्रियता र सांस्कृतिक चेतनाको सन्देश दिन्छ।
कार्यालय परिसरलाई आकर्षक बनाउन फूलका गमलाहरू राखिएको छ। कार्यकक्षहरू सफा, व्यवस्थित र चिटिक्क राखिएका छन्। साथै, कार्यालयमा विचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरिएको छ।
सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहन प्रमुख सिंहले आफ्नो कार्यकक्ष छुट्टै नराखी अन्य कर्मचारीसँगै कार्यकक्ष साझा गरेका छन्। अहिले कार्यालयमा १५ जना प्राविधिकसहित २७ जना कर्मचारी कार्यरत छन्।
सेवाग्राहीहरू यो नयाँ अभ्यासबाट निकै सन्तुष्ट देखिन्छन्। उनीहरूका अनुसार कार्यालयमा अनुशासन, पारदर्शिता र सेवा प्रभावकारितामा उल्लेखनीय सुधार आएको छ।