तनहुँ, साउन १४ । व्यास नगरपालिका–३ स्थित तरकारी लाइनमा अनुगमनमा गएका टोलीमाथि अभद्र व्यवहार गर्ने तीन जना व्यक्ति आज धरौटीमा रिहा भएका छन्।
साउन ८ गते अनुगमनमा खटिएका जनप्रतिनिधि तथा कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेका उनीहरू सात दिनपछि रु. १६,००० धरौटीमा रिहा भएका हुन्। पक्राउ परेका व्यक्तिहरूमा ५५ वर्षीय जवाहित साह, ५० वर्षीया मायादेवी साह र उनका २३ वर्षीय छोरा राजु साह रहेका छन्।
उनीहरूलाई पहिलोपटक पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिएको थियो भने दोस्रोपटक पुनः पाँच दिनको म्याद थपिएको थियो। अनुसन्धानको क्रममा उनीहरूलाई अभद्र व्यवहार सम्बन्धी मुद्दा अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय, तनहुँको मुद्दा शाखाका सई याम नेपालीले जानकारी दिनुभयो।
घटनापछि जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको थियो। अनुगमनमा खटिएको टोलीमाथि दुर्व्यवहार गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको र कानुनी प्रक्रिया अनुसार अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।