पालुङ्टार । पालुङ्टार नगरपालिका १ र २ तथा सिरानचोक गाउँपालिका ३, ४ र ५ को सीमाक्षेत्र हुँदै बग्ने भुसुण्डे खोलामा पुल नहुँदा स्थानियवासी लामो समयदेखि समस्या भोगिरहेका छन्। खोलाको बारम्बारको बाढीले बालबालिका, किसान, तीर्थयात्री र सर्वसाधारणको दैनिक जीवन प्रभावित बनाउँदै आएको छ।
भुसुण्डे खोलाले ऐतिहासिक तथा धार्मिक स्थलहरू — कागबेनी मन्दिर (कागभुसुन्डी), लिगलिग कालिका, हर्मीकोट, श्रीनाथकोट, चोरकाटे शिवालय लगायत क्षेत्रको सिञ्चाइ प्रणालीलाई समृद्ध बनाए पनि बर्खाको समयमा खोलाले किसानको बाली, माछा पोखरी र फलफूल बगैंचामा क्षति पुर्याउँदै आएको छ।
यसै विषयमा पालुङ्टार नगरपालिकाका मेयर बिबस चिन्तनले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेता पुष्पकमल दाहाल 'प्रचण्ड', सांसद नारायणकाजी श्रेष्ठ, कमला पन्त, नन्दप्रसाद न्यौपाने, मन्त्री फणिन्द्र देवकोटा तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग पटक–पटक छलफल भएको जानकारी दिए। तर अहिलेसम्म पुल निर्माणको योजना कार्यान्वयनमा आउन सकेको छैन।
स्थानीय सडक कटहरे–पाण्डेखेत–कागबेनी–सिरानचोक ४ खण्ड बर्खामा अवरुद्ध हुने भएकाले खोलामाथि पक्की वा ट्रस पुलको माग तीव्र बन्दै गएको छ। खोलामा विद्यालय जानुपर्ने बालबालिका, पूजा गर्न जाने भक्तजन र बाली काट्न खेत जाने किसानहरूलाई ठूलो कठिनाइ हुने गरेको छ।
जनज्योति आधारभूत विद्यालयकी शिक्षिका इन्दिरा पोखरेल भन्छिन्, “खोलामा विद्यार्थीको हात समाएर वा काखमा बोकेर तर्नुपर्छ। पानीको बहाव बढेमा किताब–कपी बगाउँछ, बच्चा चिसो कपडामै कक्षा कोठामा बस्न बाध्य हुन्छन्।” स्थानीय अभिभावक पार्वती सिर्मलले वर्षायाम सुरु भएदेखि बच्चा डुब्ने डरले विद्यालय नै नपठाउने अवस्था आउँछ भनी गुनासो गरिन्।
पुल निर्माणका लागि सिरानचोक ४ का वडाअध्यक्ष भरत हमालको संयोजकत्वमा पुल निर्माण सरोकार समिति गठन गरिएको छ। समितिको पहलमा पालुङ्टार–१ निवासी नबिन गुरुङद्वारा सञ्चालित कर्ण बिल्डर्स प्रालिले निशुल्क ट्रस पुलको प्राविधिक नक्सा तथा लागत अनुमान (Rs. 9,93,000) तयार गरिदिएको छ।
जनस्तरबाट अगाडि बढाइएको प्रयास अनुसार, तत्काल मोटरेबल पुल सम्भव नभए पनि ट्रस वा काठको पुल निर्माणका लागि बजेट विनियोजनको माग गर्दै स्थानीय र प्रदेश सरकारलाई अनुरोध गरिएको छ। आवश्यक परेमा प्रतिनिधिमण्डलसहित माग प्रस्तुत गरिने सरोकार समितिका सदस्य दीपक घिमिरेले जानकारी दिए।