Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’लाई कविडाँडा आख्यान पुरस्कार

तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’लाई कविडाँडा आख्यान पुरस्कार

इच्छाकामना न्युज

२, कार्तिक २०८२
तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’लाई कविडाँडा आख्यान पुरस्कार

चितवन । नेपाली साहित्यको आख्यान विधामा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका लेखक तीर्थ गुरूङको उपन्यास ‘हिउँको गीत’ पुरस्कृत भएको छ। कविडाँडा साहित्य समाज, चितवनले शनिबार नगद एक लाख ५० हजार ६० रूपैयाँको ‘कविडाँडा आख्यान पुरस्कार–२०८१’ लेखक गुरूङलाई प्रदान गरेको हो।

images

समाजका अध्यक्ष एलबी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य, समीक्षा र समकालीन आख्यान विषयमा समृद्ध बिचारहरु प्रस्तुत भए। कार्यक्रममा विभिन्न समीक्षक र साहित्यकर्मीले ‘हिउँको गीत’को विषयवस्तु, लेखनशैली र साहित्यिक मूल्यबारे धारणा राखेका थिए।

स्थानको आत्मा बोकेको आख्यान 
कार्यक्रममा समीक्षक डा। महेश पौड्यालले आख्यान लेखनमा स्थानको भूमिका अत्यन्त मह¤वपूर्ण हुने बताए। ‘घटना, पात्र र परिवेश स्थानले निर्धारण गर्छन्। पाठकलाई आख्यानसँग जोड्ने प्रमुख तत्त्व पनि भूगोल नै हो’, उनले भने, ‘हिउँको गीतमा लेखकले गुरूङ समुदायको सांस्कृतिक, भौगोलिक र ऐतिहासिक परिवेश सशक्तरुपमा प्रस्तुत गरेका छन्।’

उनका अनुसार यथार्थसँग जोडिएको भूगोल प्रस्तुत गर्न सक्नुले आख्यानलाई गहिराइ दिन्छ र पाठकलाई संवेदनात्मकरुपमा जोड्न मद्दत गर्छ। चितवनबाट एक जना सशक्त लेखक र सशक्त पुस्तक पुरस्कृत हुँदैगर्दा चितवनले नेपाली साहित्यलाई प्रशिक्षित गरेको उनले बताए।

सांस्कृतिक आख्यानको उत्कृष्ट उदाहरण 
उक्त कृति समीक्षक डा। केशवराज चालिसेका नजरमा सांस्कृतिक आख्यानको उत्कृष्ट नमुना हो। उपन्यासमा लेखकले गुरूङ जातिको इतिहास, संस्कृति, परम्परा र सामाजिक संरचनालाई गहिरोरुपमा उजागर गरेको उनले बताए। ‘यस उपन्यासमा पात्र धेरै छन् र तीमध्ये कतिपय पात्रका नाम गैरगुरूङ पाठकका लागि बुझ्न अलि कठिन हुन सक्छ’, उनले भने, ‘तर त्यो नै यस उपन्यासको मौलिकता हो, जसले पाठकलाई नयाँ संस्कृति भित्र्याउन चुनौती दिन्छ।’

डा चालिसेले उपन्यासमा आदिवासी दृष्टिकोणबाट कथा भन्ने शैली प्रयोग गरिएको बताए। ‘त्यो नेपाली साहित्यमा प्रायः कम देखिने गर्छ’, उनले भने, ‘समग्रमा गुरूङ जातिको उद्गमस्थल मानिएको क्होलासोँथरको कथा यो उपन्यासले बोकेको छ।’

उपन्यासले दिएको भाषिक परिपक्वता 
साहित्यकार भूपिन खड्काले लेखक तीर्थ गुरूङको लेखनशैली र भाषिक पकडको उच्च मूल्याङ्कन गरे। ‘गुरूङको सबैभन्दा बलियो पक्ष भनेको उनी पात्रलाई बोल्न सक्ने बनाउँछन्’, उनले भने, ‘त्यसकारण पात्रकेन्द्रित उपन्यासहरुमध्ये ‘हिउँको गीत’ नेपाली साहित्यको शिखरमा उक्लिएको छ।’ उनले लेखक गुरूङलाई २०७३ सालमा पहिलो उपन्यास ‘पाठशाला’ सार्वजनिक गरेदेखि नै आफूलाई उत्कृष्ट आख्यानकारको रुपमा स्थापित गराउन सफल लेखकको रुपमा चित्रण गरे। त्यसयता तीर्थ गुरूङले ‘आप्पा क्हार्प’ कथासङ्ग्रह र ‘आयो गोरखाली’को नेपाली अनुवाद गरिसकेका छन्।

पुरस्कार प्रेरणा हो, मूल्याङ्कन होइन 
पुरस्कार ग्रहण गर्दै लेखक तीर्थ गुरूङले नेपाली साहित्यमा पुरस्कार नै सर्वोपरि नभए पनि पुरस्कारले सिर्जनाकर्ममा सक्रिय स्रष्टालाई आत्मबल बढाउनमा ठूलो मद्दत मिल्ने बताए। ‘नेपाली साहित्यमा पुरस्कार नपाएर पनि उत्कृष्ट कृतिहरु छन्’, उनले भने, ‘तर पुरस्कारले लेखकलाई हौसला दिन्छ, यसले सिर्जनात्मक यात्रामा थप ऊर्जा दिन्छ भने पुस्तकको व्यावसायिक सफलतामा पनि सकारात्मक प्रभाव पार्छ।’ उनले ‘हिउँको गीत’ लेख्न आफूलाई प्रेरित गर्ने स्रोतहरुमा आफ्नै समुदायको मौलिकता, भोगाइ र पहिचानको खोजी गरेको बताए।

नयाँ पुरस्कारको घोषणा 
कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले आगामी वर्षदेखि कविडाँडा प्रतिभा पुरस्कार सुरू गर्ने घोषणा गरेका छन्। ‘२०६० सालमा स्थापना भएको संस्थाले २०७३ देखि दिइँदै आएको आख्यान पुरस्कारको निरन्तरतासँगै अब हामी नयाँ प्रतिभालाई प्रोत्साहित गर्न अर्को पुरस्कार थाल्दै छौँ’, उनले भने, ‘आगामी वर्षबाट प्रदान गरिने कविडाँडा प्रतिभा पुरस्कारको राशिसमेत १ लाख ५० हजार ६० रूपैयाँ नै हुने छ।’

images
प्रकाशित मिति :कार्तिक २, २०८२ आइतवार - १२:५३:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology