गोरखा २२, फागुन । गोरखा जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गर्न गठित आयोगको कार्यालय स्थापना भएको छ । सरकारले नेकपा ओली पक्षका नेता सुरेन्द्र थापालाई भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति अध्यक्षमा चयन गरेको करिब १ महिनापछि जिल्ला गोरखा सदरमुकाममा आयोगको कार्यालय स्थापना गरिएको हो ।
जिल्ला समन्वय समितिको भवनमा कार्यालय स्थापना गरेर काम थालिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । कार्यालय स्थापना भएसंगै अब तत्काल जिल्ला भित्रका भूमिहिन दलित, भूमिहिन सुकम्बासी, अब्यवस्थित बसोबासीको तथ्याङ्क संकलनको काम थाल्ने उहाँले बताउनुभयो । ‘अब बार्षिक कार्य योजना बनाएर अघि बढ्ने तयारीमा हामी लागेका छौ, अध्यक्ष थापाले भन्नुभयो, ‘कर्मचारी व्यवस्थापन पनि गर्न पर्नेछ, कार्यालय स्थापनासंगै सवै काम योजनाबद्ध ढंगले अघि बढाउछौ ।’
उहाँले आउदो चैत १५ गते भित्रमा जिल्ला भित्रका सवै गाउँपालिकाका जनप्रतिनिधी, तथा स्थानीयतहका प्रमुख प्रशासकिय प्रमुखलाइ अभिमुखीकरण तालिम प्रदान गरिसक्ने योजना आयोगको रहेको जानकारी दिनुभयो ।
आयोग गठन भएसंगै ४ वटा स्थानीय तहहरुमा अभिमुखीकरण कार्यक्रम सञ्चालन भईसकेको छ, उहाँले भन्नुभयो बाँकी रहेका ७ वटा स्थानीय तहहरुमा पनि निर्धारित समयै कार्यक्रम सम्पन्न गछौ ।’ आयोगको जिल्ला स्तरीय समितिमा अध्यक्ष बाहेक अन्य दुई जना मनोनित सदस्य, जिल्ला समन्वय अधिकारी, नापी, मालपोत, डिभिजन बन कार्यालयका प्रमुख सदस्य रहने व्यवस्था छ ।