आँबुखैरेनी, पुस २९ । चितवनको सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेको यात्रुबाहक बसको अवशेष निकाल्न तेस्रो दिन पनि उत्खनन कार्य जारी रहेको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दुन्द्राङबेँसीस्थित नदी किनारमा आइतबार फेला परेको बसको भग्नावशेष निकाल्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालित छ।
वि.सं. २०८१ असार २८ गते काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको ‘गणपति डिलक्स’ बस पहिरोसँगै त्रिशूली नदीमा खसेको थियो। सो बस करिब १८ महिनापछि बालुवा र गेग्रानको थुप्रोमुनि पुरिएको अवस्थामा फेला परेको हो।
आइतबार र सोमबार दिनभरको प्रयासपछि पनि बसको अधिकांश भाग बालुवामा गाडिएको र लेदोले भरिएकाले उद्धार तथा उत्खनन कार्य चुनौतीपूर्ण बनेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार बस निकै गहिरोसँग पुरिएको र क्षतविक्षत अवस्थामा रहेकाले प्राविधिक सावधानी अपनाउँदै मङ्गलबार बिहानैदेखि पुनः उत्खनन सुरु गरिएको हो।
सिमलताल दुर्घटनामा दुईवटा बस त्रिशूलीमा खस्दा ५१ यात्रु अझै बेपत्ता छन्। भारतबाट आएका गोताखोरसहितको टोलीले लामो समयसम्म खोजी गर्दा पनि फेला पार्न नसकेको बसको अवशेष आइतबार मात्र भेटिएको थियो।
घटनास्थलमा इलाका प्रहरी कार्यालय साराङघाट र आँबुखैरेनीसहित चितवन र तनहुँका ५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन्। मङ्गलबार बसलाई पूर्ण रूपमा बाहिर निकाल्न सकेमा बेपत्ता यात्रुका अवशेष वा अन्य महत्त्वपूर्ण प्रमाण फेला पर्ने सुरक्षा निकायको विश्वास छ।
प्रहरी नायब उपरीक्षक विकले भन्नुभयो, “बस नदीको गेग्रानमा निकै गहिरोसँग पुरिएको छ। हामी यसलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयासमा छौँ।”