राजेश सुनाम / आँबुखैरेनी (तनहुँ), माघ १० — श्रीपञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा रामशाह माध्यमिक विद्यालय, आँबुखैरेनीमा शुक्रबार विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरू सम्पन्न भएका छन्।
ज्ञान, विद्या र सिर्जनात्मकताको प्रतीक देवी सरस्वतीको पूजा–आराधनासँगै आयोजना गरिएको कार्यक्रममा सरस्वती पूजा, अक्षरारम्भ, निःशुल्क भर्ना अभियान तथा विशेष सांस्कृतिक कार्यक्रम समावेश गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
विद्यालयका प्रधानाध्यापक प्रेमराज लामिछानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन जुनियर युवा रेडक्रस सर्कल, रामशाह स्काउट तथा बाल क्लबका सक्रिय सदस्यहरू मनिषा श्रेष्ठ, अक्सरा चुमान, रागीता श्रेष्ठ, कृपा कँडेल र मनु चेपाङले गरेका थिए।
बिहान ७ बजेदेखि सुरु भई करिब तीन घण्टासम्म चलेको कार्यक्रममा कक्षा १ देखि ९ सम्मका २५ समूहले विविध सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्यले दर्शक, अभिभावक तथा शिक्षकहरूलाई भरपूर मनोरञ्जन प्रदान गरेको थियो।
कार्यक्रमले विद्यार्थीहरूमा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै आत्मविश्वास र प्रतिभा अभिव्यक्तिको अवसर प्रदान गरेको विद्यालयले जनाएको छ।
यसैबीच, बिहान ९ बजेदेखि श्रीपञ्चमीको अवसरमा विद्यालयमा अक्षरारम्भ कार्यक्रम तथा Play Group देखि KG सम्मका बालबालिकाका लागि निःशुल्क भर्ना अभियान सञ्चालन गरिएको विद्यालय प्रशासनले जानकारी दिएको छ।