भरतपुर । चितवनको माडीमा नेपालमै पहिलोपटक ‘सालक सम्मेलन’ गरिन लागेको छ । डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार यही माघ २६ गते माडी नगरपालिका वडा नं–६ स्थित माडी भिलेज रिसोर्टमा सम्मेलन गरिन लागिएको हो ।
बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजनामा हुन लागेको सालक सम्मेलनको संयोजन डिभिजन वन कार्यालय चितवनको हुनेछ । सम्मेलनमा बागमती प्रदेशभित्रका १३ वटा डिभिजन वन कार्यालयका प्रमुखहरुको सहभागिता हुनेछ । यसबाहेक, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, चितवन राष्ट्रिय निकुञ्ज, हरेक जिल्लाका सामुदायिक वनका प्रतिनिधि, विज्ञलगायत संरक्षणकर्मीहरुको उपस्थितिमा सम्मेलन हुन लागेको हो ।
‘सम्मेलनमा सालक सङ्कटमा पर्नुको कारणमाथि छलफल हुन्छ, यसका चुनौतीहरु के–के छन्, संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत हुन्छ । विज्ञहरुको धारणा लिनेदेखि विचार मन्थन गर्नेसम्मको कार्यक्रम रहन्छ’, डिभिजन वन कार्यालय चितवनका प्रमुख आचार्यले भने, ‘देशभरबाट विज्ञहरु आउने छन्, विशेषगरी बागमती प्रदेश सरकारको सहभागिता हुनेछ, २०० जना बढीको उपस्थिति रहन्छ ।’
उनका अनुसार प्रायः जमिनमुनि बस्ने सालक अहिले पनि सङ्कटमा रहेको छ । ‘सालक किसानको साथी हो, यसले धमिरा र कमिलोबाहेक अरु खाँदैन, किसानको खेतबारीको अन्न नोक्सान गर्दैन । माटो खोस्रेर नरम बनाउँछ, बालीमा लागेको धमिरा नष्ट गरेर उव्जनी बढाउन सहयोग गर्छ । इकोसिस्टममा सालकको ठूलो भूमिका रहन्छ’, आचार्यले भने, ‘सङ्कटमा रहेको सालक उपयोगी वन्यजन्तु हो, यसको संरक्षण गर्नुपर्छ भनेर सन्देश फैलाउन सालक सम्मेलन नै आयोजना गरिएको हो ।’
किसानको साथी हो, यसको संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन पनि सम्मेलन आयोजना गरिएको आचार्यले बताए । उनका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार संरक्षित साना स्तनधारी जनावरमा सूचीकृत छ सालक । सालक मात्र एउटा यस्तो जनावर हो, जुन बागमती प्रदेशका १३ जिल्लामै पाइन्छ ।
‘सालकको संरक्षण गर्न सके किसानलाई फाइदा छ, तर यहाँ अन्न खान्छ भन्ने भ्रम पनि छ । सालकले अन्न खाँदैन, जमिनमुनि बस्ने भएकाले माटो खुकुलो बनाउँछ, त्यसै किसानको साथी भनिएको होइन’, आचार्यले भने, ‘सालक संरक्षण हुन सक्ने र वातावरण संरक्षणसँगै किसानलाई अरु लाभ पुग्छ, सङ्कटको जनावरलाई बचाउनुपर्छ । ठूला जनावर बाघ–गैँडामा हाम्रो ध्यान गयो, तर सानो वन्यजन्तुमा ध्यान पुगेन, अब सानो जनावरमा पनि ध्यान दिऔँ ।’
राष्ट्रिय निकुञ्ज ऐन, २०२९ ले संरक्षित वन्यजन्तुका रुपमा सालकलाई राखेको छ । सालक अहिले लोपोन्मुख अवस्थामा पुगेको पाइन्छ । यसको संरक्षणका लागि सबैको हातेमालो आवश्यक रहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलले बताए ।
पौडेलका अनुसार सालक एक प्रकृतिप्रेमी प्राणी पनि हो । सालक वातावरणमैत्री जनावर हुनुका नाताले किसानको साथी त हुँदै हो, मानव समुदाय, अन्नबाली, अन्य घरपालुवा जनावर कसैलाई हानि नगर्ने र धमिरा तथा कमिलामात्रै खाने सालक संरक्षण अभियान चलाउन जरूरी छ । यही सोचेर सम्मेलन आयोजना गरिएको उनले बताए । सालक मार्नेलाई निकुञ्ज ऐनअनुसार कारबाही हुन्छ ।
बागमती प्रदेश सरकारले ‘गौरवको जनावर’ घोषणा गर्न सके कम्तीमा एउटा संरक्षित जनावरको प्रदेश सरकारले अपनत्व लिइदिँदा देशभर संरक्षण क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुने र सालक संरक्षण अभियानले गति लिन सक्ने देखिन्छ ।
कस्तो हुन्छ सालक ?
स्तनधारी जीव सालकको शरीरमा बाक्लो र कडा कत्ला (खबटा) हुन्छ । उसो त, यो सानो डाइनोसोरजस्तो पनि देखिन्छ । सालकको पेट, थुतुनो र खुट्टाका भित्री भागबाहेक शरीरको सम्पूर्ण भाग कडा खबटाले ढाकेको हुन्छ ।
सालक पुच्छरको सहायताबाट रुखको हाँगामा झुन्डिन सक्छ । सालकको दाँत हुँदैन, जिब्रो ६० देखि ७० सेन्टिमिटरसम्म फैलिन सक्ने क्षमताको हुन्छ । रङ माटोजस्तै देखिन्छ । आहाराको खोजीमा रातिमात्रै निस्कने सालक कतैबाट आक्रमण वा खतरा महसुस गरे पनि नभागी बस्छ ।
संसारमा आठ प्रकारका सालक पाइने गरेको अनुसन्धानले देखाएका छन् । नेपालमा भने दुई प्रकारका सालकमात्रै पाइन्छन् । नेपालमा कालो खबटा भएको ‘चिनियाँ प्याङ्गोलियन’ र फुस्रो खबटा भएको ‘भारतीय प्याङ्गोलियन’ अस्तित्वमा छन् ।
सालकको तस्करी बढेको आशङ्का छ । नेपालमा भने सालकको मासु खाए दीर्घरोग निको हुने अन्धविश्वास छ । सालकको मासु खाए सुत्केरीको साल छिटो झर्छ भन्ने अन्धविश्वास छ । तर, सालक महँगोमा बिक्री हुन्छ भनेर चर्चा गरिएको छ र यसको मारकाट र तस्करी बढेको पनि हुन सक्छ भन्ने आशङ्का छ ।चितवनपोष्टबाट