मनकामना, २९ असोज । आशिंक खुला रहेको गोरखाको शहिद लखन २ र ३ स्थित मनकामना बजार अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द भएको छ। बजारमा कोरोना संक्रमित देखिएपछि कन्ट्रयाक ट्रेसिङमा परेकाहरुको स्वाव संकलन गरि नतिजा नआएसम्मका लागि बजार पूर्ण रुपमा बन्द भएको हो।
गाउँपालिकाको वडा नं. २ र ३ मा गठित विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन समितिको बुधबार बसेको बैठकले आज देखि मनकामना बजार अनिश्चित कालसम्मका लागि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। समितिको निर्णय अनुसार दुई वटै वडा कार्यालयको सेवा बन्द हुनेछन् भने विद्यालयमा भैरहेका पठनपाठन, ३ वटा क वर्गको बैंक सिमित अत्यावश्यक सेवा बाहेक अन्य सबै बैंक वित्तीय संस्था सहकारीको सेवाहरु बन्द हुने भएको छ।
यस्तै बजार क्षेत्र भित्र भएका सम्पूर्ण निर्माण कार्यहरु बन्द, कुटनितिक नियोग, सरकारी कार्यालय र शव वाहन बाहेक सबै यातायात बन्द गर्ने निर्णय गरेको छ। यद्यपी बिहान ८ देखि १० बजेसम्म खाद्यान्न किराना पसल भने खोल्न पाउनेछ।
यसैबिच भोली बिहान ११ बजेबाट मनकामना माविको प्राङ्गणमा संक्रमितसँगको कन्ट्रयाक ट्रेसिङमा परेकाहरु पिसिआर परिक्षणको लागि स्वाव संकलन गर्ने तयारी भैरहेको पनि वडा नं. २ का वडाध्यक्ष अचल बाबु थापाले जानकारी दिनुभयो।
मनकामनामा मंगलबार १ जना ६३ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको थियो।