हस्त चौलागाई, कालिकोट, ३० चैत । भौगोलिक विकटता र न्यून वन जंगलका कारण कालिकोट जिल्लाका अधिकांस बस्तीहरुमा पानीको अभाव छ । पानी खोलामा बगिरहेको हेर्न पाएपनि खेतवारी सम्म पु¥याएर सिंचाई गर्न भने यहाँका नागरिकलाइ समस्या हुन्छ ।
जुम्लीवाडा सिंचाई कुलो निर्माण आयोजन बनेपछि सिंचाइको अभाब झेल्दै आएका स्थानीय अहिले भने खुसी भएका छन् । नेपालको कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलन (क्याफ्स्(कर्णाली) परियोजना” को आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण कार्य सम्पन्न भई खेतमै पानी पुगेको छ ।
मानव अधिकार तथा वातावरण विकास (केन्द्र) हुरेन्डेक नेपाल कालिकोटको सहयोग तथा सहजिकरणमा उक्त सिंचाई कुलोको काम सम्पन्न भएको हो । आयोजना अन्तर्गत परम्परा देखि चलि आएको ४ सय २५ मिटर कच्ची कुलोको स्तरोन्नती गर्नुका साथै थप २ सय ५५ मिटर कुलो निर्माण गरि करिब २० हेक्टर खेती योग्य जमीन सिंचित गर्र्ने लक्ष्य राखीएको क्याफ्स् कर्णाली परियोजनाका संयोजक नरेन्द्र बहादुर शाहीले बताउनुभयो ।
शाहीका अनुसार कुलो निर्माणका लागि ४१ लाख ४७ हजार ६ सय ११ रुपंैया ७७ पैसा खर्च भएको छ । आयोजनामा जम्मा ६८० मिटर कुलो, ३० घनमिटर क्षमताको एउटा पोखरी र अस्थायी शौचालय निर्माण गरिएको छ ।
सिंचाइ कुलो बनेपछि पचालझरना गाउँपालिका वडा नं. ८ जुम्लीवाडाकी आशा टमटाले आफ्नो खुसि ब्यक्त गदै विगतका दुख विर्सेर अव नयाँ तरिकाबाट कृषि खेती गरी आफ्नो जिविकोपार्जन गर्ने बताउनुभयो । अब आकाशे पानीको भरमा खेती गर्नु पर्ने अवस्था टरेको र हिँउदको खडेरीमा बाली सुकेर जाने समस्याबाट अब मुक्ति मिल्ने उहाँले बताउनुभयो ।