भुम्लिचोक- लामो समय देखि विवादित बन्दै आएको गोरखा गण्डकी गाउँपालिकाको केन्द्र अन्ततः भुम्लिचोकमा नै रहने भएको छ। आजदेखी सुरु भएको गाउँपालिकाको छैटौं गाउँसभामा प्रस्तुत भएको गाउँपालिकाको केन्द्र बनटार सारियोस भन्ने प्रस्तावमा बहुमत समेत पर्न नसकेर अस्विकृत भएपछी भुम्लिचोकमा नै रहने भएको हो।
गाउँपालिकाको केन्द्र बनटार सारियोस भन्ने गाउँसभामा प्रस्तुत प्रस्तावको पक्षमा २१ मत र बिपक्षमा २२ मत परेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरण गुरुङले जानकारी दिनुभयो। गाउँपालिकाको केन्द्र सार्न गाउँसभामा तत्काल कायम सदस्य संख्याको दुई तिहाइ मत पुग्नु पर्ने हुन्छ।जसका लागि गण्डकि गाउँपालिकाको गाउँसभामा तत्काल कायम ४४ सदस्यमा दुई तिहाइ पुर्याउन कम्तिमा पनि ३० मत चाहिन्छ। तर केन्द्र बनटार सार्ने प्रस्तावमा सामान्य बहुमत समेत नपरेपछी उक्त प्रस्ताव अस्विकृत भएको प्रमुख प्रशासकिय अधिकृत गुरुङले बताउनुभयो।
त्यसो त गाउँपालिकाको केन्द्र बनटार सार्नका लागि नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरुले प्रस्ताव गरेको थियो भने कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले भुम्लिचोकमा नै हुनुपर्छ भनेर जोड दिएका थिए। गाउँसभामा नेकपाकै बहुमत सदस्य छन्। तर नेकपाकै ४ जना सदस्यले नेकपाले नै अघि सारेको प्रस्तावको विपक्षमा मतदान गरिदिएपछी प्रस्ताव अस्विकृत हुन पुग्यो। जसका कारण लामो समयदेखि बिबादित बनेर टुंगिन नसकेको केन्द्र बिबादले निकास पाएको छ।
यस्तै गाउँसभा सुरु भएको आज पहिलो दिन स्वास्थ्य तथा सरसफाइ विधेयक-२०७७, बिपत व्यवस्थापन बिधेयक २०७७ लगायत १० वटा बिधेयक समेत पारित भएको छ भने गाउँसभा भोलि फेरि बस्ने गरि स्थगित भएको छ। भोलि दिउसो १ बजे बस्ने गाउँसभाले चालु वर्षको नीति कार्यक्रम र बजेट प्रस्तुत गरि छलफल गरेर पारित गर्नेछ।