सन्देश सुब्बा, पाँचथर, ११ असार । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले लिम्बू भाषालाई गाउँपालिकामा सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिने निर्णय गरेको छ ।
स्थानीय लिम्बू समुदायले बोल्ने लिम्बू भाषालाई सरकारी मान्यता दिने गाउँपालिकाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा उल्लेख छ । नीति तथा कार्यक्रमको ७५ औं नम्बरमा लिम्बू भाषालाई आर्थिक बर्ष २०७८/०७९ देखि गाउँपालिकाको सरकारी कामकाजको भाषाको रुपमा मान्यता प्रदान गरिनेछ’, भनिएको छ ।
त्यस्तै सोहि बुँदामा गाउँपालिकाभित्र बोलिने अन्य भाषाहरुलाई समेत आगामी दिनमा कामकाजको भाषाको मान्यता दिइने नीति अवलम्बर गरिने उल्लेख छ ।
नेपालको संविधानको धारा ३२ को १, २ र ३ त्यस्तै स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा भएको व्यवस्था अनुसार याक्थुङ (लिम्बू) भाषी नागरिकको बाहूल्यताको आधारमा उक्त भाषालाई नेपालीका अलावा सरकारी कामकाजको भाषाको मान्यता दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष बीर बहादुर कुरुम्बाङले बताउनुभयो ।
भोट–बर्मेली भाषा अन्तर्गतको लिम्बू भाषा पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायले बोल्ने गर्दछन् ।
अनुसन्धाता तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य हरिचन्द्र लाओतीका अनुसार प्रदेश १ मा तीन लाख ३१ हजार ६८१ र नेपालभर तीन लाख ४३ हजार ६०३ जना लिम्बू भाषा बोल्ने वक्ता रहेका छन् ।