गोरखा, १७ कार्तिक । जिल्ला प्रशासन कार्यालय गोरखामा अन्य दिन भन्दा आईतवार नागरिकता र राहदानी बनाउनेको लर्को लागेको थियो । नयाँ नागरिकता बनाउनेमा दशैँ तिहार मनाउन घर आएका विद्यार्थीहरु धेरै थिए ।
आईतवार ४३ जना पुरुष र २७ महिला गरी एकैदिन ७० जनाले नयाँ नागरिकता लिएका छन् । प्रतिलिपि नागरिकता लिनेको संख्या २१ रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेशप्रसाद भट्टराईले बताए ।
आईतवार २५ जनाले द्रुत पासपोर्ट बनाउन १० हजार रुपैयाँ तिरेर सिफारिस लिएका छन् भने २७ जनाले पाँच हजार रुपैयाँ राजस्व तिरेर साधारण पासपोर्ट बनाउन फाराम भरेका छन् । द्रुतसेवा लिनेमा पुरुष १६ र महिला ९ जना छन् । साधारण राहदानी बनाउनेमा पुरुष ११ र महिला १६ जना छन् । आईतवार नै पुरुषको १५ थान र महिलाको १२ थान राहदानी बितरण गरिएको अधिकृत भट्टराईले बताए ।
अहिले डिभी चिठ्ठाको समय एक साता मात्र बाँकी भएको र पासपोर्ट अनिवार्य गरिएकाले द्रुत सेवा लिनेहरु बढेका हुन् । ‘चालु वर्षको साउन यता अहिले सम्मकै धेरै नागरिकता बितरण र राहदानीका लागि फाराम संकलन गरिएको हो’ प्रशासकीय अधिकृत भट्टराईले भने ।
लामो समय लकडाउनका कारण कार्यालयको सेवा प्रभावित हुनु, सार्वजनिक सवारी साधन नचल्दा सर्वसाधारण आउजाउमा समस्या हुनु, एसईई दिएका विद्यार्थीले नागरिकता बनाउने उपयुक्त समयमाको रुपमा दशैँ तिहार बिचको समयमा लिनु लगायत कारणले सेवाग्राही बढेको उनले बताए ।
‘हरेक वर्ष दशैँ र तिहारको समयमा राहदानी, नागरिकता बनाउने बढ्छन्’ जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी हर्क रोकाले भने ‘दशैँ तिहार मनाउन यो समयमा बिदा लिएर आउने धेरै हुन्छन् ।’
सशस्त्र र नेपाल प्रहरीमा भर्ना खुलेका कारण पनि नागरिकता बनाउनेको संख्या बढेको हुन सक्ने अनुमान कर्मचारीको छ । अहिले जिल्ला स्थित दुबै सुरक्षा निकायको कार्यालयबाट आवेदन दिन सक्ने ब्यवस्था छ ।
बिहान कार्यालय समयदेखि साँझ चार बजे सम्म प्रशासन कार्यालयमा सेवाग्राही थिए । अधिकांशले मास्क लगाएपनि सामाजिक दुरी भने कायम गरेका थिएनन् ।
दरौदी दैनिकबाट