सुबास दर्नाल, सोलुखुम्बु, २७ साउन । सोलुखुम्बुमा वडा कार्यालय र विद्यालय सहित ७ वटा भन्दा बढी पसलहरुमा चोरी भएको छ । गएराती (मंगलबार) सोलुदुधकुण्ड नगरपालिका–७ को कार्यालय तथा जीवन ज्योति माध्यमिक विद्यालय नेले सहित विभिन्न पसलहरुमा नगद सहित अन्य सामाग्री चोरी भएको प्रहरीले जनाएको छ ।
सोलुदुधकुण्ड नगरपालिका–७ को वडा कार्यालयबाट मालपोत कर बापत संकलन भएको ६४ हजार ९ सय ८५ रुपैयाँ नगद चोरी भएको वडा सचिव गणेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयको अन्य कागजातहरु भने जथाभावि फालिएपनि हराएको छैन ।
यस्तै जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१ नेलेको जीवन ज्योती माध्यमिक विद्यालयबाट १५ हजार नगद चोरी भएको प्रधानाध्यापक प्रभुराम बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार कक्षा ११ को भर्नाबाट संकलन भएको उक्त रकम चोरी भएको हो ।
नेलेको अन्य २ घरको पनि ताला फोडि नगद लानुका साथै फोडिएको ताला समेत घटनास्थलमा नभएको प्रधानाध्यापक बस्नेतले बताउँनुभयो ।यता सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ७ नाजिङ र डुलुम्सेका ५ वटा घर तथा पसलमा चोरी भएको छ ।
स्थानीयवासी भलाकाजी कार्कीले आफ्नो पसलमा रहेको करिब ४ हजार नगद, तीन हजार पाँच सय बराबरको रिचार्ज कार्ड सहित पीय पदार्थ चोरी भएको बताउँनुभयो ।
सोही गाउँकी हर्कमाया विश्वकर्माको पसलबाट करिब ६५ हजार नगद र सुनको एक थान फुली चोरी भएको र हुत्तराज खत्रीको घरको ताला फोडे पनि केही नलगेको स्थानीयवासी भलाकाजी कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार छिमेकी कृष्ण कुमार श्रेष्ठको एउटा कुखुरा समेत चोरी भएको छ ।
यस्तै सोलुदुधकुण्ड नगरपालिका–७ को वडा कार्यालय नजिकै रहेको पासाङ लामाको होटलबाट रु.७० हजार नगद, दुई थान मोवाइल र बाइकको चाबी समेत चोरी भएको वडा सचिव गणेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
घटनाको विषयमा प्रहरी परिचालन गरि अनुसन्धान भईरहेकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताउँनुभयो ।
स्थानीयवासीले एकै रात यतिधेरै होटाल पसल तथा घर सहित सरकारी कार्यालय चोरी हुनु दुःखद भएको भन्दै दोषिलाई तत्काल कानुनी कठगारामा ल्याउन माग गरेका छन् । यस अघि २०७४ साल फागुन १३ गते राती सदरमुकाम सल्लेरीको ६ वटा पसलमा चोरी भएको थियो ।