तनहुँ, ४ भाद्र । सुविधा भोगी भएर भनेर कतिपय जनप्रतिनिधी आलोचित भइरहेका छन् तर तनहुँका एक जना जनप्रतिनिधीले चामलको थैलो बोकेर खाद्यान्न अभाव भएका परिवारको घरदैलोमा नै पुगेर उदाहरणीय काम गरेका छन् ।
यस्तो कार्य गर्नेमा व्यास नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष तुलसीराम सापकोटा रहेका छन् । वडाध्यक्ष सापकोटाले आफ्ना वडाका अपाङ्गता भएका विपन्न व्यत्ति, पहिरोबाट विस्थापित भएका परिवार, अतिसिमान्तकृत कुसुण्डा, चेपाङ र बोटे समुदायका घरदैलोमा नै पुगेर पाँच दिन सम्म खाद्यान्न बोकेर नै पुगेका थिए।
‘‘वडाध्यक्ष आफैलै चामलको थैला बोकेर आएको देखेर दङ्ग परेको वडा नम्बर १० को डिहीगाउँ स्थित इन्द्रमाया कुसुण्डा बताए। ‘‘टाउकोमाथि चामलको बोरा बोकेर आउँदा शुरुमा वडाध्यक्ष होकि हैन भनेर अलमल परें वडाध्यक्ष नै हुनुहुँदो रै’छ झरीको समेत प्रवाह नगरी आउनु भएको देख्दा निकै खुसी लाग्यो’’ इन्द्रमायाले भनीन्।
वडाध्यक्ष सापकोटाले परेका समस्याको बारेमा जानकारी लिएको र भविष्यमा पनि सहयोग गर्ने प्रतिबद्धा गरेको इन्द्रमायाले बताए।
खाद्यान्न वितरण गर्नु अघि वडाध्यक्ष सापकोटा घरदैलोमा नै पुगेर कोभिडले गर्दा दैनिक ज्यालादारीको काम प्रभावित भएको, विपन्नताको कारण पेटभरी खान नपाएका अपाङ्गता भएका व्यक्ति, पहिरोले गर्दा घर विस्थापित भएर समस्या भएको तथ्याङ्क सङ्कलन गरेका थिए ।
वडाले गरेको समस्यामा परेकाको तथ्याङ्क सङकलनको आधारमा काठमाडौं स्थित राष्ट्रिय एकिकृत विकास सङ्घ निडासँग नेपाल रेडक्रस सोसाईटी दुम्सीकोट उपशाखाले शाखाले समन्वय गरी खाद्यान्न वितरण कार्यमा वडाध्यक्ष सापकोटाले आफै भारी बोकेका हुन्।
अपाङ्गता भएका व्यक्तिहलाई हिडडुल गर्न समस्या पर्ने भएको घरघरमै खाद्यान्न ढुवानीको व्यवस्था मिलाईएको सबै स्थानमा गाडी नजाने भएकोले वडाध्यक्ष सामेल भएर भारी बोकेको नेपाल रेडक्रस सोसाईटी दुम्सीकोट उपशाखाका सभापति रामदक्त पौडेलले बताए ।
निडासँग सहकार्य गरी ४७ जना अपाङ्गता भएका व्यक्ति बाँकी, सिमान्तकृत समुदाय र पहिरोबाट विस्थापित भएका १४० जनालाई खाद्यान्न वितरण गरिसकिएको रेडक्रसका दुम्सीकोट उपशाखाका सचिव श्रीकृष्ण आचार्यले जानकारी दिए ।
निडाले व्यास नगरपालिका वडाम्बर १० का अतिरिक्त वडानम्बर ६ को को शिसाघाट, वडा नम्बर ३ को देउराली नगर, ऋषिङ गाउँपालिका–१को झापुटारका अपाङ्गता भएका ३५ घर परिवारलाईकालाई वितरण गरिसकिएको छ । प्रत्येक घरलाई दुइ हजार पाँच सय मूल्य बराबरको खाद्यान्न वितरण गरिएको छ । म्याग्दे गाउँपालिकाको अपाङ्गता भएका केही व्यक्तिहरुलाई समेत खाद्यान्न वितरण गरिसकिएको रेडक्रसले जनाएको छ ।
वडाध्यक्ष अभिभावक भएको हुनाले दुःखमा साथ दिनु पर्छ भन्ने ठानेर चामलको भारी बोकेका वडाध्यक्ष सापकोटा बताए ।
वडाध्यक्ष सँगै रेडक्रस दुम्सीकोट उपशाखाका पदाधिकारीहरु खाद्यान्न वितण कार्यमा खटेका थिए । कसैले धेरै पटक पाउने र कसैले एक पटक पनि नपाउने अवस्था नहोस् भन्नको लागि वडाको सिफरिसको आधारमा खाद्यान्न वितरण गरिएको लागि मद्धत गरिएको एकिकृत विकास सङ्घ (निडा) का अध्यक्ष विजयकुमार कार्कीले जानकारी दिए ।