तनहुँ, १६ असोज । तनहुँ आँबुखैरेनीका स्रष्टा अनिल श्रेष्ठलाई बाग्लुङको रण स्मृति पुरस्कार संस्थाले प्रदान गर्ने ‘शक्ति पुरस्कार–२०७७’ बाट पुरस्कृत गरिने भएको छ। संस्थाको अध्यक्ष काजी रोशनको अध्यक्षतामा शुक्रबार बसेको बैठकले स्रष्टा श्रेष्ठलाई ‘शक्ति पुरस्कार–२०७७’ बाट पुरस्कृत गरिने निर्णय गरेको हो।
पछिल्लो समय कविता र निबन्धमा क्रियाशिल रहेका स्रष्टा श्रेष्ठलाई संस्थाले यहि असोज १९ गतेका दिन एक कार्यक्रमको आयोजना गरि उक्त पुरस्कारले पृरस्कृत गरिने आयोजकले जानकारी दिएको छ।
२०५१ सालमा बाग्लुङमा स्थापना भएको रण स्मृति पुरस्कार संस्थाले स्थापनाकालदेखि नै शैक्षिक क्षेत्रमा योगदान पुर्याउदै आएका व्यक्तित्वहरुलाई सम्मान र पुरस्कृत गर्दै आईरहेकोमा २०७३ सालदेखि भने बाग्लुङका समाजसेवी एवं शिक्षाविद् स्वर्गीय शक्ति बहादुर खड्काको स्मृतिमा साहित्यिक स्रष्टाहरुलाई ‘शक्ति पुरस्कार’बाट पुरस्कृत गर्दै आईरहेको संस्थाका अध्यक्ष काजी रोशनले जानकारी दिए।
उनका अनुसार हालसम्म ‘शक्ति पुरस्कार’बाट २०७३ सालमा स्याङजाका विश्वप्रेम अधिकारी, २०७४ सालमा रुपन्देहीका बालकृष्ण भट्टराई र २०७५ सालमा पोखराका तीर्थ श्रेष्ठ पुरस्कृत भैसकेका छन् भने २०७७ सालको पुरस्कारबाट तनहुँका कवि एवं निबन्धकार अनिल श्रेष्ठलाई पुरस्कृत गर्ने भएको हो।
पुरस्कृत हुन लागेका कवि एवं निबन्धकार अनिल श्रेष्ठ आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष हुन् भने उनको चर्चित निबन्ध संग्रह ‘टाईगर हिलकी पुनम’को दोस्रो संस्करण बजारमा आईसकेको छ। केहि दिन भित्रै तेस्रो संस्करण समेत बजारमा ल्याउने तयारी गरिरहेका स्रष्टा श्रेष्ठलाई ‘शक्ति पुरस्कार–२०७७’ले पुरस्कृत हुने भएपछि खुशी लागेको प्रतिक्रिया दिएका छन्।