विदुर खवास, धनकुटा, १९ पुस । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ५ तुँखाको याखा गाउँ सुख्खा पहिरोको जोखिममा परेको छ । सुख्खा पहिरोले जमिन चर्किएपछि गाउँलेहरू निन्द्रामा नै झसङ्ग भएर उठ्ने गरेको बताउँछन् । उनीहरूले सुरक्षित बासस्थान मिलाई दिन सरकारसग आग्रह गरेका छन् । मोरङ्ग र धनकुटाको सीमानामा रहेकोभेडेटार राजारानी चुरे खण्डको डाँडाबजारबाट २ किलोमिटर दक्षिण पूर्वमा रहेको धनकुटाको याखा गाउँको जमिन गएको असोज ६ गतेको बर्षा पछि सामान्य चर्किएको थियो ।
त्यसअघि २०७४ सालबाट हिउँदको समयमा अचानक ठाउँठाउँमा सेतो लेदो सहितको पानी निस्कने गरेको थियो । असोजमा परेको मुसलधारे पानीले जमिनहरू चर्किँदा त्यसलाई सामान्य रुपमा लिएपनि केहि दिन यता भने अचानक ठूलो आवाज सहित जताततै जमिन चिरा पर्न थालेको हो । यो गाउँमा अहिले १ फिट देखि १ मिटर गहिरा सयौंजमिन फाटेका धर्सोहरू देखिन थालेका छन् । घरहरूका आँगनचिराचिरा परेर फाट्न थालेका छन् भने पोलमा टाँगिएका बिजुलीका तारहरू झुल्न थालेका छन् । बाटो तथा बारिका डिलहरू भासिएर त्यहाँ लगाएका सुन्तला,अलैचीबारीहरू तलतिर सर्न थालेका छन् । जमिनमा यस्तो अवस्था देखिन थालेपछि नागरिकले खेतबारी छोडेर हिँड्न थालेका छन् ।
हिउँदको समयमा अचानक मुल फुटेर नजिकै बग्ने खोल्सामा सफा पानीको ठाउँमा समेत लेदो सहितको सेतो धमिलो पानी बग्न थालेको छ । सुख्खा पहिरोका कारण तुँखा गाउँका ७० भन्दा बढी घरपरिवार त्रासमा बाँचिरहेका छन् । उनीहरू सरकारसँग सुरक्षित बासस्थानका लागि आग्रह गरिरहेका छन । २०७४ सालबाट हिउँदका समयमा पटक–पटक गाउँमा हरेक बर्ष धमिलो सेतो पानीको मुहान निस्किएर सामान्य जमिन फाटे पनि यो पटक भने बस्ने अबस्था नभएको स्थानीयहरू बताउँछन । यसको कारणबारे गाउँमा अहिले सम्म कुनै विज्ञबाट अध्ययन भएको छैन । बस्तीमा देखिएको समस्याको कारण र समाधानको बारेमा अध्ययन नहुँदा नागरिक जोखिम मोलेरै बस्नु कि ठाउँ छोडेर जानु अलमलमा परेका छन् ।
यसैबीच प्रदेश एकका सामाजिक विकासमन्त्री जयराम यादवले तुँखा गाउँको समस्याबारे बुझेर पहिरो रोकथामका लागि पहल थाल्ने बताउनुभयो । मन्त्री यादवले सीआईएनसँग कुराकानी गर्दै ७० परिवारको सुरक्षा गर्नु सरकारको दायीत्व भएकाले जिल्लास्थित सरोरकारवाला सँग तत्काल समन्वय गर्ने बताउनुभयो ।