Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

सामाजिक सुरक्षा भत्ता अनियमितता गर्नेमाथि कारबाही गर्न कांग्रेसकाे ध्यानाकर्षण

सामाजिक सुरक्षा भत्ता अनियमितता गर्नेमाथि कारबाही गर्न कांग्रेसकाे ध्यानाकर्षण

इच्छाकामना न्युज

१८, माघ २०७८
सामाजिक सुरक्षा भत्ता अनियमितता गर्नेमाथि कारबाही गर्न कांग्रेसकाे ध्यानाकर्षण
images

खोटाङ, १८ माघ । बराहपोखरी गाउँपालिकाको सामाजिक सुरक्षाभत्ता अनियमिततामा मुछिएहरूमाथि कारवाही गर्न ढिलासुस्ती गरेकाेमा नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ । सामाजिक सुरक्षाभत्ता अनियमिततासम्बन्धी प्रतिवेदन बुझाएको दुई वर्षसम्म सार्वजनिक नगर्नु, प्रतिवेदन सार्वजनिक गर्न अख्तियारमार्फत दबाब सिर्जना गर्नुपर्ने र प्रतिवेदनले दोषी देखाउँदा समेत कुनै कारवाही नगरेकाेमा आशंका उत्पन्न भएकाे कांग्रेस बराहपोखरी गाउँपालिकाले जनाएको छ ।

images
images

मृत्यु भइसकेका, हुँदै नभएका तथा बसाई सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको नाममा सामाजिक सुरक्षाभत्ता चुहावट भइरहेको विषयमा बहस भइरहने तर काम कारवाही नभएकाेप्रति कांग्रेस बराहपोखरीका सभापति खिलाराज राई (दिपक)ले विज्ञाप्तीमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । 'गाउँपालिकाको सामाजिक सुरक्षाभत्ताको सन्दर्भमा सार्वजनिक व्यक्ति, समूह वा संस्थाले सार्वजनिक सम्पत्तिको व्यापक अनियमितता गरेको भन्ने कुरा विभिन्न प्रमाणका आधारमा बुझ्न कठिन छैन,' विज्ञाप्तीमा भनिएको छ, 'यस विषयमा बहस भइरहने तर कारबाही नहुने विषयप्रति गम्भीर ध्यानाकर्षण भएको छ । ढिलो न्याय दिनु पनि अन्याय नै हो । निष्पक्ष छानबिन गरी सम्पूर्ण दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न सम्बद्ध निकाय/पक्षसँग माग गर्दछौँ ।' 

६ वडा रहेको बराहपोखरी गाउँपालिकामा मृत्यु भइसकेका, हुँदै नभएका, बसाई सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गरी अनियमितता भइरहेको तथ्य सार्वजनिक भएको थियो । सामाजिक सुरक्षाभत्ता अनिययमितताको विषयमा २०७६ सालमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अनियमितता छानबिनका लागि अख्तियारले कागजात मगाएपछि गाउँपालिकाले २७ फागुन २०७६ मा सो सम्बन्धी कागजात बुझाएको थियो । गाउँपालिकाका कर्मचारी नै अख्तियारमा पुगेर ७६७७एल२९११२ नम्बरमा आवश्यक कागजात दर्ता गराएर फर्किएका थिए । 

फर्जी लाभग्राही खडा गरेर सामाजिक सुरक्षाभत्ता चुहावट भइरहेको भन्दै उजुरी परेपछि २०७६ कात्तिक पहिलो साता बसेको गाउँ कार्यपालिकाको बैठकले उपाध्यक्ष गोमादेवी मगरको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । गाउँपालिकाका ६ वटै वडाको सामाजिक सुरक्षाभत्ता दुरुपयोगका विषयमा अध्ययन गरेर ३५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको छानबिन समितिले व्यापक अनियमितता देखिएको प्रतिवेदन १७ मंसिर २०७६ मा गाउँपालिका समक्ष बुझाएको थियो । 

मृत्यु दर्ता, बसाई सराई लगायत सम्वन्धी तथ्यांकको काम चुस्तदुरुस्त नराखी बराहपोखरी गाउँपालिका–१ बराहपोखरीले ३३ जनाको नाममा निरन्तर सामाजिक सुरक्षाभत्ता निकासा गरिरहेको भन्दै छानबीनका लागि १ कात्तिक २०७६ मा गाउँपालिकामा उजुरी परेको थियो । ५० जनाभन्दा बढीको हस्ताक्षर भएको उजुरीमा मृत्यु भइसकेका १९ वृद्धवृद्धा, मृत्यु भइसकेका ६ विधुवा र बसाई सरिसकेका तीन जनाको नाममा सामाजिक सुरक्षाभत्ता निकासा भएकाे उल्लेख छ ।

यस्तै, चार जनाको नाममा दोहोरो सुविधा देखिएको र एक जना हुँदै नभएको अपांगको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको पाइएको स्थानीय विदुर श्रेष्ठले बताए । बराहपोखरी गाउँपालिका–१ बराहपोखरीको सामाजिक सुरक्षाभत्ता अनियमिततासम्बन्धी उजुरी परे पनि गाउँपालिकाले सबै वडाको छानबिन गर्न आदेश दिएको थियो । 

images
प्रकाशित मिति :माघ १८, २०७८ मंगलवार - १८:३४:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology