जीवन कैला, कोल्टी बाजुरा, २६ फागुन । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ मुक्तिकोटमा खानेपानीको समस्या भएको छ । गत कार्तिकको वर्षाले पीपलधारा खानेपानी योजना अवरुद्ध भएपछि मुक्तिकोटमा खानेपानीको समस्या भएको हो ।
मुक्तिकोटका रोशी विकले पानीको जोहो गर्न हरेक दिन बिहान सबेरै दुई घण्टा पैदल हिँडेर पँधेरा पुग्नुपर्ने बाध्यता रहेको बताउनुभयो । गत कार्तिकको वर्षाले खानेपानीको ट्याङ्की र पाईप लाईन बगाएकामा पाँच महिनासम्म पीपलधारा खानेपानी योजना मर्मत हुनसकेको छैन ।
स्थानीय अहिले पुख्र्यौली धाराको धमिलो पानी पिउन बाध्य भएका छन् । वडा नम्बर १ का मुक्तिकोट, लांैठी, वामनथाना र खलेलवाडाका करीव ६ सय घरधुरी स्वच्छ पिउने पानीबाट बञ्चित छन् ।
खानेपानी तथा सरसफाई डिभिजन फिल्ड कार्यालय बाजुराको तथ्याङ्क अनुसार जिल्लाका ७२ प्रतिशन नागरिक खानेपानीको पहँुचमा छन् । तर बास्तविकता अर्कै रहेको मुक्तिकोटको समस्याले देखाउँछ ।
खानेपानीको समस्या समाधान कसरी हुन्छ भन्ने प्रश्नमा सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घराज सोडारीले जानकारी नै नभएको बताउनुभयो । उहाँले सीआईएनमार्फत् यो समस्याबारे जानकारी भएको हुँदा यस विषयमा तत्काल खानेपानी आयोजनाका प्रमुखलाई निर्देशन दिएर काम अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।