उपेन्द्र गोले, रौतहट, २० मंसिर । प्रदेश २ का विद्यालय जाने उमेरका किशोरीहरुले बीचमा नै विद्यालय छोड्ने गरेको पाईएको छ। लैंगिक विभेदका कारण छोरीलाई विद्यालय नपठाउने प्रवृती र धेरै पढेकी छोरीको विवाहमा दाईजो बढि दिनुपर्ने गलत मानसिकताका कारण किशोरीहरु विद्यालय छोड्न बाध्य छन्।
रौतहटमा विद्यार्थी भर्नादर हेर्ने हो भने अधिकांश विद्यालयहरुमा छात्राहरुको भर्ना सङ्ख्या बढि छ। तर तह बढ्दै जाँदा विद्यालयमा नियमित आउने किशोरीहरुको सङ्ख्या घट्दै जान्छ। कक्षा एक मा अत्याधिक छात्रा भर्ना भएपनि कक्षा ९, १० मा पुग्दा किशोरीहरु विद्यालय छाड्ने समस्याका कारण अधिकांस विद्यालयमा किशोरहरुको सङ्ख्या दोब्बर हुने गरेको रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैंडाटारस्थित जनशक्ति माविका शिक्षक सुनिल कुमार झाले बताउनुभयो।
घरका सबै काम छोरीले गर्नु पर्ने र चाँडै छोरीको विवाह नगर्दा धेरै दाईजो खर्चिनुपर्ने गलत सोंच अविभावकको मनमा हुने गरेको छ। त्यही कारण छोरीहरु विद्यालय छोड्न बाध्य छन्। विद्यालय गईरहेका किशोरीहरु कुनबेला आफ्नो विहे हुन्छ भन्ने पत्तो नहुने बताउँछन्।
कक्षा ९ र १० मा पुग्दा ३५ देखि ४० प्रतिशत किशोरीहरुले विद्यालय छोड्ने गरेको तथ्याङ्मा देखिन्छ। प्रदेश सरकारले छोरीलाई विद्यालयमा आकर्षित गराउन बेटी पढाउ बेटी बचाउ अभियान समेत चलाएको छ। तर विद्यालय छाड्ने किशोरीको सङ्ख्या कम भएको छैन। यस्तो समस्या समाधानका लागि स्थानीय सरकारसँग मिलेर काम गर्ने मूख्यमन्त्री लालबाबु राउतको भनाई छ। कोरोनाका कारण झण्डै आठ महिना बन्द रहेका विद्यालय खुलेपनि किशोरीहरु विद्यालय आउने दर कम रहेको शिक्षकहरुले बताएका छन्।