मनकामना, २१ मंसिर । मनकामना, २१ मंसिर । कोभिड १९ को संक्रमण प्रभावबाट जोगिन भन्दै सरकारले गत चैत देखि नै मनकामना मन्दिर सहित देशभरका शक्ति पिठहरुमा सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगायो। त्यसपछि देशकै चर्चित शक्ति पिठ मध्यको एक मनकामना माईको मन्दिरमा सर्वसाधारणको लागि पूजा गर्न पूर्ण रोक लागेको छ।

सुरुवातमा कोभिड १९ संक्रमबाट बाट जोगिन लकडाउन गरेको सरकारले असार साउन देखि विस्तारै सबै क्षेत्रहरु खुला गर्दै गए। जसअनुसार सबै क्षेत्रहरु क्रमशः खुला हुदै आएको छ। विगत ८ महिनादेखि बन्द रहेको शक्तिपिठहरु पनि आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सञ्चालन गर्न मन्त्रिपरिषद्बाट निर्णय गरेरै सरकारले निर्देशन दिएको छ। जसअनुसार देशका विभिन्न शक्तिपिठहरु विस्तारै खुल्ने क्रममा छ। काठमाण्डौमा रहेको पशुपतिनाथ मन्दिर आउदो पुस १ गते देखि सर्वसाधारणलाई पुजा गर्न खुला गर्ने निर्णय भैसक्यो।
मन्दिर खोल्ने दिन अनिश्चित, दर्शनार्थी बढे
देशकै अर्को चर्चित शक्ति पिठ गोरखाको मनकामना माई मन्दिरमा सर्वसाधारणको लागि पुजा गर्न कहिले देखि खुला गर्ने भन्ने कुरा अझै अनिश्चित देखिएको छ। तर मन्दिर कहिलेदेखि खुल्छ भन्ने अनिश्चित भए पनि पछिल्लो समय मनकामना माईको दर्शनमा आउने दर्शनार्थी भने बढेको छ। मन्दिर बन्द भएपनि पछिल्लो समय दैनिक ३÷४ सय हाराहारीमा दर्शनार्थीहरु मनकामना आउन थालेको छ। अहिले आउने दर्शनार्थीले बाहिरबाटै मन्दिरमा आफैले पुजा गर्ने गरेको गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाई समितिका अध्यक्ष हरि श्रेष्ठले बताउनुभयो। ‘अब आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भए पनि सर्वसाधारणका लागि मन्दिर खुला गर्नुपर्छ’ –उहाँले भन्नुभयो।

मन्दिर खुलाउन सरोकारवालाको पहल पुगेनः अध्यक्ष श्रेष्ठ
यसैबिच धमाधम देशका अन्य शक्तिपिठहरु सर्वसाधारणका लागि खुला गर्ने निर्णय भैसक्दा पनि मनकामना माईको मन्दिर कहिले खुल्छ भन्ने निर्णय नहुनु दुःखद भएको गोरखा उद्योग वाणिज्य संघ मनकामना बजार इकाई समितिका अध्यक्ष हरि श्रेष्ठले बताउनुभयो। मन्दिर खुलाउन ढिलाई हुनुमा सरोकारवालाहरुको कमजोरी भएको पनि बताउनुभयो। ‘सरकारले देशभरका शक्तिपिठहरु खुलाउनका लागि निर्णय गरिसक्यो तर सरोकारवालाहरुले किन तयारी गरिरहेको छैन हामीले बुभ्mनै सकिरहेको छैन’ –उहाँले भन्नुभयो।
मन्दिरको भेटि कर्मचारीको खल्तीमा
यस्तै मन्दिर नखुलेपनि सर्वसाधारण दर्शनार्थीहरु मनकामना माईको दर्शन गर्न आएसँगै दर्शनार्थीले चढाउने गरेको भेटी मन्दिरका कर्मचारीको खल्तीमा पुग्ने गरेको पाईएको छ। दर्शनार्थीले बाहिर बाहिरै चढाउने भेटि रकम मन्दिर बन्द भएको र क्षेत्र विकास समितिले भेटि बाकस समेत नराखेका कारण मन्दिरका कर्मचारीको खल्तीमा पुग्ने गरेको पाईएको हो।
केवलकार पनि बन्द
मनकामना मन्दिर सर्वसाधारणका लागि बन्द भएसँगै बन्द भएको नेपालकै पहिलो केवलकार मनकामना केवलकार पनि अझै सञ्चालनमा आएको छैन। केवलकार सञ्चालनका लागि सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेरै अनुमति दिएपनि अझै पनि सञ्चालनमा आएको छैन। मन्दिर खुला नभएकोले केवलकार पनि सञ्चालनमा नआएको मनकामना दर्शन प्रा.लि. ले जानकारी दिएको छ।
