धादिङ, १३ असार । अल्पसङ्ख्यक चेपाङ समुदायबाट धादिङको बेनिघाट रोराङ मनिष प्रजा सिभिल इन्जिनियर बनेका छन् । उनले बल्खुस्थित एड्भान्स इन्जिनियरिङ कलेजबाट ‘एड्भान्स इन्जिनियरिङ’ सिभिल इन्जिनियरिङ उत्तीर्ण गरेका हुन् । उनि तिलकबहादुर र लक्ष्मी चेम्पाङका छोरा हुन् ।
मलेखुस्थित पशुपति शिक्षा मन्दिरबाट प्रारम्भिक शिक्षा सुरु गर्नुभएको मनिषले काठमाडौंस्थित माउन्ट सिनाइ स्कूलबाट एसएलसीमा ८७ प्रतिशत ल्याई उत्तीर्ण भएका थिए । विज्ञान विषय अध्ययन गर्नुभएको उहाँले कक्षा १२ मा ८४ प्रतिशत ल्याएका थिए ।
भविष्यमा ग्रामीण सडक, पुल, हाइड्रोपावर, सुरुङ सडक मार्गमा सेवा गर्ने उनको लक्ष्य छ । यससँगै लोक सेवाको प्रतिस्पर्धा गरी सरकारको पहिलो चेपाङ सचिव हुने सपना रहेको उनको छ । विद्यार्थीलाई विदेशभन्दा स्वदेशमा सेवा गरेर ग्रामीण क्षेत्रमा सेवा गर्नुपर्ने विचार इन्जिनियर प्रजाको छ ।
नेपाल इन्जिनियरिङ एशोसियसनका कर्मचारी भैरव केसीका अनुसार हालसम्म चेपाङ समुदायबाट इन्जिनियर भएका व्यक्ति एशोसियसनमा सूचीकृत भएका छैनन् । एशोसियसनमा हाल ३६ हजार सात सयभन्दा बढी इन्जिनियर आबद्ध छन् ।