Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

स्वस्थ बर्सात, आयुर्वेदको साथ

स्वस्थ बर्सात, आयुर्वेदको साथ

स्वस्थ बर्सात, आयुर्वेदको साथ
images

डा. रामदेव पण्डित, काठमाण्डौ, २७ असार । पदार्थको सत्ता अस्तित्त्वमा राख्न फरक फरक धर्म भएको इलेक्ट्रोन, प्रोटोन र न्युट्रन मिलेर अणुभित्रको गतीशीलता कायम गराएको हुन्छ । त्यसैगरी स्वस्थ शरीरको सत्ता कायम गरी राख्न फरक फरक क्रियात्मक क्षमता भएका वात, पित्त र कफले समन्वय गरी शरीरमा गतीशीलता कायम  गरिरहेको हुन्छ । वात, पित्त र कफ (त्रिदोष) आयुर्वेदको आधारभूत सिद्धान्त हो । शरीरमा त्रिदोषको सन्तुलन भइरहे व्यक्ति स्वस्थ हुन्छ, असन्तुलन भए अस्वस्थ बन्छ ।वात भनेको सामान्य अर्थमा वायु हो ।

images
images

वायुलाई नै प्राण शक्ति पनि भनिन्छ । फरक फरक कर्तव्य गर्ने १० प्रकारका वायुहरूले शरीरलाई जीवन्त एवं गतिशील बनाइरहेको हुन्छ । मनुष्यको शरीर या मनको हरेक अभिव्यक्तिका पछाडि निरन्तर प्राण (वायु) शक्तिले काम गरिरहेको हुन्छ । उसको शरीर र मनको कर्मले नै उ जीवित छ भन्ने कुरा प्रमाणित हुन्छ । जीवित व्यक्तिको शरीरमा प्राणशक्तिले अनवरत रूपमा काम गरेको हुन्छ ।

पञ्च प्राण

क्र.स. वायुको नाम स्थान कार्य
१. प्राण हृदय केन्द्र हेर्ने, सुन्ने, सुँघ्ने, स्वाद लिने, बोल्ने, चबाउने, समाउने
२. अपान मूलाधार केन्द्र मल, मूत्र र शुक्र त्याग, हिँड्ने, डुल्ने
३. समान नाभि केन्द्र भोक, रुचि, पाचन
४. उदान छाती र घाँटी केन्द्र भावनात्मक तत्त्वहरूको नियन्त्रण, प्रस्फुट्न
५. व्यान सम्पूर्ण शरीर शरिरमा घुम्ने र शक्ति सञ्चारण गर्ने

पञ्च उपप्राण

क्र.स. वायुको नाम कार्य
६. नाग शरीर तन्काउने र मोड्ने, डकार्ने
७. कृकर शरीरमा श्वास भरेर फुलाउने, हाच्छिउँ गर्ने
८. कूर्म शरीर खुम्च्याउने, आँखा झिम्काउने
९. देवदत्त हाई र निद्रा लगाउने
१०. धनञ्जय जोर्नीहरू स्वास्थ्य र सन्तुलित राख्ने

पर्यावरण एवं प्रकृतिमा हुने परिवर्तनसँगै मौसममा पनि बदलाव आउँछ । मौसममा आउने परिवर्तन अनुसार नै शरीरमा पनि परिवर्तन आउनु स्वभाविक हुन्छ । जेठ असार महिनाको गर्मीले शरीर र पर्यावरणमा सुक्खापन ल्याउँछ । जसले गर्दा   शरीरको विभिन्न स्थानमा वायु (वातको) सञ्चय हुने गर्दछ । साउन भदौको बर्सातको मौसममा वात दोषको प्रकोप हुन्छ । फलत: पाचनशक्ति कमजोर हुन जान्छ, वायुमण्डको अवस्था अम्लीय हुन्छ र पृथ्वीबाट वाफ (वायु) निस्कने हुन्छ ।

खस्रो, सुक्खा, शीतल, हलुका, सूक्ष्म, चञ्चल, खोक्रोपन र चलयमान आदि वात दोषको गुण हो । चरकसंहिता अनुसार वातको प्रकोपबाट शरीरमा ८० प्रकारका वातव्याधी लाग्न सक्ने हुन्छ । जस्तै: हाथखुट्टा चर्किनु, नङ टुट्नु, खुट्टामा दुखाइ, पायल्स, उल्टी हुनु, डकार, घाँटीमा जकडहट, दाँतमा दुखाइ, मुख सुक्ने, मुख तितो हुने, आँखामा पीडा हुने, अनिन्द्रा, चञ्चलता, हिच्की, हाई आउनु, चक्कर आउनु, छालाको रङ्ग कालो हुनु, आदि ।

शरीरमा हुने सबैखाले दुखाइको प्रमुख कारण वात दोष हुन्छ । वातदोषकै प्रकोपले कब्जियत पनि हुन्छ । त्यसैले बर्सातका बेला वातको प्रकोपले शरीरको मांशपेशी वा शरीरका जोर्नीहरू दुख्ने समस्या प्राय:लाई भएको पाइन्छ । धेरैलाई कब्जियत भएको हुन्छ ।

शरीरमा वातदोष बढ्ने अन्य कारण

१) दिसा, पिसाव तथा हाच्छिँउ रोक्नाले;

२) पहिले खाएको खाना नपच्दै अर्को खाना खाएमा;

३) राति ढिलो सुत्दा;

४) ठुल्ठुलो आवाजले कराउँदा;

५) अधिक परिश्रम गर्नाले;

६) गति धेरै (स्पिड) भएको गाडीको यात्रा गर्दा लाग्ने हावाको झोक्का लाग्दा;

७) अधिक तितो र पिरो वस्तुको सेवन गर्दा;

८) अधिक ड्राई फ्रुट्स खाँदा;

९) धेरै चिन्ता र तनाव लिँदा;

१०) अधिक मैथुन वा हस्तमैथुन गर्दा;

११) अधिक चिसो पदार्थ खाँदा; र

१२) धेरै उपवास गर्दा ।

सन् २०२१ मा डाक्टर मुकेस सैनी र उनको समूहले इन्टरनेशनल आयुर्वेदिक मेडिकल जर्नलमा प्रकाशन गरेको एउटा सर्वेक्षण (अध्ययन) प्रतिवेदन अनुसार १७ प्रतिशत व्यक्तिले मात्र हिजोआज ऋतुचर्या (ऋतु अनुसारको आहारविहार/आचरण) पालन गरेको पाइन्छ र ८३ प्रतिशतले नगरेको पाइएको छ । भारतको राजस्थान राज्यमा ५०० जनामा गरिएको उक्त सर्वेक्षणमा आयुर्वेदीय दिनचर्या सम्बन्धी २६ वटा सूचकहरूमा केन्द्रित भई तथ्याङ्क संकलन गरिएको थियो । यसर्थ हिजोआज जीवनशैलीगत रोगहरूको संख्या निकै बढ्दो छ ।

आयुर्वेदीय मान्यता अनुसार वर्षाको मौसममा अपनाउनु पर्ने खानपिन र जीवनशैली यस प्रकारको हुनुपर्छ ।

१) जौ, धान एवं गहुँबाट बनेको हल्का एवं ताजा खाना खानुपर्छ ।

२) खानामा गाईको घ्यु, कालो चना एवं मुसुरोको दाल मुख्य रूपमा समावेश गनुपर्दछ ।

३) प्रत्येक पटक खाना–खानु अघि सिधे नुनसँग अदुवाको सानो टुक्रा सेवन गर्नुपर्छ ।

४) प्याज एवं सागसब्जी मिश्रित अमिलो एवं नुनिलो सुप पिउनु पदर्छ ।

५) खानामा मात्रा मिलाएर दैनिक रूपमा तेल वा घ्यु प्रयोग गर्नु नै पर्दछ ।

६) उमालेर सेलाएको पानीमा थोरै मह मिसाएर पटक पटक पानीको सेवन गर्नु हितकारी हुन्छ ।

७) मुङको दाल र अदुवाको प्रगोग प्रमुखताको साथ प्रयोग गरिनु पर्दछ ।

८) बर्सातमा खाना तात्तातै खानुपर्छ तथा अपक्व खाना जस्तै सलाद आदि खानु हुँदैन । बासी खाना खानु हुँदैन ।

९) बर्सातमा गतिहीन भएको पाचन क्रियालाई सक्रिय तुल्याउन पटक पटक झोलिलो पदार्थ खानु पर्दछ ।

१०) हरियो सागपात यसमा नखाएको हितकर हुन्छ ।

११) यस मौसममा दही, रातो मासु, गरिष्ट खाना खानु अस्वस्थकर मानिन्छ । मही खानु हितकर नै हुन्छ ।

१२) सिधे नुनसँग हर्रोको चुर्ण खानु अति हितकारी हुन्छ ।

जीवनशैली

१) दिउँसो सुत्नु हुँदैन । दिउँसोको सुताइले पाचनक्रियालाई थप मन्द बनाउँछ ।

२) अधिक श्रम र दिउँसोको घामको अधिक सेवन अहितकर हुन्छ ।

३) घर भित्र र बाहिरको सरसफाइलाई ध्यान दिनुपर्छ साथै कुनै पनि स्थानमा पानी जम्न दिनु हुँदैन ।

४) भाइरसहरूको आक्रमणबाट बच्न शरीरलाई न्यानो राख्ने तथा चिसोबाट बच्ने ।

५) चिसो कपाल र कपडा लगाएर एयर कन्डिसन्ड कोठामा बस्नु हुँदैन ।

६) खुट्टाहरू सुक्खा नै राख्नु पर्दछ ।

७) अति चिसो र नउमालेको पानि पिउनु अहितकर हुन्छ ।

८) बर्षामा रुझ्नु हुँदैन, रुझी हाले तत्काले भिजेको कपडा फेर्नुपर्छ र शरीरलाई न्यानो बनाउनु पर्छ ।

९) घर भित्र र बाहिर पनि किटाणुहरूबाट निस्क्रमणका लागि बेसारको धुलो, हिंग, तोरी, नीमको काठ, आँपको पात, चन्दनको काठ, गोकुल धुप, आदि सुगन्धी पदार्थको  धुप बाल्नु पर्छ ।

१०) यस मौसममा वातको प्रकोप र सञ्चयलाई सन्तुलन गर्न शरीरको शुद्धीकरणका लागि आयुर्वेदमा पञ्चकर्म अन्तर्गतको वस्तीकर्म गरिन्छ ।

images
प्रकाशित मिति :आषाढ २७, २०७९ सोमवार - ०९:१७:०३ बजे

स्वतन्त्र समाचार Independent News Service (INS)

स्वतन्त्र समाचार नेपालमा गुणस्तरीय मिडिया कन्टेन्ट उत्पादन गरी निःशुल्क वितरण गर्ने एक समाचार एजेन्सी हो। यस एजेन्सीको समाचार इच्छाकामना न्युजले पनि प्रकाशन गर्ने गरेको छ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology