बुद्धि पुन, सल्यान । सल्यानमा तीन तहका सरकारले ५ वर्षमा खानेपानीको क्षेत्रमा गरेको प्रयासको उपलब्धी देखिन थालेको छ । सल्यानकोबागचौर नगरपालिका–२ मा लिफ्ट प्रविधि मार्फत घरघरमा खानेपानीको सुविधा पुगेपछि सर्वसाधारण नागरिक खुसी भएका छन् । लिफ्ट मार्फत जङ्गारखोलाको पानी बागचौरका हरेक घरमा पु¥याईएको छ ।
गाउँभन्दा एक किलोमिटर टाढा रहेको खोलाबाट पानी आएपछि स्थानीयवासी पनि दङ्ग छन् । घरायसी प्रयोग गरेर बढि भएको पानी करेसाबारीमा समेत उपयोग गर्न थालिएको स्थानीयवासी रोजी बुढाथोकीले बताउनुभयो ।
अहिलेसम्म झण्डै एक सय बढी घरधुरीमा खानेपानी पुगिसकेको छ । क्रमागत आयोजना भएकाले बाँकी घरमा जडान कार्य जारी छ । आयोजनाबाट बागचौर बजार, थारमारे बजार, जिउँला, मिलन डाँडाका करिब ४ सय घरधुरी लाभान्वित हुनेछन् ।
कर्णाली प्रदेश सरकारको बहुवर्षिय आयोजना मार्फत ३ करोड १६ लाखको डिपिआर भएकोमा हालसम्म १ करोड ९० लाख रुपैयाँ खर्च भएको बागचौर खानेपानी आयोजनाका अध्यक्ष ज्ञानेश्वर केसीले जानकारी दिनुभयो ।
सरकारको एउटा तथ्याङ्क अनुसार नेपालका ३५ लाख मानिसले सहज रुपमा खानेपानीको सुविधा पाएका छैनन् । भने २० प्रतिशत विद्यालयमा अहिले पनि खानेपानीको समस्या छ ।