धर्म , संस्कार र संस्कृति मानव जीवनको अभिन्न पाटो हो । यिनीहरुले नै मानव जातिलाई जंगली जनावर भन्दा भिन्न बनाई अथवा पशुको दर्जाबाट माथी उठाई सुव्यस्थित र अनुशासित र परिस्कृत भएर बस्न सिकाउछ । त्यसैले धर्म,संस्कार र संस्कृतिसँग मानवको अन्योन्याश्रित सम्वन्ध रहेको छ । उखानै छ ' पे म्ह्स्या,छ्या म्हमु,छ्या म्हस्या ल्हु म्हमु,ल्हु म्ह्स्या म्हि म्हमु" नेपालीमा भन्दा '' शास्त्र हराए संस्कृती हराउँछ, संस्कृती हराए परम्परा हराउँछ अनि परम्परा हराए मान्छे नै हराउँछ ।''
संस्कार र संस्कृतिलाई छोडेर हामी एकछिन धर्मको कुरा गरौं ।
धर्म संस्कृतबाट आएको शब्द हो । यसलाई अंग्रेजीमा Religion भनिन्छ । पुर्विय आस्थामा धर्मको विभिन्न अर्थ लगाइएको पाइएता पनि पश्चिमा विद्वानहरुले अंग्रेजी शब्द ( Religion ) रिलिजनको पर्यायवाची शब्दनै छैन भन्ने निष्कर्ष निकालेका छन् । त्यसैले धर्मको खास परिभाषा यहीनै हो भन्ने कुरामा एकमत छैन अर्थात धर्मको व्यापक अर्थहरु छ ।यसलाई विभिन्न तरिकाले व्याख्या गरिएको छ । यद्यपि सामान्य एक अर्थमा हामीले धर्मलाई असल , परोपकारी , सकारात्मक र पुन्य वा पवित्र कर्महरु भनेर बुझ्ने गर्दछौं ।
त्यस्तै गरेर धर्मलाई कर्तब्य चरित्र र नैतिकतासँग पनि जोडेर व्याख्या गरिन्छ । जस्तो की बग्नु पानीको धर्म हो । जोडिनु हड्डीको धर्म हो , बिहान उदाउनु सुर्यको कर्तव्य हो , तातो हुनु आगोको धर्म हो ,चिसो हुनु हिउँको धर्म हो , फूल्नु फूलको चरित्र हो आदि ।यी तमाम कर्महरुमा कर्तव्य , नैतिकता र सास्वतता छ ।
त्यसैले धर्मको अर्थ गहन तर व्यापक पनि छ
किन भने अंग्रेजी, जर्मन र फ्रेन्च भाषाका विद्वानहरुले धर्मको उल्था गर्न प्रयत्न गरेका थिए । तर धर्म शब्दको अर्थ वा परिभाषा यही हो वा यति मात्र हो भनेर भन्न सकेनन् । यसकारण धर्म शब्दको अर्थ व्यापक र गहन हुनुका साथै यस्लाई अर्थ्याउनु अति कठिन काम भनी स्वीकार गरेका छन् । प्रख्यात भाषाशास्त्री नोम चोम्स्कीले धर्म शब्दको विश्वका हरेक भाषामा फरक अर्थ रहेको र यसलाई सिमित अर्थमा बाँध्न सकिदैन भनेका छन् भने ग्रासमेनले धर्मको विभिन्न सात अर्थ निकाले । त्यस्तै गरेर मोनियर ,कार्ल फ्रेडरिक गेल्डर र विलियम लगायतका विद्वानहरुले धर्मको २० भन्दा बढी प्रकारका अर्थहरु निकाले । यी विद्वानहरुका अनुसार धर्म शब्द भित्र कानुन, काम, कर्तव्य, नियम , व्यवस्था ,प्रथा , परम्परा , प्रचलन, शिक्षा, दिक्षा, गुण, स्वाभाव , चरित्र, आदत, अधिकार , नैतिकता ,व्यावहार ,व्यावस्था, आस्था , विश्वास , सम्मान , सम्पत्ति र प्रतीक आदि अर्थहरु पर्ने बताए ।
"गुरुङ जातिले मान्दै आएको मुल धर्म वा कुलधर्म र बुद्ध धर्मको बारेमा विभिन्न मतभेद र विचारहरु व्यक्त हुन थालेको छ । सबै धर्म र आस्था उत्पत्तिको आ-आफ्नो ईतिहास र आधार त छन् नै । सायद धर्मको अर्थलाई नबुझेर पनि यस्तो भएको हुनसक्छ । कुल धर्म भनेर हामी बोन धर्मलाई बुझ्दछौं र बुद्ध धर्म भनेर गौतम बुद्धको ज्ञान र दर्शनमा चल्ने शिक्षा दिक्षा आस्थालाई बुझ्दछौं । तर यी दुबै आस्थाहरु परन्तुमा मानवहितकै लागी हुन् । यसैले हामीले दुबै आस्था र विश्वासहरुको सम्मान गर्नु पर्दछ । अनुसरण आफ्नो स्ववेच्छा हो । राम्रो कुरा सबै धर्मबाट लिनु पर्दछ । सम्मान सबै धर्म र दर्शनलाई दिनुपर्छ । जस्ले जुन धर्म प्रति आस्था विश्वास राखे पनि हाम्रो जातिय र सामुदायिक एकतालाई भने भुल्नुहुदैन । धर्मको नाममा हामी विखण्डित हुनुहुदैन ।"
धर्मका यी तमाम अर्थहरुलाई बुझ्दा समग्रमा धर्म मानवजीवनसँग सम्वद्ध कुरा हो । असल जीवन पद्दति हो र जीवनको सही मार्ग हो भनेर बुझ्न सकिन्छ ।
प्रख्यात फ्रान्सेली समाजशास्त्री ईमाइल दुर्खिमले सामाजिक एकतासँग जोडेर धर्मको नँया ढंगबाट व्याख्या गरेका छन् । साथै उनले धर्मको उत्पत्ति समाजबाटै भएको बताएकाछन् उनका अनुसार '' धर्म मानविय मुल्य सहितको सास्वत र पवित्र मान्यताहरुसँग सम्वन्धित अनेकौं विश्वास क्रिया , कर्तब्य र आचरणहरुको त्यो प्रेरणाश्रोत हो जस्ले समाजको नैतिक र सामाजिक व्यावस्थालाई सुदृढ गर्दै आफ्नो धर्म मान्नेहरुलाई सामाजिक एकतामा बाँध्ने गर्दछ । '' त्यसैले धर्मको सम्वन्ध केवल आस्था विश्वास र पुजा अथवा आरधनाको पद्धतिसँग मात्र सिमित हुदैन । धर्म प्रकृति , तत्वहरु, ज्ञानहरु, कर्महरु ,शक्तिहरु , आस्था र स्थानहरु , व्यावहार र विश्वासहरु लगायत आचरणहरुको एक संगठित व्यावस्था हो । जस्को उदेश्य लौकिक अलौकिक जीवनसँग सम्बध्द अन्तिम सत्य सहितको लक्ष्य प्राप्ति पनि पनि हो । जस्को सम्वन्ध शुरु देखी अन्त्यसम्म मानव समाजसँगनै हुन्छ । यसैले मेलिनोस्कीले धर्मलाई सामाजिक परिघटना मानेकाछन् ।
तर विश्वका विभिन्न देशमा रहेका समाज तथा समुहले विश्वास र आस्थाका साथ अनुसरण गर्दै आएको बौद्ध , हिन्दु , बोन , किरात ,इस्लाम , इसाई ,जैन शिख आदि आस्थाहरुलाई मात्र धर्म भनेर बुझ्ने गरेको छौं । धर्मलाई यही अथवा यति मात्र बुझ्नु गलत हो अथवा धर्म शब्दमाथीको संकुचन हो ।
धर्म एउटा गहिरो र बृहत अर्थ बोकेको शब्द हो । यसको गहिराई बुझ्न अति कठिन काम पनि हो । जति जसरी यसलाई आजसम्म बुझ्दै आएको छौं त्यो अति कम र भ्रम हो । किन भने आजसम्म धर्मलाई जुन अर्थ लगाएर त्यसमाथी अतिबाद र कट्टरताहरु लादिन्छ त्यसले मानव समाज र समुदायलाईनै हानी गर्दछ । जस्तो की धर्म भनेर बौद्ध , बोन ,हिन्दु जैन , ईसाई ,इस्लाम , किरात आदि आस्थाहरुलाई मात्र बुझ्दछौं ।तिनीहरुको आ-आफ्नो वेद ग्रन्थ वा शास्त्रहरु छन् ।
यस्का अनुयायीहरुले ती आ - आफ्नो ग्रन्थ , वेद वा शास्त्र र परम्पराको अनुसरण गर्छन् र त्यसै अनुसार निर्देशित हुन्छन् । यसरी ती ग्रन्थहरुको अनुसरण गर्ने क्रमका कतिपय अतिवादि अनुयायी अथवा कट्टरपन्थीहरुले अनेक विवाद र मतभेद निकालेर द्वन्द्व , युद्ध दंगा र आतङ्कवादको सिर्जना गरेकाछन् । त्यही कारण धर्मको नाममा विश्वमा अनेकौं साम्प्रदायिक युद्ध ,हिंसा र कलह भएको ईतिहासहरु पाइन्छन् । यति मात्र नभएर यसलाई राजनीतिकरण गरेर राज्यनै टुक्रिएको ईतिहासहरु पनि छन् । यो सबै हुनुको प्रमुख कारण भने धर्मको अर्थलाई नबुझ्नु नै हो अर्थात धर्म को शब्दार्थ साँघुरो दायरामा सिमित पारिनुले हो ।
धर्म जस्तो विशाल र गहन शब्द माथी यति धेरै अन्योल , विवाद , विषमता , संकुचन ,र विकार हुनु मानव समाज र सभ्यताको लागी अत्यन्त दु:खद पक्ष हो । किन भने अहिले सम्म हामीले बुझ्दै आएको बौद्ध ,हिन्दु ,बोन, जैन ,ईशाई ,इस्लाम , किरात आदि धर्म भनेको आस्था ,विश्वास ,सम्प्रदाय हो । जीवनको सही मार्गदर्शन हो मानवहरु अनेक जीवन पद्दति हो ।
यी आस्थाहरुको निर्माण भने मानव समाजको उत्पत्ति र चरणबद्ध विकासको क्रमसँगै हुदै आएको हो र मानवहितकै लागी
सिर्जना भएका हुन् ।
जस्तो की हिन्दु आस्थामा धर्म भनेर प्राणी र ब्रह्माण्ड बिच अविश्रान्त सम्बन्ध कायम भएको त्यो व्यवस्थालाई जनाउछ जस्ले स्वभाव, कर्तव्य, अधिकार, कानुन, व्यवहार, गुण र असल जीवन पद्दतीका सुत्रहरु र सही मार्ग आदिलाई सिकाउछ ।
बौद्ध आस्थाले ब्रह्माण्डको नियम, कानुन लगायत सम्पुर्ण प्राणी जगतको मुक्तिको मार्गदर्शन गर्दै अंहिसाबादी शान्तिदुत बुद्धले प्रतिपादित गरेका ज्ञान र शिक्षादीक्षालाई धर्ममा समेट्छ । साथै यो आस्था भनेको जातिय भेदभाव नभएको र युग सापेक्ष भई वैज्ञानिकताको आधारमा चल्ने दुरदर्शिता सहितको जीवनदर्शन पनि हो ।
त्यसैगरी बोन र किरात धर्ममा प्रकृति र मानवको अविश्रान्त सामिप्यता र सम्वन्धको उल्लेख गर्दछ । मानव जीवनको लागी प्रकृतिको अपरिहार्यता जनाउदछ भनेको सृष्टीको मुल प्रकृतिलाई ठान्दै यसको पुजन तर्फ अभिप्रेरणा जगाउछ ।
जैन आस्थाले मानव जातिको नैतिक उत्थान तथा शुद्धीकरण र ज्ञान प्राप्तीको लागी तिर्थकरले प्रतिपादन गरेका शिक्षा दिक्षा र उपायहरूको अवलम्वन जनाउछ । सच्चरित्र अहिंसा र पवित्रता यस्को मुख्यसार हो । यहुदीहरुको धार्मिक ग्रन्थ कैवालाले मानव जातिलाई दया, प्रेम ,न्याय, करुणा , परोपकार , दीनदुखी र अशक्तहरुको सेवा , र सदाचारी हुने प्रेरणा निर्देशन दिन्छ जुन कुरा जहिले मानवहितको लागी हुन्छ ।एवम् रीतले ईशाई आस्थामा मानव जातिलाई लोभ मोहमा नपर्ने लगायत आफुलाई कमजोर दीनहिन ठान्नु नहुने र प्रणी जगतको रक्षालाई आस्थाको मुलसार मान्दछ भने इस्लाम आस्थाले गरिबहरुलाई अनिवार्य दान दिनु पर्ने कुरालाई जोड दिन्छ । नारीको दयनिय स्थान र धार्मिक कट्टरता भने यो आस्थाको कमजोर पक्ष हो ।
गुरु नानकले प्रवर्तन गरेको शिख आस्थामा गुरु ग्रन्थ साहिव अनुसार अंहिसा सत्कर्म र परोपकारलाई नै मानवजीवनको ओैचित्य मान्दछ । यसरी संसारमा समयको विभिन्न कालखण्डमा विभिन्न प्रवर्तकहरुबाट प्रवर्तन भएका आस्थाहरु अन्ततगोत्व मानव जीवनकै हित ,नैतिक विकास र सामाजिक व्यावस्था सुदृढीकरणकै लागी निर्माण गरिएकाहुन् । त्यसैले हामीले विचार आस्था र धर्मको बारेमा विवाद लडाइँ र झगडा गरी समाज र समुदायमा विखण्डन निम्त्याउनु हुदैन ।कुनै पनि आस्थाप्रति आस्थावान् हुनु मानवको नैसर्गिक अधिकार हो । आफ्नो ईतिहास तथा पहिचानको खोजी र सुरक्षा त सबैले गर्नु पर्छ । कुनै पनि जात जाति तथा समाज र समुदायले आफ्नो धर्म संस्कार संस्कृति र पहिचान जोगाउने बहानामा जबरजस्ती आस्था र बिचारहरु लाद्नु पनि गलत हो । हामीले हाम्रो केही अत्यन्त रुढी परम्पराहरुलाई युग र समयसापेक्ष परिस्कार पनि गर्दै लैजानु सक्नु पर्छ र सकेसम्म धर्म र परम्पराको नाममा पशुबलीलाई हटाउदै लानु पर्छ । मानव वाहेकका प्राणीहरुको संवेदनालाई पनि बुझ्नु पर्दछ । यसरीनै क्रमिकरुपले मानव जीवन समाज र समुदाय सुधार र विकास हुदै आएको हो । हामीले प्रकृति , मानव र ब्रम्हाण्ड लगायत अनेक प्राणीहरुसँगको तादम्यता नमिलाई मानविय कर्तब्य भुलेर आफ्नो स्वार्थसिद्धी मात्र सोच्यौं भने हाम्रो सभ्यता कुनै पनि समय दुर्घनामा परी सखाप भएर जादैन भन्न सकिन्न । मानवले आफ्नो काम , कर्तव्य , ज्ञान ,भुलेर प्रकृति र ब्रम्हाण्डको नियमलाई वेवास्ता गरी , स्वार्थ सिद्दीका लागी वैज्ञानिक र समय सापेक्ष हुन नचाहादा यो विश्वबाट मैनजोदारोको सभ्यता , माया सभ्यता , सिन्धुघाँटीको सभ्यता , हडप्पाको सभ्यता आदि जस्ता कतिपय समृध्द सभ्यताहरु पनि नष्ट भएर गएको ईतिहासहरु हामीले भुल्न हुदैन ।
अहिले हामी गुरुङ जातिमा धर्म र पहिचानको नाममा कुलधर्म र बौद्धधर्ममा कुनलाई मान्ने भनेर विवाद र अन्यौलता सिर्जना भएको छ । बोन धर्म गुरुङको वास्तविक धर्म हो बौद्ध धर्म गुरुङ जातिमा पछि मात्र प्रभावित र आयातित धर्म हो भन्न थालिएको छ । यसले विखण्डनको सुष्म आभास दिन्छ । यो सोचनिय विषय हो । गुरुङ जातिले मान्दै आएको मुल धर्म वा कुलधर्म र बुद्ध धर्मको बारेमा विभिन्न मतभेद र विचारहरु व्यक्त हुन थालेको छ । सबै धर्म र आस्था उत्पत्तिको आ-आफ्नो ईतिहास र आधार त छन् नै । सायद धर्मको अर्थलाई नबुझेर पनि यस्तो भएको हुनसक्छ । कुल धर्म भनेर हामी बोन धर्मलाई बुझ्दछौं र बुद्ध धर्म भनेर गौतम बुद्धको ज्ञान र दर्शनमा चल्ने शिक्षा दिक्षा आस्थालाई बुझ्दछौं । तर यी दुबै आस्थाहरु परन्तुमा मानवहितकै लागी हुन् । यसैले हामीले दुबै आस्था र विश्वासहरुको सम्मान गर्नु पर्दछ । अनुसरण आफ्नो स्ववेच्छा हो । राम्रो कुरा सबै धर्मबाट लिनु पर्दछ । सम्मान सबै धर्म र दर्शनलाई दिनुपर्छ । जस्ले जुन धर्म प्रति आस्था विश्वास राखे पनि हाम्रो जातिय र सामुदायिक एकतालाई भने भुल्नुहुदैन । धर्मको नाममा हामी विखण्डित हुनुहुदैन । हाम्रो चाड पर्वहरुलाई महत्व दिएर मनाउनु पर्छ किनकी राज्य पक्षद्वारा हामी आदिवासी जनजाति माथी गरिएको विभेदको विरुद्ध एकता जहिल्यै जरुरी पर्छ । हामी सबैले यो पनि बुझ्नु जरुरी छ की कुनै पनि धर्मको नाममा हुने कट्टरता वा अतिवादीता मानव समाज र समुदायको लागी सदैव घातक सिद्ध हुन्छ । अन्त्यमा सबैमा तमुल्होसार २०७७ को हार्दिक मंगलमय शुभकामना !!!