Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

संस्कृति प्रतिकात्मक हुन्छ

संस्कृति प्रतिकात्मक हुन्छ

रोशन गुरुङ

१२, पौष २०८१
संस्कृति प्रतिकात्मक हुन्छ

मान्छेले संस्कृतिलाई बनाउँछ, संस्कृतिले मान्छेलाई । त्यसकारण दुवैबीचको सम्बन्ध पारस्परिक हुन्छ । जनावर र मान्छेलाई छुट्याउने मुख्य तत्व भनेकै संस्कृति हो । मान्छेसँग संस्कृति हुन्छ, जनावरसँग हुँदैन । संस्कृति मान्छेका लागि सम्पूर्ण कुरा हो, जीवन जिउने तरिका हो । यति महत्वपूर्ण भइकन पनि हामीले संस्कृतिलाई सही तरिकाले बुझ्न सकेका छैनौं, जसले गर्दा समाजमा द्वन्द्व भइरहेको हुन्छ । 

images

संस्कृतिलाई सही तरिकाले ग्रहण गर्दामात्र हाम्रो हित हुने हो । सतही, त्रुटिपूर्ण बुझाइले एकताभन्दा पनि विभाजन ल्याउँछ । म यहाँ यही विषयलाई छोटकारीमा व्याख्या गर्न गइरहेको छु । 

प्रतिकात्मक संरचना:
संस्कृतिको सीधा अर्थ हुँदैन । त्यसकारण संस्कृतिलाई सतही तरिकाले मात्रै बुझ्नु हुँदैन । झट्ट हेर्दा, जे देखिन्छ, त्यो संस्कृति हुँदैन । दृश्यभन्दा अदृश्य पक्षले संस्कृति निर्माण भइरहेको हुन्छ । गहिरो अर्थ लुकिरहेको हुन्छ । मानौं, संस्कृतिमा कसैले ढुङ्गाको प्रयोग गरेको छ भने त्यो ढुङ्गा हुँदैन, भगवान हुन्छ । 

यसबाट के बुझिन्छ भने सीधारुपमा ढुङ्गा देखिए पनि त्यो ढुङ्गा हुँदैन । ढुङ्गालाई ढुङ्गा नै देख्नु भनेको सतही हेराइ हो । जस्तो देखिन्छ उस्तै हेराइ । ढुङ्गालाई भगवान देख्नु भनेको प्रतिकात्मक हेराइ हो । 

संस्कृति सीधारूपले होइन, प्रतिकात्मकरूपमा बुझ्नुपर्ने कुरा हो । सांस्कृतिक अभ्यास, अनुष्ठान र परम्परामा गहिरो अर्थ लुकेको हुन्छ, जसलाई बुझ्न हामीले त्यसको प्रतिकात्मक पक्षलाई खोतल्नुपर्छ । प्रसिद्ध मानवशास्त्री क्लिफर्ड गर्जका अनुसार, संस्कृति भनेको अर्थहरूको जटिल सञ्जाल हो, जसमा मानव जाति बाँधिएका हुन्छन् । 

गुरुङहरुले पय (अर्घुम/मृत्यु संस्कार) गर्दा त्यहाँ पच्यु, क्ल्हेब्री, बोन्पो लमहरु  आफ्नो शास्त्रलाई लयात्मक तरिकाले बाचन गर्दै ङ्अ, त्हदु (ढ्याङ्ग्रो) इतयादिलाई ताल मिलाएर बजाउँदै मृतकको वरिपरि घुम्छन् । यो दृश्यलाई सीधा अथवा सतही तरिकाले हेर्दा, गीत गाएर रमाइलो गरेजस्तो देखिन्छ । यस्तो अवस्थामा मान्छे मरेको छ, दुःखमा परेको छ, गीत गाउँदै मनोरञ्जनमा रम्ने भन्ने आभास हुन सक्छ । तर, यो बाहिरी बुझाइ मात्र हो, सत्य होइन । त्यसैले गुरुङहरुको दृष्टिकोणमा यो मनोरञ्जन होइन । 

मान्छे मरेपछि शरीर मर्छ । तर, आत्मा मर्दैन । आत्मालाई सिमिनाँसा (पितृलोक) पु¥याउनुपर्ने हुन्छ । तर, पितृहरु सजिलै जान मान्दैनन् । आफ्नो घर, परिवार, साथीभाइ, ठाउँ आदिलाई भौतिकरूपमा छोड्न अत्यन्तै गाह्रो हुन्छ । त्यसैले फकाउनुपर्ने हुन्छ । फकाए पनि सजिलै जान मान्दैनन् । जति पनि नाचेजस्तो दृश्यहरु सबै मृतात्मालाई फकाउने, सिमिनाँसा पु¥याउन सुरक्षित यात्राको लागि गरिने एउटा सांस्कृतिक प्रकृया हो । मनोरञ्चन गरेजस्तो देखिए पनि यो वास्तवमा मनोरञ्जन नभएर आत्मालाई पितृलोकमा पु¥याउन आवश्यक विधि गरेको हो । यसरी बुझियो भने त्यही दृश्य स्वाभाविक, अर्थपूर्ण र आवश्यक लाग्न थाल्छ । 

पच्यु पैंडी चिवा यारजङ्ग क्रोम्छैं तमूका अनुसार मृतात्मा पितृलोकमा एक्लै जान मान्दैन । हामी बाँचुञ्जेल कोही न कोहीको साथमा हुन्छ । जन्मदा पनि सालसँग जन्मिएको हुन्छ । त्यसैले साल हाम्रो साथी हो । पछि छुट्टिने हो । विवाहअघिसम्म हाम्रो साथी आमा हो । पछि श्रीमान्–श्रीमती एकअर्काकोे साथी हुन्छन् । तर, मर्दा एक्लै मर्नुपर्ने हुन्छ । त्यसैले मृतात्माले त्यो बेला पनि साथ खोजेको हुन्छ । त्यसैले गुरूङ जातिको मृत्यु संस्कारमा मृतकको साथीको लागि बाख्रा काटिएको हुन्छ । पितृलोक जाने बाटो त्यस्तो सहज पनि हुँदैन । 

मृतात्मालाई विभिन्न मों (भूतप्रेत)बाट छुटकारा दिँदै सुरक्षित यात्रा गराउनुपर्ने हुन्छ । यसको लागि मासु चढाइन्छ । विश्वकै आदिवासी संस्कारमा बलि दिने कुरा सामान्य हो । जङ्गली युगमा शिकार खेलेर जीवीकोपार्जन गर्नुपथ्र्यो । आदिम युगबाटै विकसित हुँदै आएको आदिवासी संस्कारलाई बाहिरी आँखाले हेर्दा मान्छे मरेको बेला जनवारमाथि हिंसा गरेको देखिन्छ । तर, भित्री आँखाले हेर्दा यसको अर्थ ठीक उल्टो छ । बाख्राको हंसलाई साथीको रूपमा पठाएको हो । बाहिरी आँखाले हेर्दा दुःख पर्दा मासु खाएको देखे पनि भित्री आँखाले हेर्दा भूतप्रेतलाई सन्तुलनमा ल्याउन मासु खुवाएको हो । भ्रम नहोस्, यो मासु मृतकको परिवारले खाँदैनन् ।  

संस्कृतिलाई बाहिरी अथवा सतहीरूपमा मात्र विश्लेषण गर्दा यसको वास्तविक अर्थ र महत्वलाई गुमाउन पुग्छौं । संस्कृति एक जटिल संरचना हो, जसले समाजका सदस्यहरूको सोच, मान्यता, र विश्वासलाई अभिव्यक्त गर्दछ । 

सांस्कृतिक द्वन्द्व:
संस्कृति प्रतिकात्मक हुन्छ भनेर नबुझ्दासम्म जुनसुकै बेला पनि समाज द्वन्द्वमा फस्न सक्ने खतरा रहन्छ । एकथरी मानिसहरु संस्कृतिलाई सीधा तरिकाले हेरेर बुझ्न खोज्छन् । तर संस्कृति कहिल्यै त्यस्तो हुँदैन । संस्कृतिलाई भित्री अर्थबाट बुझ्नुपर्ने हुन्छ । जस्तै माथिको उदाहरणमा पनि सोझै बुझ्नेले बाख्रा काटेको दृश्यलाई हिंसा देख्ने भयो, मृतात्मालाई फकाएको दृश्यलाई दुःख पर्दा पनि नाचेको, गाएको देख्ने भयो । 

यस्तो खालको सतही दृष्टिकोण र प्रतिकात्मक दृष्टिकोण ठीक उल्टो छ । त्यसकारण संस्कृतिलाई सही तरिकाले बुझ्न सकेन भने यसले समाजमा द्वन्द्व निम्त्याउन सक्छ । सांस्कृतिक द्वन्द्व निर्मूल गर्न संस्कृतिलाई सतहीबाट होइन, प्रतिकात्मकरूपमा बुझ्न जरूरी छ । बाहिरी आँखाले होइन, भित्री आँखाले हेर्न जरूरी छ । स्पष्ट हुन जरुरी छ । यति मात्र बुझ्न सके पनि संस्कृतिको न्यायोचित विश्लेषण गर्न सक्छौं । सम्भावित द्वन्द्वबाट समाजलाई बचाउन सकिन्छ ।  

निष्कर्ष:
सतही आँखाले हेरेर मात्रै संस्कृतिको वास्तविक महत्व बुझ्न सक्दैनौं । यस्तो विश्लेषणले संस्कृतिको गहिराइलाई बेवास्ता गर्छ । र, केवल देखिने पक्षमा ध्यान दिन्छ । परिणामस्वरूप हामी सांस्कृतिक अभ्यासको गलत व्याख्या गर्न पुग्छौं । र, वास्तविक अर्थलाई बुझ्न सक्दैनौं । यस्तो बेला, सांस्कृतिक द्वन्द्वको खतरा हुन्छ । संस्कृतिलाई सहीरूपमा बुझ्न यसको प्रतिकात्मक पक्षलाई गहिराइमा बुझ्न आवश्यक छ । 

लेखक मानवशास्त्री, इन्जिनियर तथा अनुसन्धानकर्ता हुन् ।

images
प्रकाशित मिति :पौष १२, २०८१ शुक्रवार - ०९:०६:१७ बजे

रोशन गुरुङ

लेखक मानवशास्त्री, इन्जिनियर तथा अनुसन्धानकर्ता हुन् ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology