Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आन्दोलनको ‘हाइज्याक’

आन्दोलनको ‘हाइज्याक’

देवराज गुरुङ

२७, आश्विन २०८२
आन्दोलनको ‘हाइज्याक’

जेन जी विद्रोहले देशको राजनीतिक कोर्षनै बदलिएको छ । बहसको विषयले समेत नयाँ रुप लिएको छ । देशको राजनीति मात्र होइन, नागरिकहरुको सोच्ने तरिकामा समेत परिवर्तन देखा पर्न थालेको छ । भदौ २३ र २४ गत्तेको विद्रोहले काङ्ग्रेस–एमालेको दुइतिहाइको सरकार मात्र ढलेको छैन । प्राय प्रधानमन्त्रीको म्युजिकल चियर्समा रहने ओली, देउवा र दाहालको अबको राजनीतिक बाटो समेत लभगभ सक्किएको छ । दलहरुमा समेत नयाँ नेतृत्व र नयाँ संरचनाको वहस सुरु हुन थालेको छ । जेन जी विद्रोह अन्य आन्दोलन र विद्रोह भन्दा फरक रहन गयो । कारण, आन्दोलन र विद्रोह राजनीतिक दल वा विचार समूहबाट मात्रै हुन्छ भन्ने भाष्यको मानक भत्किएको छ । आन्दोलन राजनीतिक सिद्धान्त, दल वा विचार समूह भन्दा फरक तरिकाबाट भएकाले आन्दोलनको समेत ‘हाइज्याक’ हुन पुग्यो । 

images

आन्दोलन हाइज्याक
नेपालको इतिहासको कालखण्डमा विस २००७ सालदेखि ०६२÷६३ सम्मको आन्दोलमा राजनीतिक दल वा विचार समूहको प्रत्यक्ष नेतृत्व रह्यो । तर ०८२ भदौमा भएको जेन जी आन्दोलन ती आन्दोलनहरुभन्दा फरक प्रकृतिको आन्दोलन बन्न पुग्यो । विचार समूहभन्दा बाहिर बाट भएको यो सानदार आन्दोलनबाट विश्वनै चकित बनेको छ । यतिबेला वषौेदेखि विचारको नाममा राजनीतिको व्यापार गर्ने राजनीतिक दलहरुमाथि नै प्रश्न चिन्ह खडा भएको छ । के आन्दोलन र विद्रोह राजनीतिक ऐजेण्डा र विचारले मात्र सम्भव हुन्छ ? आन्दोलन गर्न राजनीतिक दलनै आवश्यक पर्छ ? विचार र एजेण्डा बिनाको आन्दोलन स्थायीत्व हुन्छ कि हुदैन ? समय अनुसार दर्शन परिवर्तन भयो कि भएन ? अब नयाँ विचारको बहस हुन्छ कि हुदैन ? दुई सय वर्ष पुरानो दर्शनको विकल्प के हुन सक्छ ? विचारलाई गुमरहामा राख्ने नेतृत्व परिवर्तन हुन्छ कि हुदैन ? यस्ता अनेकन प्रश्नहरु जेन जी विद्रोहले उत्पन्न गरेको छ ।  समग्रमा आन्दोलन राजनीतिक दलबाट हाइज्याक भएर नयाँ ठाउँमा पुगेको छ । 

नागरिकहरुमा चुलिएको निराशाको चाङलाई राजनीतिक दलहरुले एजेण्डाको रुपमा उठाउन नसक्दा समाजमै रहेको कुनै समूह वा तप्काले मुद्धालाई विद्रोहको रुपमा उठाएको छ । यसले राजनीतिक दलप्रति र तीनले लिएको विचार माथि नै प्रश्न चिन्ह खडा गराएको छ । विचार बेठिक कि विचारलाई नेतृत्व गर्नेहरु खराब भन्ने प्रश्न उठ्न थालेको छ । विचारको नेतृत्व गर्नेहरुको चेतनामा भ्रष्टिकरणले बास गरेपछि गतिशील रहने सिद्धान्त पनि कहिले काही सालिकमा परिणत हुने रहेछ । नेपालको सन्दर्भमा ठिक त्यहि परिस्थिति निर्माण भएको छ । एमाले–काङ्ग्रेस सत्तामा लिप्त हुने सत्ता बचाउनको लागी कुनै कसुर नराख्ने । सत्ता पक्ष र प्रतिपक्षको अन्तिम लक्ष्य नै सत्ता बन्दा जनताको आवाज बोल्ने र सुन्ने नभएपछि जेन जी विद्रोहले आजको स्थान लिएको हो । 

हाइज्याकमा त अझ कम्युष्टि नामको नाङ्लो व्यापारी प्रकृतिको (क्रान्तिकारी) पार्टीहरुको मुद्धा बनेको छ । समाजको समस्याहरुको उठान गर्न नसक्ने पार्टी र सिद्धान्तहरुको अब औचित्य के होला ? क्रान्तिकारी हुनु र नहुनुले के असर गर्ला ? राजनीतिक दलबाट आन्दोलन हाइज्याक हुनुभनेकै विचारमा संकट आएर हो । 

जेन जी आन्दोलन हाइज्याक 
सामाजिक सञ्जाल माथिको अङ्कुश र सुशासनको माग सहित अघि सारेको जेन जी आन्दोलन सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यि मन्त्रीमण्डल विस्तार हुदा र यो आलेख तयार गर्दासम्म हाइज्याक भइसकेको छ । त्यसको ज्वलन्त उदाहरण प्रधानमन्त्रीको सपथग्रहणको भोली पल्ट मध्य रातमा प्रधानमन्त्री निवास अगाडी जेन जी आन्दोलनको अगुवा सुदन गुरुङले प्रधानमन्त्रीको राजीनामा माग्नुले प्रष्ट गरेको छ । भदौ २३ गत्ते विशुद्ध जेन जीहरुको आन्दोलन थियो । त्यसमा कुनै शङ्का छैन । तर भदौ २४ गत्ते मिनेट–मिनेटमा आन्दोलनले नयाँ रुप लिदै गयो । आफूलाई जेन जी आन्दोलनको सर्वमान्य ठान्ने बालेनले गरेको आग्रहसमेतले काम गरेनन् ।

देशको मुख्य सरकारी अड्डाहरु (सिहदरवार, राष्ट्रपति कार्यालय, सर्वाेच्च अदालत, संसद भवन) मा दन्केको आगोको ज्वाला देखेर आत्तिएका नागरिकहरुले आन्दोलन सम्हाल्न सामाजिक सञ्जालबाटै आग्रह गर्यो । ढिलो गरी बालेनले लेखेको स्ट्याटसले समेत भिडलाई नियन्त्रण गर्न सकेन । आन्दोलनको रुप चोरी, डकैती र लुटपाटसम्ममा परिणत हुन पुग्यो । राति १० बजेबाट सेना परिचालन भएपछि मात्रै स्थिति केही सम्हालिय । अन्तरिम सरकारको प्रधानमन्त्रीेले सपथ नलिदासम्म भएका गतिविधिहरुले आन्दोलन जेन जीहरुबाट अर्के तत्वहरुले हाइज्याक भयो भन्नलाई अनुमान गर्न गाह्रो थिएन, भएन । भाद्र २३ गत्ते देखि २५ गत्तेसम्म संविधाननै हाइज्याक हुने पो हो कि भन्ने त्रास आम नागरिकहरुमा रहिरह्यो । सुशीला कार्कीले प्रधानमन्त्रीको सपथ ग्रहण गरेपछि कम्तिमा संक्रमण र हाइज्याक छ महिनालाई रोकिएको छ । 

नेतृत्वमा हाइज्याक 
देशको प्रमुख दलहरु काङ्ग्रेस, एमाले र माओवादीले ६२÷६३ पछि हालको व्यवस्थालाई उन्नत व्यवस्था भन्दै आएको छ । भाद्र २४ गत्ते (सिहदरवार, संससद भवन, सर्वाेच्च अदालत, राष्ट्रपति निवास) कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा लागेको आगोको मुस्लोले परिवर्तन हाइज्याकको राम्रै सङ्केत गर्याे । त्यसका पछाडी राजनीतिक दलहरुको देखिने कमिकमजोरीहरु पक्कै छ । मुख्यतय,  देउवा, ओली र प्रचण्ड फोवियाबाट आक्रान्त बनेका नागरिहरुलाई साच्चै परिवर्तनको अभास गराउन जरुरी र चुनौती थियो । शीर्ष तीन नेताभन्दा बाहिर नेतृत्व नजाने प्रवृतिले नागरिकहरुमा असन्तुष्टिको पहाड निर्माण भैसकेको थियो । नेतृत्वको भजनमण्डीलले गाउँनेहरु उत्तिकै दोषि छन् । दलभित्रकै नेता तथा कार्यकताहरुले विषय उठान गरेमा कारवाही वा पार्टी छोड्न बाध्य बनाउने परिस्थिति देखैको हो । यी सबै असुन्तुष्टिको भडास पार्टी भित्र गुम्सिएकै थियो । जेन जी विद्रोहले अहमताको भडास फुटालिदिएको छ । अब त्यसको लागि दोस्रो तहका नेताहरुले नेतृत्व हाइज्याक गर्ने समय आएको छ । भलै पार्टीको आफ्नै पद्धति, विधि र विधानहरु रहेको छ । सकेसम्म विधि र पद्धपितबाटै हाइज्याक गर्ने नभए अन्तरिम व्यवस्थानै गरेर भएता पनि नेतृत्व हाइज्याक गर्ने समय आएको छ । आजको जेन्न जी आन्दोलन र दुर्घटना नेतृत्वहरुमा देखिएको सामान्तवादी सोच र व्यवहारकै परिणाम हो । तर नेताहरु त्यसबाट मुत्त हुन सकेको छैन । 

माओवादी केन्द्रको अध्यक्ष प्रचण्डले जेन्जी आन्दोलनमा जलेको पार्टी कार्यालय अघि उभिएर भने, हामी यो भन्दा भव्य पार्टी कार्यालय बनाउँछौ । कम्युनिष्टहरुको सिद्धान्तमा विचार प्रधान र अन्य पक्ष साहायक हुन्छन् भनेर प्रशिक्षित गर्ने नेताको मुखबाटै यस्तो उक्त्ति सुनिनुले पार्टी भित्रको विचारको संङ्कटलाई राम्रै उजागर गराउन सहयोग गर्दछ । अर्काे तर्फ देउवा र ओलीले पनि सहजै नेतृत्व छोड्न नखोज्नुको पछाडी समस्या वैचारिक भ्रष्टिकरणमै हो भन्न गाह्रो नपर्ला । 

अहङ्कार छाडेर, राजनीतिक दलहरुले आफूलाई नयाँ ढङ्गले प्रस्तुत गर्नुपर्ने समय आएको छ । विचारविहिनता राजीतिमा कल्पना समेत गर्न सकिदैन । तर सधै आन्दोलनको व्याज खाएर अबको राजनीतिक दलहरु चल्न सक्दैन । त्यसको लागि वहस र पुस्ताहस्तान्त्रण आजको एक मात्र आवश्यकता हो । होइन भने विचारहरु सङ्गठीत हुन्छन् अर्काे ठाउँमा ध्रुविकरण हुने प्रकुयामा जान्छ । त्यति बेला पछुताउनुको खास अर्थ नहोला । त्यसैले दोस्रो पुस्ताले नयाँ विचार सहितको नेतृत्व हाइज्याक गर्दै राजनीतिक दलहरुलाई युग सुहाउदो मोडलमा अघि बढाउनुको विकल्प छैन । 

उत्पीडित समुदायको मुद्धा हाइज्याकको भय 
जेन जी आन्दोलन पश्चात संविधान र व्यवस्था परिवर्तनको विषय पनि राम्रै उठ्यो । जेन जीहरुकै बलमा देशलाई हाइज्याक गरेर प्रतिगमनमा लाने प्रयत्न पनि राता रात नभएको होइन । तर त्यो प्रकृया हालललाई सकिएको छ । कम्तिमा फागुन २१ सम्मलाई यो संविधान र व्यवस्था हाइज्यकबाट बचेको छ । नेपालको संविधान २०७२ ले महिला, दलित, मधेशी, जनजाति, अल्पसङ्ख्य, उत्पिडित समुदाय तथा पिधमा पारिएको वर्गको अधिकार प्रष्ट किटान गरेको छ (भलै त्यो अप्रयाप्त छ) । नेपालको इतिहासमा उत्पीडित समुदायको पक्षमा बनेको पहिलो संविधान हो । यो उपलब्धि हासिल हुनुको पछाडी दश वर्षे माओवादी जनयुद्ध र ०६२÷०६३ को आन्दोलनको मुख्य भुमिका रहेको छ । 

परिवर्तन या प्रतिगमनको नाममा उत्पीडित समुदायको मुद्धा हाइज्याक हुने अवस्था आयो भने उत्पीडित समुदायले कुनै न कुनै रुपमा सङ्घर्ष गर्नुपर्ने दिन टाढा छैन । एक थरी मान्छेहरुलाई उत्पीडित समुदायलाई दिएको अधिकार प्रति इष्याभाव सुरुदेदिनै छ । परिवर्तनको नाममा उत्पीडित समुदायको मुद्धा हाइज्याक भयो भने देश अर्काे संकटमा जान्छ । त्यतिबेला त्यसको सामाधान देशको राजनीतिक दल र व्यवस्थाले मात्रै पनि गर्न सकिदैन न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालिले सक्छ ! हाम्रो जस्तो बहुजाति, बहुभाषी, बहुसंस्कृति भएको मुलुकमा राजनीतिक दलको विकल्प अरु हुन सक्दैन । त्यसैले पविर्तन र विकासको नाममा पिधामा पारिएको समुदायको मुद्धालाई हाइज्यका गर्नुभनेको देशमा अर्काे संकटको अवस्था निम्त्याउनु हो । यसबाट विशेषगरी समय–समयमा राज्य सत्ताको अपनत्व लिन खोज्नेहरुले विषय र मुद्धा गहिरो गरी बुझ्न जरुरी छ । विना मुद्धा, विचार र एजेण्डाको आन्दोलनले छोटो समयलाई उपलब्धि हासिल गराउला तर दिर्घकालीन अवस्थामा भने पुराउँन सकिदैन । त्यसको लागि विचार, सिद्धान्त र मुद्धानै प्रधान हुन्छ । 

 

images
प्रकाशित मिति :आश्विन २७, २०८२ सोमवार - ०९:५१:४८ बजे

देवराज गुरुङ

लेखक देवराज गुरुङ राजनितिक विश्लेषक हुन् भने इच्छाकामना न्युजका सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology