Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

ल्होसार मौलिकतामा लचकता

ल्होसार मौलिकतामा लचकता

माया कोन्मे गुरुङ

१७, पौष २०८१
ल्होसार मौलिकतामा लचकता

तमू समुदायमा अहिले नयाँ ल्हो(वर्ग)को आगमन भइसकेको छ। देश विदेशमा रहेका सबै तमू समुदायहरु विभिन्न कार्यक्रमहरु गरेर हर्षोलास  र उमंगको साथ ल्होसार मनाए।  तमूहरु प्राचिनकाल देखि नै समुहमा बस्न रुचाउने भएकोले जुनसुकै कार्यहरु पनि सामुहिकतामा नै गर्न रुचाउँछन्। त्यसैले ल्होसार पर्व पनि समुहमा नै मनाइने गरेको पाइन्छ।

images

मुख्यत तमूहरु ल्होसार पर्व  किन मनाउने गर्दछन् ? हामीले यो  विषयमा पनि आगामी दिनहरुमा विचार विमर्श गर्न जरुरी छ। मानव सभ्यताको विकासक्रमसंगै जति पनि संस्कृतिहरु विकसित भएको छ त्यो कुनैकुनै तवरले प्रकृतिसँग जोडिएको पाइन्छ। ल्होसार मनाउनु कारण पनि प्रकृतिमा आएको ऋृतु (मौसम) परिवर्तनमा आधारित छ। प्रकृतिमा आएको परिवर्तनसंगै सस्कृतिहरु आएको हुन्छ। संस्कृति भनेको जीवन जिउने पाटोलाइ सहज बनाउनको लागि आउने गर्दछ। मौसम अनुसार समय फरक हुन्छ। मौसम अर्थात ऋतु परिवर्तन संगै समय पनि परिवर्तन हुँदै जान्छ। ल्होसार (पुस पन्ध्र) देखि दिन लामो र रात छोटो हुँदै जान्छ। यही दिनलाइ आधार मानेर हामीले ल्होसार मनाएको बताउनु हुन्छ हाम्रा अग्रज खेगी चिवाहरु।

अग्रज चोगी ठाकुरजँग तमू भन्नुहुन्छ ‘१२ जना खेहरुले रेकु तालमा हाम्रो ९ जना महागुरुहरुको घोर तपस्या गरेपछि उहाँहरु खुशी भएर ९ महागुरुहरुको अंग, शक्ति तत्व  ८ पार्ग ९ वाणहरु एक एक वटा ल्हो प्राप्त भएको दिन हो। यसरी नै तमू समुदायमा ल्होको सुरुवात भएको थियो।’

तमू समुदायमा ल्होको एकदमै ठूलो महत्वपूर्ण भुमिका रहेको हुन्छ। त्यसकारण ल्हो तोवको समयलाइ तमूहरुले बडो उल्लासको रुपमा मनाइरहेका हुन्छन् । तमूहरुले आदिमकालदेखी मनाउदै आएको ल्होसारको दिन पछि गएर विक्रम संम्वत अनुसार पुस पन्ध्र गते पर्न गएको हुनाले कालन्तरमा आएर ल्होसारलाइ पुस पन्ध्रको नामले पनि चिनिन थाल्यो। तर तमू समुदायले मनाएको ल्होसार वि.स. को महिना वर्ष सुरु गर्नुअघी देखि नै मनाउदै आएको हो। एकल राज्यसत्ताको अतिक्रमणमा परेर हाम्रो भाषा संस्कार संस्कृतिहरु पनि ओझेलमा पर्दै गएको देखिन्छ। हामीले पुस पन्ध्र भनेर पनि मान्न पुग्यो। जस्तै कतिपय गुरुङ गाउको नामलाइ नेपाली भाषामा नामकरण गरिए ल्होसार पनि त्यस्तै भयो । पुस पन्ध्रको गुरुङ मिथसँग कुनै सम्बन्ध छैन। तमुहरुको महान ल्होसार पर्व ल्हो फेरिने बेलामा मनाउदै आएको हुनाले  ल्होको सम्बन्ध पौष पन्ध्रसंग नै छ त ? यो गहिरो अनुसन्धानको विषय हो  ।

तमु समुदायमा ल्हो (वर्ग) को एकदमै महत्वपूर्ण स्थान छ। तमुहरुको १२ वटा ल्हो हुन्छ।  हरेक वर्ष ल्हो फेरिन्छ । अर्थात पुस १४ गते १२ वजे अगाडि एउटा ल्होलाइ विदाइ गरेर अर्को ल्होलाइ स्वागत गरिन्छ। यसरी ल्हो फेरिदा एउटा ल्होले अर्को ल्होलाइ नकारात्मक असर पनि पुग्न सक्छ। त्यसैले आउने ल्होले अरु ल्होलाइ असर नगरोस भनेर खेगी गुरुहरु पच्यु, क्लेहेप्री लमहरु त्हें (पुजाआजा) गरी रिपा लगाएर स्याइस्याइ गरिन्छ। अनि सामुहिक रूपमा स्योँकै खाने गरिन्छ। यो समयमा तमूहरुको  ल्हो फेरिने (नयाँसाल) भएको कारण विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु गरेर तमूहरुले ल्होसार मनाइन्छ।

अहिले आएर हामीले कुन पहिरन या कपडालाई तपाईं हामीले मौलिकता मान्ने ? हामी त कहिले झिलिमिली कुचिङको चोली सितार र जरी हालेको घलेक र रंगीविरगी पछ्यौरा ढकमक्क सुन गहनाले छोपिएर नयाँ पिढीलाइ मौलिकताको परिभाषा दिइरहेको हुन्छ। एप्प्लको सिक्स्टिन प्रो म्याक्स र म्याकबुक हातमा लिएर नोकिया नै ठिक हो भनेर भाषण गरिरहेको हुन्छौ। टेबलमा क्यापचिनो कफी, रेड भेल्भेट ब्ल्याक फरेस्ट केकको स्वाद लिदै रैथाने लोकल खानाको वर्णन गरिरहेको हुन्छौं।

ल्होसार समयमा तमू समुदायहरुमा विभिन्न विषयमा छलफल र बहस पनि भैरहेको छ। बहस हुनु यो समयको आवश्यकता पनि हो। विशेष गरि तमूहरुले लगाउने पराम्परागत मौलिक पहिरन अहिलेको नयाँ  युवायुवतीहरुले  परिमार्जन गरेर भड्किलो रूपमा  लगाउनु अर्थात एकरुपता नभएको कुराहरु आइरहेको छ ।
      
खासमा तमुहरुले लगाउने मौलिक पहिरन के हो त ? ढुँगेयुग (जँगली) मा हाम्रा पुर्खाहरुले के लगाउने गरिन्थ्यो?
जब तमूहरु कृषि युगमा प्रवेश गरे । समयको गतिशीलतासँगै  त्यतिबेलाको परिस्थिति र अवस्थाले जब शरीर ढाक्ने वस्तुको आवश्यकता महसुस गरियो त्यसपछि मानिसहरू लुगा लगाउन सुरुवात गरिएको हो। पहिले तमुहरुले  आफै कपडा तयार गर्दथे। प्रकृतिमा पाइने विभिन्न खालको रुख बिरुवाहरुबाट कपडा तयार पार्दथे। कपैको भुवालाइ घरमा ल्याएर चर्खामा बेरेर धागो बनाउने त्यसपछि त्यो धागोको लाछीलाइ हिलोमा गाडेर राख्निथ्यो । अनि केहिदिनपछि निकालेर त्यही धागोलाई तानमा बुनेर स्याबा घलेक, एकपटे क्रमु चोलो फरिया जस्तो कपडाहरु तयार पारिन्थ्यो। भेडाको उनबाट राडीपाखी बख्खु बनाइन्थ्यो। सिस्नोबाट भांङ्रा इत्यादि।

अहिले आएर हामीले कुन पहिरन या कपडालाई तपाईं हामीले मौलिकता मान्ने ? हामी त कहिले झिलिमिली कुचिङको चोली सितार र जरी हालेको घलेक र रंगीविरगी पछ्यौरा ढकमक्क सुन गहनाले छोपिएर नयाँ पिढीलाइ मौलिकताको परिभाषा दिइरहेको हुन्छ। एप्प्लको सिक्स्टिन प्रो म्याक्स र म्याकबुक हातमा लिएर नोकिया नै ठिक हो भनेर भाषण गरिरहेको हुन्छौ। टेबलमा क्यापचिनो कफी, रेड भेल्भेट ब्ल्याक फरेस्ट केकको स्वाद लिदै रैथाने लोकल खानाको वर्णन गरिरहेको हुन्छौं।

समय परिवर्तनशिल छ। त्यही परिवर्तनशिल समयसँगै मौलिकता पनि गतिशील हुँदै जान्छ। अलिकति हामी पनि खुकुलो हुँदै जानुपर्छ। किनकी अहिले हाम्रा नयाँ पिढीको लागि। त्यसैले  पुरानै रटान लगाएर मात्रै मौलिकता जोगिदैन। केही गतिशीलता र फराकिलो सोच लिएर अगाडि बढ्न सकेनौँ भने कालन्तरमा गएर हामी पनि डाइनोसर जस्तै लोप हुँदै जान्छ। किनकी अबको जेनेरेसन नेपालमा मात्रै सिमित छैन । विश्वब्यापी रुपमा तमुहरु छरिएर रहेको छ।  मौलिकता पनि गतिशील हुन्छ भनेर बुझ्नु आवश्यक छ ।

धेरै अग्रजहरुको चिन्ता भनेको तमू समुदायमा वैचारिकताको अभाव भयो भन्ने छ । यो एकदमै सही कुरा हो। तमूहरु वैचारिकतामा एकदमै पछाडी परेको देखिन्छ। यो अकाट्य सत्य कुरा हो। तर हामीले कतिबेला वैचारिकताको कुरा गर्ने त? कुन समयमा वैचारिक विमर्श गर्ने ? किन ल्होसारको वरिपरि आएर मात्रै हामीलाइ वैचारिकता अभावको महसुस हुन थाल्छ। ३६४ दिन हामी के सोचिरहेको छौ त? मेरो बुझाई भनेको समस्या हुनु भन्दा पहिले नै त्यसको छलफल गर्नु उपयुुक्त हुन्छ । समस्या पर्दा गरिएको बहसले सोच जस्तो परिणाम नआउन सक्दछ । अर्घुम गर्दा (दुख पर्दा) अर्घुमबारे बहस नै गर्नु  हुदैन भन्ने त होइन । तर उपयुक्त भने हुदैन । बरु अर्घुम पहिले नै गरिएको योजनाबद्व शान्त बहस छलफल प्रभावकारी हुन्छ । अर्घुम गर्दा पितृलाई कसरी सिमि नासा पु¥याउनेबारे केन्द्रित हुनु मुख्य प्रथामिकता हो । तर अरु बेला भने हामी अर्घुमबारे बहस विमर्श गर्न चाहन्नौं। त्यसरी नै ल्होसारमा मुख्य रुपमा प्रकृति र ल्होमा आउने परिवर्तनको असरबाट हामी आफुलाई बचाउने वा अनुकुलता प्राप्त गर्ने हो। त्हें गर्ने, स्योकैं खाने, सामुहिकता मनोरञ्जन गर्ने हो । यो बेला वैचारिक बहस गर्नै हुन्न भन्ने त होइन । तर ल्होसारको मुलभुत कुरा बिर्सेर कार्यक्रम गर्नुको अर्थ छैन । अर्घुमको कुरामा झै ल्होसार सम्बन्धि बहस योजनाबद्व तरिकाले पहिले नै गर्नु उपयुुक्त  छ । तर अरु दिनमा हामी वैचारिक कुराको आवश्यकता ठान्दैनौं । यो विडम्बनाको कुरा हो ।

यसलाई युवा नयाँ पिढीहरुले कसरी लिइरहेको छ? उनीहरु यो पर्वलाइ कसरी मनाउन चाहन्छन् त्यो पनि बुझ्न जरुरी छ। यसै सन्दर्भमा पुस १३ गते तमु प्ये ल्हु सँघ चितवन जिल्ला कार्यसमितिले राखेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा ल्होसार पर्वलाइ कसरी मनाउन चाहन्छन् भनेर केही युवायुवतीहरूसँग भलाकुसारी गरेको थिए। उनीहरु सबैले अरु बेला सबै आ–आफ्नो पेशा, पढाइतिर व्यस्त हुनुपर्ने हुनाले ल्होसार पर्वमा मौलिकतालाइ ध्यानमा राखेर नाचगान खानपिन रमाइलो गरेर मनाउन चाहने इच्छा व्यक्त गरेका थिए। उनीहरुले ३६५ दिनमा एक दिन हाम्रो मौलिक चाड ल्होसार पर्व आउछ। यसलाइ एकदमै सभ्य भव्य र उल्लासको साथ मनाउन चाहेको कुरा व्यक्त गरे। हरेक मौलिकता गतिशील हुन्छ। त्यसैले पुरानै कुरालाइ मात्रै रटान गरेर मौलिकता जोगाउन झन् हामीलाई गार्हो हुन्छ। त्यसैले अहिलेको समयम र परिस्थिति अनुसार हामीले पनि लचकता अपनाउन जरुरी हुन्छ।

पहिले हामी सिमित श्रोत साधनको सिमितता हुन्थ्यो। हामी एकै ठाउँमा सामुहिक रूपमा बसोबास हुन्थ्यो। त्यतिबेला ल्होसार पर्व मनाउन स्योंकै खानको लागि एकैदिनमा सम्भव थियो । ल्होसारकै दिनमा आफन्त छरछिमेक मिलेर स्योंकै खाने गरिन्थ्यो। तर अहिले त विश्व नै सानो भएको छ। एउटै व्यक्ति अनेक ठाउँमा जोडिएको हुन्छ। त्यसैले हरेक समुह संस्था टोल  छिमेकसँग सम्बन्धित हुन्छ। त्यसैअनुरूप एकै दिनमा स्योँकै खाएर मनाउन सम्भव हुदैन  । त्यही कारणले ल्होसारको दिन  बाहेक पनि स्योँकै खानु रहर भन्दा बाध्यता हो । यसलाई पनि हामीले गतिशीलता भनेर बुझ्नुपर्दछ। ल्होसारको दिनमा मात्रै स्योँकै खानुपर्छ त्योभन्दा अघिपछि पनि खानु विकृती हो भन्नू अलि उपयुक्त नहोला कि ? खासमा  मौलिकता के हो बुझ्न जरुरी छ । नत्रभने हाम्रो विचार सुगा रटाइ जस्तो हुन्छ।  कागले कान लग्यो भन्दैमा कागको पछाडी दौडिने होइन पहिले कान छाम्नुपर्छ।

अन्त्यमा,  तमु समुदायमा वैचारिकताको खाडल छ । कुनै समारोह, चाडपर्वहरुको आफ्नै उद्देश्य हुन्छन् । त्यो बेला गरिएको बहसले खासै प्रभावकारी हुदैन । हामीले वैचारिक खाडललाई पुर्न अरु बेला शान्त, फराकिलो तरिकाले गर्दा धेरै प्रभावकारी हुन्छ । मौलिकता गतिशील हुन्छ । चाडपर्व, समारोह बाहेक अरु बेला हाम्रो धेरै समय हुन्छ । त्यो बेला तमू संस्थाहरुले बहसलाई प्रथामिकता दिने कि ?

images
प्रकाशित मिति :पौष १७, २०८१ बुधवार - ११:१०:३२ बजे

माया कोन्मे गुरुङ

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology