Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सन्दर्भ लखन थापाको १४६ औं स्मृति दिवस

राणा शासन विरुद्ध प्रथम जनविद्रोह र  लखन थापा मगरका सहयोद्धाहरू

राणा शासन विरुद्ध प्रथम जनविद्रोह र  लखन थापा मगरका सहयोद्धाहरू

जिवन आले मगर

२, फाल्गुण २०७९
राणा शासन विरुद्ध प्रथम जनविद्रोह र  लखन थापा मगरका सहयोद्धाहरू

राणा शासन व्यवस्था विरुद्ध प्रथम जनविद्रोहः

images

नेपालको इतिहास हजारौँ वीर पुर्खाहरुको त्याग र वलिदानले रक्ताम्य भएको छ। नेपाली वीर वीराङ्गनाहरुको वलिदानीको कारणले नै नेपालले अवच्छिन्न रुपमा आफ्नो सार्वभौमसत्ता स्वतन्त्र रुपमा कायम राख्‍न सफल भएको थियो । त्यसै गरी विभिन्न कालखण्डमा शासकहरुले नेपाली जनताहरुलाई थिचोमिचो गरी अधिकार विहिन बनाएर निरङ्कुश र जनविरोधी शासन व्यवस्था सञ्चालन गर्ने दुष्प्रयास गरे । शासकहरुका त्यस्ता हर्कत विरुद्ध नेपाली जनताहरुले निरन्तर रुपमा सङ्घर्ष गरी शहादत प्राप्त गरे । आजको स्वतन्त्र,  सार्वभौमसत्ता सम्पन्न  र लोकतान्त्रिक शासन व्यवस्था सहितको नेपाल, नेपाली जातिको गौरवको निशानी हो ।

नेपाली जनताहरुलाई अधिकार विहीन तुल्याएर शोषण, अत्याचार र थिचोमिचो गरी वि.स. १९०३ देखि २००७ सम्म कायम रहेको निरङ्कुश जहानियाँ राणाशासनको समय नेपालको इतिहासमा कालरात्रीको अँध्यारो युग" को रुपमा रहेको थियो । यस्तो अत्याचारी शासन व्यवस्थाको सुत्रधारकर्ता थिए वीरनरसिंह कुँवरजङ्ग बहादुर राणा)। उक्त जन-विरोधी राणा शासन व्यवस्था विरुद्ध राजनैतिक सङ्गठन गरी विरोध गर्ने पहिलो व्यक्ति थिए लखन थापा मगर ।

वि.सं. १८९१ मा गोरखा जिल्लाको हालको शहिद लखन गाउँपालिका वडा नं ७ काहुले भङ्गार, बुंकोटमा जन्मिएका लखन थापा मगर नेपाली सेनाको 'पुरानो गोरख गण' (मगर पल्टन) मा भर्ना भई कप्तान सम्म भएका थिए । सेनामा रहँदा उनले जनविरोधी जहानियाँ निरङ्कुश राणा शासन व्यवस्था र तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले नेपाली जनताहरु माथि गरेको थिचोमिचो र शोषणनजिकैबाट बुझ्न पाएका थिए । त्यसैले उनको मनमा राणा विरोधी भावना प्रवल हुँदै गयो । तर सैनिक विद्रोहबाट राणा शासनको अन्त्य र प्रजातान्त्रिक शासन व्यवस्थाको स्थापना तत्कालै सम्भव नभएको निष्कर्ष निकाले । तसर्थ उनी वि.सं. 1927 मा सैनिक सेवा त्याग गरी नेपाली जनताहरुलाई राणातन्त्र विरुद्ध सचेतना प्रदान गरी जनसङ्गठन गर्ने कार्यमा क्रियाशिल भए ।सङ्गठित नेपाली जनताहरुको सहयोगमा गोरखा जिल्लाको हालको शहिद लखन गाउँपालिका वडा नं ७, बुङ्कोटको काहुले भङ्गार भन्ने स्थानमा लखन थापा मगरले राणाशासन विरुद्ध बलियो किल्ला (गढी) निर्माण गरे।

तत्कालीन समयमा लखन थापा मगरलाई करिव दुई हजार नेपाली जनताहरुले साथ दिएका थिए ।वि.सं. 1932 चैत्र ३१ गते प्रजातान्त्रिक शासन सञ्चालनको राजनीतिक घोषणापत्र जारी गरी राणाविरोधी अभियानमा सक्रिय जनताहरुले लखन थापा मगरको नेतृत्वमा जङ्गबहादुर राणाको सरकार विरुद्ध समानान्तर  जनसरकार र जनसेनाको घोषणा गरे। यो कार्य जङ्गबहादुरको सत्ता विरुद्ध ढाडो चुनौती थियो भने उनको सरकार विरुद्ध जनस्तरबाट गठित पहिलो वैकल्पिक सत्ता पनि थियो । यो जनसरकारको प्रमुख लक्ष्य नेपालमा निरंकुश जहानियाँ राणा शासनको समूल अन्त्य गर्ने, नेपाली जनताहरुलाई राज्य शक्तिको अधिकार प्रदान गरी प्रजातान्त्रिक शासन व्यवस्थाको स्थापना गर्ने भन्‍ने थियो । घटना नेपालको इतिहासमा राणातन्त्र विरुद्ध पहिलो जनविद्रोह थियो ।यो जनविद्रोहलाई नेपालको सुरुवाती प्रजातान्त्रिक आन्दोलन पनि थियो ।

गोरखामा राणा शासन विरुद्ध लखन थापा मगरको नेतृत्वमा जनविद्रोह भएको खबर सरकारी संयन्त्र मार्फत् तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणा समक्ष पुग्यो ।देवीदत्त पल्टनको तीन रेजिमेण्ट सैनिक गोरखा परिचालन गरी विद्रोहीहरुलाई पक्राउ गरेर यातनापूर्वक काठमाडौँ पुर्‍याइयो । उनीहरुलाई थापाथली दरवारमा राखेर निर्ममता पूर्वक कोर्रा र नेल हानी चरम यातना दिइयो । राणा शासकसामू आत्मसमर्पण गर्न अस्वीकार गरेपछि लखन थापा मगर सहित सात जना मुख्य विद्रोहीहरुलाई फाँसी दिने आदेश सुनाइयो । सोही वमोजिम उनीहरुलाई गोरखाको उनीहरुकै किल्ला परिसरमा वि.सं. १९३३ मा झुण्ड्याइयो । यसरी एकैदिन नेपाल आमाका ७ जना क्रान्तिकारी योद्धाहरुले शहादत प्राप्त गरे । जसको स्मृतिमा हरेक वर्ष फागुन २ गते सरकारी र जनस्तरवाट कार्यक्रम गरी प्रथम जनविद्रोहमा शहादत प्राप्त गर्ने लखन थापा मगर लगायतका शहीदहरु र योद्धाहरुको योगदानलाईलाई सम्झना गरी उनीहरुलाई  सम्मान गरिन्छ ।

लखन थापाका सहयोद्धा तथा अन्य शहीदहरूः

नेपालका प्रथम शहीद लखन थापा मगरको नाम र विद्रोह वारे केही जानकारी भएपनि उनका सहयोद्धाहरुको वारेमा अझैपनि आम सर्वसाधारण मानिसहरूमा खासै जानकरी रहेको पाइँदैन । त्यतिवेला राणा शासन व्यवस्था विरुद्ध नेपाली जनताहरुको सहभागितामा भएको प्रथम जनविद्रोहमा लखन थापा मगरलाई साथ दिने प्रमुख व्यक्तिहरु को- को  थिए त भन्‍ने जिज्ञासा रहनु स्वाभाविक नै हो ।

राणा शासनको विरोधमा त्यतिवेला गठित जनसरकारको प्रमुख वा प्रधानमन्त्री लखन थापा मगरलाई बनाइएको थियो भने जनसेनाको जनरल वा सेनापतिको जिम्मेवारी जहरे(जयसिंह) चुमी राना मगरलाई दिइएको थियो । त्यसैगरी जीतमान गुरुङ्ग, विराज थापा मगर, जुठ्‍या थापा मगर र झिल्केकुराल राना मगरलाई जनसेनाको कर्णेल र चेत बहादुर श्रेष्ठलाई क्याप्टेन बनाइएको थियो । त्यसैगरी पलसिं अछामी थापा मगर, अजपसिंह थापा मगर, कालु(कानु) लम्साल, सुकदेव गुरुङ्ग, सुपति गुरुङ्ग र सन्त ज्ञानदिल दास जनसरकारको सदस्यको रुपमा महत्वपूर्ण जिम्मेवारी प्रदान गरिएको थियो ।

राणा शासनकालको नेपालको ऐतिहासिक घटनाक्रम र इतिहासकार तथा खोजकर्ताहरुले प्रस्तुत गर्नुभएको तथ्यलाई विश्लेषण गर्दा लखन थापा मगर सँगै उक्त प्रथम जनविद्रोहमा ७ जना नेपाल आमाका सपूतहरुले शहादत प्राप्त गरेको पाइन्छ ।इतिहासकार महेशचन्द्र रेग्मीले रेग्मी रिसर्च सेरिजमा उल्लेख गरे अनुसार यसरी शहादत प्राप्त गर्ने अन्य पाँच जना योद्धाहरु जहरे (जयसिंह) चुमी राना मगर, जीतमान गुरुङ्ग, विराज थापा मगर, जुठ्‍या थापा मगर र अजपसिंह थापा मगर थिए । त्यसैगरी लेखक तथा खोजकर्ता मुक्ता श्रेष्ठले लखन थापा सँगै एकजना अछामी मगरले पनि शहादत गरेको तथ्य नवयुवा वर्ष १, अंक १० मा आफ्नो ऐतिहासिक लेख मार्फत् प्रष्ट गरेका छन् । सोधखोज र गरी गोरखाको शहीद लखन गाउँपालिका वडा नं. ७, काहुले भङ्गारका स्थानीय बुढापाका र सरकारी अभिलेखबाट उक्त अछामी मगरको नाम पलसिं अछामी थापा मगर भएको वुझिन आएको छ ।

तत्कालीन समयमा शहादत प्राप्त गर्ने ७ जना शहीदहरु मध्ये प्रथम शहीद लखन थापा मगर राखाल गोत्रको थापा मगर भएको र उनका सन्ततिहरु हाल भारतको दार्जिलिङमा बसोवास गर्ने गर्दछन् । गोरखामा लखन थापा मगर लगायतका प्रजातान्त्रिक योद्धाहरुलाई फाँसी दिइसकेपछि लखन थापाका सन्ततिहरु सुरक्षा जोखिमको कारणले भागेर तेह्रथुम जिल्लाको कोवेक हुँदै भारतको दार्जिलिङमा स्थानान्तरण भई त्यहीँ स्थायी वसोवास गरेको पाइन्छ । शहीद जयसिंह चुमी राना मगरका सन्ततिहरु अहिले पनि काहुले गाउँमा नै वसोवास गर्दै आएका छन् भने शहीद पलसिं अछामी थापा मगरका सन्ततिहरु भङ्गार गाउँमा रहेका छन् । अन्य चार जना शहीदहरु जुठ्‍या थापा मगर, अजपसिंह थापा मगर, जीतमान गुरुङ र विराज थापा मगरको सन्ततिहरुको सम्बन्धमा भने हालसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन ।

प्रथम जनविद्रोहमा शहादत प्राप्त नगरे पनि तत्कालीन जनसरकार र जनसेनामा सक्रिय रहेका प्रमुख व्यक्तिहरुमध्ये हालसम्म सन्त ज्ञानदिलदास, सुकदेव गुरुङ, सुपति गुरुङ, कालु लम्साल, झिल्के कुराल राना मगर र चेत बहादुर श्रेष्ठको बारेमा केही जानकारी हासिल हुन सकेको छ । सन्त ज्ञानदिलदास ओखलढुंगाको रुम्जाटारमा बसी  जोसमनी धर्मको प्रचारमा लागेका थिए । उनी लामिछाने थरका ब्राह्‍मण थिए । तापनि समाजमा रहेको जतीय भेदभाव र विकृति विसंगतिका विरोधी थिए । समाज सुधारको लक्ष्य वोकेको उक्त जोसमनी धर्मवाट लखन थापा मगर पनि दिक्षीत भएका थिए । त्यसैगरी प्रथम जनविद्रोहमा सक्रिय जनयोद्धाहरु सुकदेव गुरुङ र सुपति गुरुङले लखन थापा मगर लगायतका योद्धाहरुलाई फाँसी दिइसकेपछि पनि आफूलाई नौ सरकार वौद्ध वादशाह घोषणा गरी राणा शासनको विरोध गरेका थिए । संस्कृतिविद् जगमान गुरुङका अनुसार सुकदेव गुरुङ गोरखाको सात थर (हालको अजिरकोट गाउँपालिका अन्तर्गत् ताकु सौरपानी देखि उत्तर पूर्वको इलाका) का वासिन्दा थिए ।यसैगरी जनसेनाका कर्णेल झिल्के कुराल राना मगर लखन किल्ला रहेको नजिकैको हाल शहिद लखन गाउँपालिका वडा नं. ६, रानिश्वराका वासिन्दा थिए । उनका पनाति सहितका सन्ततिहरु अहिले पनि सोही गाउँमा वसोवास गर्दछन् । कालु लम्सालका सन्ततिहरु शहीद लखन गाउँपालिकाको वडा नं.७, वुङ्‍कोटको लम्साल गाउँ वरपर वसोवास गर्दछन् भने चेत वहादुर श्रेष्ठका सन्ततिहरु सोही वडाको वकेन्श्वारामा वसोवास गर्दै आएका छन् ।

 अन्त्यमाः

प्रथम शहीद लखन थापा मगरलाई जनस्तरबाट जसरी श्रद्धा र सम्मान गर्ने गरिएको छ त्यसको तुलनामा सरकारी स्तरबाट अत्यन्तै कम सम्मान र प्राथमिकता दिइएको पाइन्छ । त्यसैले सबैभन्दा पहिलो आवश्यकता भनेको उनको बलिदानीपूर्व योगदान र ऐतिहासिक गरिमालाई सिङ्गो राज्य र सत्ताधारी शासकहरुले महत्त्व र प्राथमिकताको विषय बनाउनु पर्दछ । लखनसँगै शहादत प्राप्त गर्ने अन्य छ जना वीर सपूतहरुलाई राज्यले शहीद घोषणा गरी सम्मान प्रदान गर्नुपर्दछ । साथै त्यतिवेला जनविद्रोमा सक्रिय भएका र जेलनेलको सजाय भोगेका क्रान्तिकारी प्रजातान्त्रिक योद्धाहरुलाई 'प्रथम जनविद्रोहका योद्धा ' को उपाधि सरकारी तहबाट नै प्रदान गरिनु न्यायोचित हुन्छ ।

 

images
प्रकाशित मिति :फाल्गुण २, २०७९ मंगलवार - ०९:०३:२३ बजे

जिवन आले मगर

शहीद लखन गाउँपालिका ७ काउले भँगार निवासी लेखक आले शहिद लखन गाउँपालिका गोरखाका प्रमुख प्रशासकीय अधिकृत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology