बन्दीपुर । बन्दीपुर गाउँपालिकाको आयोजना तथा जाईका (IMEN) परियोजनाको सहयोगमा बन्दिपुर गाउँपालिका भित्रका ३१ विद्यालयका प्रधानाध्यापकहरुको लागी ५ दिने नेतृत्व क्षमता विकास तालिम सम्पन्न भएको छ । तालिम जेठ ५ देखि सुरु भएको थियो ।
विद्यार्थीहरुको शैक्षिक कार्य सम्पादनमा सहयोग पु¥याउने क्रियाकलापहरु समावेश तालिम गतवर्षको तालिममा दिइएका विषय वस्तुहरुको कार्यान्वयनको अवस्था बारे अनुभव आदान प्रदानमा केन्द्रित रहेको थियो । तालिममा विद्यालय सुधार योजनामा विद्यालयस्तरमा बिद्यार्थीहरु लक्षित, शिक्षक लक्षित तथा अभिभावक लक्षित क्रियाकलापहरु माथीको छलफल भएको थियो ।
विद्यालयस्तरमा भएका विभिन्न क्रियाकलापहरुको बारेमा छलफल, विद्यालयले गरेका राम्रा अभ्यासहरुको आदान प्रदान गर्दै अब गर्न सकिने क्रियाकलापहरुको छलफल गर्दै त्यस्ता अभ्यासहरुलाई विद्यालय सुधार योजनाको बार्षिक कार्यान्वयन योजनामा कसरी समावेश गर्न सकिन्छ भन्नेमा तालिम केन्द्रित रहेको गाउँपालिका शिक्षा अधिकृत विष्णु खत्रीले जानकारी दिनुभयो ।
तालिम अवधिभर प्र.अहरुबाट अनुभवको आदान प्रदान गर्दै विद्यालय सुधार योजनाको खाका समेत तयार भएको थियो । कार्यक्रमको समापन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले गाउँपालिकाले शिक्षा क्षेत्रलाई विशेष महत्व दिदै आइरहेकोमा बिद्यालयहरुको भौतिक पाटोमा उल्लेख्य लगानी रहेकाले अब शैक्षिक कार्य सम्पादनमा अघि बढ्दै बिद्यार्थीहरुको गुणस्तरीय शैक्षिक सक्षमता विकासमा ध्यान दिन आग्रह गर्नुभयो ।
साथै विद्यार्थी कार्यसम्पादनमा सुधार गर्नमा प्र.अ हरुको मुख्य भुमिका रहेकाले प्र.अले नेतृत्वदायी भुमिका खेल्नुपर्नेमा जोड दिएको बताउनुभयो । तालिम मूलतः फलदायी भएको बताउँदै तालिममा सिकेका ज्ञान तथा सिपलाई उपयोग गर्न पनी सुझाव दिनुभयो ।
साथै प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले पाठ योजनाको प्रयोगमा जोड दिदैँ प्र.अहरुले शिक्षकहरुको पाठ योजनालाइ सुक्ष्म अध्ययन गर्दै आवश्यक पृष्ठपोषण गर्नुपर्ने र निरन्तर कक्षा अनुगमन गर्दै आवश्यक पृष्ठपोषण गर्नुपर्ने उल्लेख गर्नुभयो । तालिमको सहजिकरण शिक्षा विकास तथा समन्वय ईकाइका शाखा अधिकृत विश्व रेग्मी, शिक्षा तालिम केन्द्रका प्रशिक्षक विदुरहरी आचार्य तथा गाउँपालिका शिक्षा अधिकृत विष्णु खत्रीले गर्नुभएको थियो ।