Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

ताप्लेजुङको पाथीभरा मन्दिरमा गत वर्ष तीन करोड १९ लाख भेटी सङ्कलन

ताप्लेजुङको पाथीभरा मन्दिरमा गत वर्ष तीन करोड १९ लाख भेटी सङ्कलन

रासस

१९, भाद्र २०८०
ताप्लेजुङको पाथीभरा मन्दिरमा गत वर्ष  तीन करोड १९ लाख भेटी सङ्कलन
images

ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एक वर्षमा रु तीन करोडभन्दा बढी भेटी सङ्कलन भएको छ । आर्थिक वर्ष २०७९/८० मा रु तीन करोड १९ लाख १६ हजार आठ सय भेटी सङ्कलन भएको हो । नोट पैसा रु दुई करोड ८५ लाख ६२ हजार चार सय ९८, सिक्का सटहीबाट रु आठ लाख १५ हजार छ सय, दाताले बैंकमा जम्मा गरिदिएको रु १४ लाख ५४ हजार चार सय तीन र भेटीवापतको भारु रु १० लाख ८४ हजार तीन सय सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

images
images

समितिका कायकारी निर्देशक मनमणि काफ्लेका अनुसार अघिल्लो आवमा भने रु दुई करोड १४ लाख भेटी सङ्कलन भएको थियो । उनले समितिको कोषमा रु सात करोड ८८ लाख १० हजार दुई सय पाँच जम्मा रहेको बताए । पाथीभरामा चढाइएको सुनचाँदी भने अलग्गै छ । यसलाई तौल गर्ने, गाल्ने र बिक्री गर्ने छुट्टै समिति बनाइएको समितिका सदस्य पृथ्वी पालुङ्वा जानकारी दिए ।

भेटीबाट सङ्कलित रकमले करार र ज्यालादारीमा कर्मचारी व्यवस्थापन, फोहर व्यवस्थापन, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीका लागि खाना, खाजा बन्दोबस्ती गर्ने र समस्या पर्नेलाई उद्धार गर्नेलगायत काम हुने गरेको क्षेत्र विकास समितिले जनाएको छ । समितिले सङ्कलित रकमबाट चालु आवमा माथिल्लो फेदीबाट मन्दिरसम्म फाइबरको ट्रस लगाउने र मन्दिर परिसरमा खानेपानी ट्याङ्की बनाउने निर्णय पनि गरेको छ । सममितिका अनुसार पाथीभरामा ४७ देशको मुद्रा सङ्कलन भएको छ ।

‘फाइवर ट्रस’ लगाइँदै

पाथीभरा मन्दिरबाट माथिल्लो फेदीसम्म फाइवरको छहारी (ट्रस) लगाइने भएको छ । तीर्थयात्रीको सहजताका लागि पाथीभरा मन्दिरको पूजा धामबाट माथिल्लो फेदीसम्म फाइवरको ट्रस लगाउन थालिएको हो ।

हिमपातको समयमा हिउँले बाटो पूरै पुरेपछि यात्रुले कठिन यात्रा गर्नुपर्ने बाध्यता खेप्दै आएकाले पदमार्गमा ट्रस लगाउन थालेको समितिले जनाएको छ । माथिल्लो फेदीबाट मन्दिरसम्मको दूरी दुई हजार चार सय मिटर पर्छ । अहिलेसम्म एक किमी दूरीमा फाइवरको छहारी लगाउने कार्य पूरा भएको छ । बाँकी एक हजार चार सय मिटर दूरीमा फाइबर लगाउने कार्य पूरा गर्ने तयारी गरिएको समितिले जनाएको छ ।

समितिका अनुसार पदमार्गमा फाइवरको छहारी लगाउने कार्य तीन हजार सात सय ९४ मिटर उचाइको मन्दिर क्षेत्रबाट सुरु गरी माथिल्लो फेदीतर्फ विस्तार गर्दै लगिएको छ । समितिका कार्यकारी निर्देशक काफ्लेका अनुसार चालु आवमा सङ्घीय सरकार, प्रदेश सरकार अन्य दाता तथा निकायसँग साझेदारी योजना अघि बढाइने छ । यो कार्य पूरा गर्न पाथीभरा क्षेत्र विकास समितिले आफ्नो खातामा रहेको मौज्दात रकम परिचालन गर्ने योजना बनाएको छ । समितिले अहिले उक्त कार्यका लागि लागत अनुमान तयारीसहितको प्रारम्भिक कार्य अघि बढाएको छ । फाइबरको छहारी लगाउन रु तीन करोड ५० लाख हाराहारी रकम खर्च हुने अनुमान गरिएको छ ।

पदमार्गलाई तीन मिटर चौडाइमा विस्तारसँगै फलामे ट्रस जडान गरी फाइवरको छहारी लगाएको समिति सदस्य पालुङ्वाले बताए । उनका अनुसार पदमार्ग सोलिङ गरिएको छ भने दायाँ–बायाँ रेलिङ लगाएको छ । पदमार्ग नै ढाक्ने गरी हिउँ परेको समयमा पनि तीर्थयात्रीको यात्रालाई सहज बनाउन फाइवरको छहारी लगाएको पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबेले जानकारी दिए । छहारी लगाउने कार्य पूरा भएमा हिउँ र पानी परेको समयमा पनि तीर्थालु मन्दिर दर्शन गरी फर्कन सक्ने समितिको विश्वास छ । अहिले पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म यातायातका साधनमार्फत जान सकिन्छ । काफ्लेपाटीबाट पाथीभरा मन्दिरसम्मको दूरी चार दशमलव पाँच किलोमिटर छ ।

तीर्थालुका लागि सबैभन्दा कठिन बाटो भनेकै माथिल्लो फेदीबाट मन्दिरसम्म पुग्नु हो । माथिल्लो फेदीबाट मन्दिरसम्मको दूरीमा सबैभन्दा बढी हिउँ र पानीको प्रभाव देखिने भएकाले यो क्षेत्रमा फाइबरको छहारी बनेमा तीर्थालुका लागि धेरै सहज हुने पाथीभरा क्षेत्र विकास समितिको बुझाइ छ । अहिले पाथीभरा क्षेत्रमै बास बसेर बिहान मन्दिरको दर्शन गर्न जाने केहीबाहेक अधिकांश माथिल्लो फेदीमा रहने गर्छन् । माथिल्लो फेदीबाट मन्दिरतर्फ भन्दा काफ्लेपाटीबाट माथिल्लो फेदीसम्म हिउँ र पानीको प्रभाव कम हुने गरेकाले तीर्थालुका लागि यो पदमार्ग छिचोल्न निकै सहज मानिन्छ ।

images
प्रकाशित मिति :भाद्र १९, २०८० मंगलवार - १०:३३:२३ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology