देवघाट । यतिखेर देवघाटका किसान सुन्तला बारीमा व्यस्त छन् । सुन्तला टिप्न र बिक्री गर्नमै उनीहरुलाई भ्याइनभ्याई छ । बारीभरि पाकेका सुन्तलाले पाखा नै पहेँलो बनाएको छ । घरको आँगनदेखि भीर पखेरामा समेत सुन्तला पाकेका छन् । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरका अनुसार वडा नं–१, २, ३ र ४ का अधिकांश गाउँमा सुन्तला उत्पादन हुँदै आएको छ ।
चारवटै वडामा सुन्तला उत्पादन राम्रो हुने भएपछि यहाँका स्थानीय पनि सुन्तलाखेतीतर्फ आकर्षित हुँदै आएका छन् । ‘देवघाटलाई धार्मिक क्षेत्रको रुपमा चिनिँदै आएकोमा अब सुन्तलाको पकेट क्षेत्र भनेर चिनिने दिन आउँदै छ’, अध्यक्ष मगरले भने, ‘यसले गाउँपालिकालाई पनि फाइदा पु¥याएको छ ।’
गाउँपालिकासँग यकिन तथ्याङ्क नभए पनि देवघाटमा सबैभन्दा धेरै सुन्तला उत्पादन वडा नं–३ मा हुने गरेको छ । साराङघाट र नाल्बुङबाहेक सबै टोलमा सुन्तला उत्पादन हुँदै आएको वडा नं–३ का अध्यक्ष टेकबहादुर आलेमगरले जानकारी दिए । ‘पछिल्लो समय सुन्तलाखेतीतर्फ आकर्षित हुनेको सङ्ख्या बढेको देखिन्छ’, उनले भने, ‘अहिले ३ नम्बर क्षेत्रको ११ वटा वडामध्ये ९ वटा वडामा राम्रो उत्पादन हुन्छ ।’
पहिले लगाएकाहरुले राम्रो आम्दानी लिन थालेपछि गाउँमा बाँझो बसेको बारीमा पनि सुन्तलाखेती गर्न थालिएको उनले बताए । कतिपय स्थानीय गाउँ छाडेको लामो समयपछि फेरि गाउँ फर्किएका छन् । ‘सुन्तला उत्पादनकै कारण हिजो गाउँ छाडेकाहरु पनि गाउँ फर्किन थालेका छन्’, उनले भने, ‘हाम्रो लागि यो खुसीको कुरा हो । हामीले पनि गाउँ छाड्नेलाई भन्दा गाउँ फर्किनेलाई प्रोत्साहन गरिरहेका छौँ ।’
वडा अध्यक्ष मगरका अनुसार ३ नम्बर वडाबाट मात्रै गत वर्ष दुई लाख ७५ हजार रूपैयाँ राजस्व सुन्तलाबाट मात्रै सङ्कलन भएको थियो । ‘गत वर्ष एक ट्रिप गाडी सुन्तलाबराबर ८०० रूपैयाँ राजस्व सङ्कलन गर्दा पनि पौने तीन लाख रूपैयाँ राजस्व गाउँपालिकालाई प्राप्त भएको थियो’, उनी भन्छन्, ‘यसवर्ष प्रतिट्रिप एक हजार रूपैयाँ तोकिएको छ ।’ किसानका अनुसार सुन्तलाको उत्पादन गत वर्षभन्दा कम भए पनि राजस्व सङ्कलनमा कमी नहुने वडा अध्यक्ष मगरले बताए ।
‘यसवर्ष सुन्तला कम फले पनि क्षेत्र बढ्दै गएको छ । त्यसैले राजस्वमा कमी नआउला’, उनले भने, ‘अझ चार÷पाँच वर्षपछि देवघाट नै सुन्तलामय हुने निश्चित छ ।’ फल्ने बिरूवाको सङ्ख्या बर्सेनि बढ्दै गएको हुँदा भोलि कुनै दिन बजार नपाउला कि भन्ने चिन्तासमेत थपिएको उनको भनाइ छ । किसानले उत्पादन बढाउँदै लगे पनि गाउँमा कृषि प्राविधिक नहुँदा रोगकिराको सङ्क्रमण लागेमा के गर्ने भन्ने विषय सोचनीय भएको उनले बताए ।
‘सुन्तला त सबैले लगाएका छन् । फलाएका पनि छन् । तर, भोलि सुन्तलामा लाग्ने रोगकिराको प्रकोप फैलिए के गर्ने भन्ने विषयमा कृषि प्राविधिक छैन’, उनले भने, ‘त्यसैले गाउँपालिकाले सुन्तला किसानका लागि कृषि प्राविधिक तयार पार्नु आवश्यक छ ।’ केही रकम त्यसैका लागि भनेर छुट्याए पनि पर्याप्त नहुने हुँदा आगामी दिनमा बजेट बढाउँदै लैजानुपर्ने उनको भनाइ छ । ‘अहिले हेर्दा भीरमा पनि सुन्तला नै फलिरहेको छ । तर, त्यसलाई सुक्खायाममा सिंचाइ गर्नुपर्छ’, उनले भने, ‘त्यसका लागि हामीले स्थानीयस्तरबाट व्यवस्था मिलाउन सकेका छैनौँ । आगामी दिनमा गाउँपालिकाले यस विषयमा पनि सोच्नु जरूरी छ ।’
वडा नं–३ को ल्हुङ्ग्रीङ गाउँ सुन्तलाका लागि सबैभन्दा धेरै उत्पादन हुने क्षेत्र हो । स्थानीय भीमबहादुर रानामगरका अनुसार गत वर्षमात्रै ल्हुङ्ग्रीङ गाउँमा करिब तीन करोड रूपैयाँ भित्रिएको थियो । ‘यो वर्ष अलि कम छ । तैपनि साढे दुई करोडजति भित्रिन्छ होला’, उनले भने । गाउँमा सुन्तलाको उत्पादन सोचेभन्दा राम्रो हुन थालेपछि गाउँपालिका र वडा कार्यालयले पनि सुन्तलाखेतीका लागि प्रोत्साहन गरिरहेको उनले बताए ।
वडा नं–३ कै छापस्वाँराका विष्णुकुमार श्रेष्ठ सुन्तलाकै कारण गाउँ छाडेको २१ वर्षपछि फेरि गाउँ फिरेका छन् । सुन्तला उत्पादनले बजारको मोह सबै बिर्साएको उनी बताउँछन् । यतिखेर उनको बारीमा भुइँमै लत्रिने गरी सुन्तला फलेको छ ।
तर, बाटो सहज नहुँदा तुइनबाट सुन्तला ढुवानी गर्न बाध्य भएको उनी बताउँछन् । ‘कुनै दिन त्यो तुइन छिन्यो भने हाम्रो उत्पादन बारीमै कुहिन्छ’, उनी भन्छन्, ‘राज्यले सडक सुविधा र बजारीकरणको व्यवस्था मिलाइदिने हो भने जति पनि उत्पादन गर्न सकिन्छ ।’
गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगर भने तीनतिर तीन ठूला नदीले घेरिएको हुँदा ठूला नदीमा पुल बनाउन ठूलै बजेट चाहिने हुँदा प्रदेश र केन्द्र सरकारसँग ताकेता गरिरहेको बताउँछन् । ‘यति ठूलो नदीमा पुल हाल्ने कुरा गाउँपालिकाको बजेटले छेउ पनि लाग्दैन । त्यसैले हामीले प्रदेश र केन्द्र सरकारसँग बजेट मागेको माग्यै छौँ’, उनले भने, ‘हाम्रै दबाबका कारण घुमाउने, गाईघाटलगायतका केही स्थानमा पुल बन्दै छ । अन्य स्थानमा पनि बिस्तारै बन्छ ।’
सेती, काली र त्रिशूलीजस्ता ठूला नदी देशको मुख्य गहना भए पनि देवघाटवासीका लागि भने अभिशापजस्तै बनेको उनको भनाइ छ । पुल निर्माण गाउँपालिकाबाट सम्भव नभए पनि गाउँ–गाउँमा सडक निर्माण गर्ने र जनतालाई सुविधा दिने विषयमा गाउँपालिका मातहतको काम भइरहेको उनको भनाइ छ । चितवनपोष्ट दैनिकबाट