Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

तनहुँको देवघाट गाउँपालिकाका पाँच गाउँमा विद्युत् सेवा विस्तार

तनहुँको देवघाट गाउँपालिकाका पाँच गाउँमा विद्युत् सेवा विस्तार

रासस

२०, पौष २०८०
तनहुँको देवघाट गाउँपालिकाका पाँच गाउँमा विद्युत् सेवा विस्तार
images

दमौली । तनहुँको देवघाट गाउँपालिका–४ को पाँच गाउँमा विद्युत् विस्तार भएको छ । हालसम्म विद्युत् पहुँच नपुगेको उक्त वडाको ढुङ्गाघारी, बसेनी, काफलस्वाँरा, बापस र डुडेबासपानीमा विद्युत् विस्तार भएको हो ।

images
images

भरतपुर विद्युत् वितरण केन्द्र आँपटारी ‘सवस्टेसन’मार्फत ती गाउँका एक सय ३० घरमा बिजुली बलेको देवघाट–४ वडाध्यक्ष मित्रलाल गुरुङले जानकारी दिए । बिजुलीका लागि मिटरबक्स र प्राविधिक भने तनहुँको आँबुखैरेनी सवस्टेसनले उपलब्ध गराएका थियो । नेपाल विद्युत् प्राधिकरण आँबु उपवितरण केन्द्रका प्रमुख राजवीर यादवको उपस्थितिमा ती घरधुरीमा विद्युत् आपूर्ति सुचारु भएको छ ।

वडाध्यक्ष गुरुङका अनुसार केही दिनभित्रै सोही वडाको चारघरेमा एक सय केभीएको ट्रान्सफर्मर जडान गरिनेछ । यसबाट पारलाझ्ग, चारघरे, साराङघाट, भुवनबस्ती र अग्रीडाँडामा विद्युत् विस्तारका लागि सहयोग हुनेछ । हालसम्म टुकी र सोलारको भरमा उज्ज्यालोको सहारा लिँदै आएका स्थानीयवासी विद्युत् पुगेपछि खुसी भएका छन् । गत वर्षको स्थानीय तह निर्वाचन अगाडि आमडाँडा, गाईघाट, आइलिम, सिन्चाङ, खोडेमोहोरिया र दुईघरेमा मात्रै विद्युत् पुगेको थियो ।

करिब चार/पाँच वर्षअघि नै उक्त गाउँमा बिजुली जडानका लागि ठेक्का सम्झौता भए पनि ठेकेदारको लापर्वाहीको कारण बीचमा काम रोखिएको थियो । उनले भने, “म वडामा निर्वाचित भएर आएपछि रोकिएको विद्युतीकरणको कामलाई अगाडि बढाउन पहल गरेको हुँ । त्यसैको प्रतिफलस्वरुप गाउँमा पहिलोपटक बिजुली बत्ती बलेको छ ।”

उनका अनुसार यहाँ धेरै वर्ष पहिला बत्ती बल्नुपर्ने हो तर स्थानीय सरकारको उदासिनता र ठेकेदारको ढिलासुस्तीले कामले गति लिन सकेको थिएन । बिजुलीको अभावमा अहिलेसम्म वडा कार्यालय सिन्चाङमा स्वास्थ्यचौकीको भवनबाट सञ्चालन हुँदै आएकामा अब चाँडै काफलडाँडामा निर्मित आफ्नै भवनबाट सेवा प्रवाह गरिने उहाँले बताउनुभयो । वडा कार्यालयको भवन निर्माण भइसकेको र त्यसमा बिजुली बत्ती पनि जडान भइसकेकाले अब चाँडै इन्टरनेटसमेत जडान गरेर उक्त भवनबाट सेवा सुरु गर्ने तयारी गरिएको छ ।

images
प्रकाशित मिति :पौष २०, २०८० शुक्रवार - ०९:०५:०९ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology