सुसिला श्रेष्ठ, काठमाडौं, ३ फागुन । नेपालमा खानिजको सम्भावना विशाल भए पनि प्रभावकारी रुपमा उत्खनन् गर्न नसक्दा उपयोग हुन सकिरहेको छैन । संविधानले खानीको अन्वेषण र व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिएको भए पनि हालसम्म खानीको सम्भाव्यता अध्ययन हुन सकेको छैन । नेपालमा तामा, फलाम, अभ्रक, चुनढुङ्गा, सिसा, जस्ता, पेट्रोलीयम पदार्थ, सुन लगायत अन्य धातुहरु, कोवाल्ट, सोडा, सिधेनुन र बीरेनुन, म्याग्नेसाइट, खरिढुङ्गा जस्ता २२ वटा भन्दा बढी खानीहरु रहेको विभिन्न अध्ययनले देखाएको छ ।
लुम्वीनी प्रदेशलाइ सबैभन्दा धेरै खानी भएको क्षेत्रको रुपमा लिइन्छ । प्रदेशमा विषेश गरि चुनढुङ्गा खानी, तामा, फलाम, खरि ढुङ्गा, क्वार्ज मार्वल लगायतको खानी रहेको छ । तर, हालसम्म खानीको सम्भाव्यता अध्ययन पनि हुन सकेको छैन ।
यस्तै सुदुरपश्चिम प्रदेशमा पनि तामा ,फलाम लगाएतका विभिन्न खानी रहेको अध्ययनले देखाएको छ । तर प्रदेश सरकारले खानीको अन्वेषण सुरु गर्न सकेको छैन । सुदुरपश्चिीम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका अनुसार आवस्यक कर्मचारी दरवन्दी नहुदाँ काम अगाडि बढाउन सकिएको छैन । गण्डकी प्रदेशको पर्वतमा फलाम खानी छ भने नवलपरासीमा पनि फलामको खानी छ । फलाम खानीको चर्चा छ, तर यसको उत्खखन र व्यवस्थापनको लागि सरकारले ध्यान दिन सकेको छैन ।
यसैगरी बाग्मती प्रदेश भित्र पनि ललितपुर, दोलखा, चितवन लगाएत जिल्लामा फलाम, खरिढुङ्गा लगाएतका खानी रहेको अध्ययनले देखाएको छ । तर सरकारले आवश्यक अनुसन्धानको काम भने अगाडी बढाएको छैन । संबिधानले खानी अन्वेषण र व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई दिएको छ । तर प्रदेश सरकारहरुले खानी अन्वेषणको काम सुरु गर्न सकेका छैनन् ।