गोरखा । गोरखाका विभिन्न गाउँपालिकाहरुमा व्यवसायिक कफी खेती गर्न किसानहरु आकर्षित हुन थालेका छन् । गण्डकी, सहिदलखन, बारपाक सुलिकोट गाउँपालिका तथा पालुङटार नगरपालिकाका किसानहरु व्यवसायिक रुपमा कफीखेतीमा सक्रिय छन् । बारपाक सुलिकोटमा १७ हजार कफीका बिरुवा लगाइएका छन् भने गण्डकी र सहिद लखन गाउँपालिकामा ६४ हजारभन्दा बढि कफीका बिरुवा लगाइएका छन् ।
गण्डकी र सहिदलखन गाउँपालिकामा गरी कुल ६ सय ४८ रोपनी क्षेत्रफलमा कफी लगाइएको छ । ती दुई पालिकामा अरबिका जातका ६४ हजार बढी कफीका विरुवा रोपिएका छन् । ४५ वटा कृषक समूहलाई समेटेर खेती विस्तार गरिएको हो ।
जाइकाको आर्थिक सहयोग र आम्दा माइन्ड्सको प्राविधिक सहयोगमा माया प्रेम स्मृति प्रतिष्ठानले किसानहरुलाई आवश्यक सहयोग र सहजिकरण गरिरहेको छ ।
प्रतिष्ठानद्वारा संचालित पेशा परियोजना अन्तरगत किसानहरुलाई अनुदानमा विरुवा उपलब्ध गराइएको हो । ‘७० प्रतिशत अनुदानमा कफीको विरुवा दियौँ,’ परियोजनाका प्राविधिक सुपरभाइजर नविन धितालले भने, ‘ठाउँ छनोटदेखि माटो परिक्षणसँगै प्राविधिक पाटोमा पनि संस्थाले सहयोग गर्दै आएको छ ।’
सिंचाइमा ७० प्रतिशत अनुदान उपलब्ध गराएको बताउँदै उनले आवश्यक उपकरण तथा मेसिन खरिदमा समेत सहयोग गर्दै आएको जानकारी गराए । ‘हामीले किसानहरुलाई प्रशोधन मेसिन, काँटछाट गर्ने औजार र सिंचाइका लागि प्लाष्टिक पोखरी पनि सहयोग गर्दै आएका छौँ,’ उनले भने ।
उनका अनुसार दुईवटा पालिकामा दशवटा प्रशोधन केन्द्र स्थापना भएका छन् । सहिदलखनमा ७ र गण्डकी गाउँपालिकामा ३ वटा केन्द्र स्थापना भएको उनले बताए । ‘केन्द्रमा पल्पिङ मेसिन राखिएको छ, यसले कफीको रातो दानाको बोक्रा छुट्याउने काम गर्छ र त्यो दानालाई सुकाउने ड्रायर मेसिन पनि छ,’ धितालले भने । उनका अनुसार ड्रायरमा सुकेको दानालाई किसानहरुले बजारमा बेच्ने गर्छन् ।
सन् २०२१ देखि २०२४ सम्म पाइलट प्रोजेक्टको रुपमा गोरखाका दुई पालिकामा यो परियोजना लागू गरिएको थियो । २०२४ मार्चबाट थप किसानहरुलाई समेटेर परियोजनालाई निरन्तरता दिइएको छ । ‘यसअघि दुई सय कृषकलाई समेटेर परियोजना लागू गरेका थियौँ,’ आम्दा माइन्ड्सका कार्यक्रम व्यवस्थापक गौतम बजगाईले भने, ‘अहिले करिव ७ सय कृषकहरु समेटिनुभएको छ ।’ कतिपय कृषक समूहले कफी उत्पादन गरेर बेच्न समेत सुरु गरिसकेको उनले जानकारी दिए ।
गण्डकी गाउँपालिका दर्वुङका चेतबहादुर थापाले गत बर्षबाटै कफी बेच्न थालिसके । ‘पहिलै पनि कफी लगाएको थिए, बिक्री नभएर बोटहरु काटिदिए,’ उनले भने, ‘यो संस्थाले सहयोग गरेपछि फेरि लगाउन थाले, गत बर्ष अलिअलि बेचे पनि ।’ गत बर्ष प्रति केजी ६ सय रुपैयामा कफी बिक्री गरेको उनले सुनाए ।
बजारको अहिले कुनै समस्या नभएको उनी बताउँछन् । आफूसँगै बुवा र भाइले पनि कफी खेती बिस्तार गरेको उनले जानकारी गराए । यता सहिदलखन गाउँपालिका बक्राङका कटक अर्यालले पनि कफी खेतीबाट आम्दानी लिन थालिसके । संस्थाले सहयोग गरेपछि गाउँमा कफी खेती गर्नेहरु बढेको उनले बताए ।
संस्थाको सहयोग पश्चात व्यवसायिक रुपमा कफी खेती गर्ने किसानहरु बढेको संस्थाका बजगाई बताउँछन् । ‘पहिले कफी फलाउने मात्र थियो, अहिले व्यापारीहरुसँग बेच्न थालेका छन्,’ उनले भने, ‘बजार पाएपछि व्यवसायिक खेती गर्ने किसानहरु पनि बढेका छन् ।’ परियोजना लागू भएपश्चात मात्रै करिव डेढ सय जना किसानहरुले व्यवसायिक रुपमा कफी खेती थालेको उनले जानकारी दिए ।
उनका अनु्सार विरुवा रोपेको साढे दुई बर्षपछि उत्पादन दिन थाल्छ । एउटा बोटमा बार्षिक सात किलोसम्म कफी उत्पादन हुन्छ । कात्तिकदेखि बैशाखसम्मको समयलाई कफि टिप्ने सिजनको रुपमा लिइन्छ । दरौदी दैनिकबाट