Logo

बिहिवार, मंसिर ४ गते २०८३

images
२०८३, मंसिर ४ गते
images

भारतमा थप ६१५ मेगावाट विद्युत् निर्यात गर्न नेपाललाई अनुमति

भारतमा थप ६१५ मेगावाट विद्युत् निर्यात गर्न नेपाललाई अनुमति

images

इच्छाकामना न्युज

४, मंसिर २०८३
भारतमा थप ६१५ मेगावाट विद्युत् निर्यात गर्न नेपाललाई अनुमति
images

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले भारतमा थप ६१५.३४ मेगावाट विद्युत् निर्यात गर्न स्वीकृति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपालका आयोजनाबाट उत्पादित ५९४ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स) मा बिक्री गर्न र थप २१.३४ मेगावाट सेती खोला जलविद्युत् आयोजनाको विद्युत् निर्यात गर्न अनुमति दिएको हो ।

यससँगै भारतमा विद्युत् निर्यातका लागि नेपालले पाएको कुल स्वीकृत क्षमता १ हजार १९८ मेगावाट पुगेको छ । भारतले आगामी हिउँदयामको माग व्यवस्थापनका लागि नेपाललाई १ हजार ४ मेगावाट विद्युत् आयात गर्न पनि अनुमति दिइसकेको छ ।
प्राधिकरणका अनुसार भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले मंसिर २ गते ५९४ मेगावाट विद्युत् आईएक्सको डे–अहेड तथा रियल टाइम मार्केटमा बिक्री गर्न अनुमति दिएको हो । उक्त विद्युत् आगामी १८ नोभेम्बर २०२६ देखि १४ जुन २०२७ सम्म बिक्री गर्न सकिनेछ । अनुमतिप्राप्त विद्युतमध्ये २०५ मेगावाट कटैया–कुशाहा, रामनगर–सुरजपुर र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनमार्फत भारत निर्यात गरिनेछ । बाँकी ३८९ मेगावाट ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनमार्फत निर्यात हुनेछ ।

नेपाल विद्युत् प्राधिकरण र भारतका एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) तथा पावर ट्रेडिङ कर्पोरेसन (पीटीसी) बीच भएको द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरियाणा र बिहारमा हरेक वर्ष जुनदेखि अक्टोबरसम्म विद्युत् निर्यात हुँदै आएको छ । चालु वर्षका लागि उक्त सम्झौताअनुसार विद्युत् निर्यात गर्ने अवधि अक्टोबर ३१ मा सकिएको थियो ।

त्यसपछि वैकल्पिक बजारका रूपमा भारतीय ऊर्जा एक्सचेन्जमा विद्युत् बिक्री गर्न प्राधिकरणले निर्यातयोग्य आयोजनाको सूची भारतीय निकायमा पठाएको थियो । आवश्यक स्वीकृतिका लागि निरन्तर पहल गरेपछि ५९४ मेगावाट विद्युत् बिक्रीको अनुमति प्राप्त भएको प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बताए । उनका अनुसार एनभीभीएनमार्फत ३८९ मेगावाट र पीटीसीमार्फत २०५ मेगावाट विद्युत् आईएक्समा बिक्री गर्न सकिनेछ ।

प्राधिकरणले आन्तरिक खपतबाट बढी भएको वर्षायामको विद्युत् भारतीय ऊर्जा एक्सचेन्जको डे–अहेड र रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री गर्दै आएको छ । माग र बजार मूल्यका आधारमा विद्युत् बिक्री गर्न सकिने भएकाले आईएक्सलाई द्विपक्षीय सम्झौताबाहेकको वैकल्पिक बजारका रूपमा उपयोग गर्दै आएको छ ।

यसैबीच, भारतको केन्द्रीय विद्युत् प्राधिकरणले थप २१.३४ मेगावाट विद्युत् निर्यात गर्न पनि स्वीकृति दिएको छ । सेती खोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् आगामी १८ नोभेम्बर २०२६ देखि ३१ अगस्ट २०२७ सम्म आईएक्समा बिक्री गर्न अनुमति प्राप्त भएको हो ।

यसले नेपालका लागि भारतीय बजारमा विद्युत् बिक्रीको स्वीकृत परिमाण थप बढाएको छ । हालसम्म भारतमा निर्यातका लागि स्वीकृत कुल क्षमता १ हजार १९८ मेगावाट पुगेको प्राधिकरणले जनाएको छ । नेपालले वर्षायाममा आन्तरिक मागभन्दा बढी हुने विद्युत् भारत र बंगलादेशमा बिक्री गर्दै आएको छ । तर हिउँदयाममा नदीमा पानीको बहाव घट्दा आन्तरिक उत्पादन कम हुने भएकाले भारतबाट विद्युत् आयात गर्नुपर्ने अवस्था छ ।

त्यसैले आगामी हिउँदमा भारतबाट १ हजार ४ मेगावाट विद्युत् आयात गर्ने अनुमति प्राप्त भइसकेको छ । वर्षायाममा विद्युत् निर्यात र हिउँदयाममा आयात गर्नुपर्ने नेपालको अवस्थाले क्षेत्रीय विद्युत् व्यापार तथा प्रसारण पूर्वाधार विस्तारको आवश्यकतालाई थप स्पष्ट पारेको छ ।

 
 

images
प्रकाशित मिति :मंसिर ४, २०८३ बिहिवार - १४:३९:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology