सुसिला श्रेष्ठ, काठमाण्डौ, २८ चैत । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रममा प्रत्येक स्थानीय तहमा बीउ स्रोत केन्द्र, चिस्यान केन्द्र स्थापना गर्ने भनिएको छ ।
मूल्य श्रृङ्खलामा आधारीत कृषि व्यवसाय गर्दै जाने पनि भनिएको छ तर ९ महिना वित्दा पनि नीतिको कुरा कार्यान्वयनमा आएको छैन । बाजुराको बुढिगंगा नगरपालिका ७ का चित्र विष्ट १५ वर्षदेखि व्यावसायिक कृषिमा लाग्नुभएको छ ।
वार्षिक ३ लाख कारोबार गर्ने आफ्नो फार्मका लागि विउविजन लिन २५ किलो मिटर टाढा जानुपर्ने वाध्यता एकातर्फ छ भने फलिसकेका तरकारी बजार अभावमा खेर फाल्नु परेको उहाँ गूनासो गर्नुहुन्छ । बाजुराकै वुढि गंगा नगरपालिकामा पनि चिस्यान केन्द्र छैन ।
प्रदेश सरकारको निति अनुरुप विउ स्रोत केन्द्र पनि छैन । कैलालीको लम्कीचुहा नगरपालिका १० का सर्वजीत ढुङ्गानाले डेढ विगाहा जमिनमा व्यावसायीक तरकारी खेती गरेको ७ वर्ष वित्यो । वार्षिक ४ लाखको तरकारी विक्रि हुने गरे पनि बीउ र बजारको समस्याले हैरान भएको उहाँको गूनासो छ ।
सुदूरपश्चिम सरकारको निति तथा कार्यक्रममा स्थानीय तहमा विउ स्रोत केन्द्र, चिस्यान केन्द्रको विकास गर्दै रोजगारी सिर्जना गर्ने उल्लेख छ । तर जिल्लामा यो व्यवस्था कार्यान्वयनमा आउन सकेको छैन । चालु आर्थिक वर्षको ९ महिना बित्दा ८८ वटा स्थानीय तह रहेको सुदुर पश्चिम प्रदेशमा २ वटा चिस्यान केन्द्र र २५ वटा विउ स्रोत केन्द्र संचालनमा छन् ।
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत तथा सूचना अधिकारी गोकुल प्रसाद वोहराले कतिपय स्थानमा चिस्यान केन्द्रहरु निर्माणाधिन रहेको र यो बर्ष २० ओटा चिस्यान केन्द्र बनाइने बताउनुभयो । चिस्यान केन्द्र बनेको अवस्थामा बारीमा फलाएका तरकारी तथा दूग्धज्न्य सामग्री लामो समयसम्म राख्न सकिने अपेक्षा किसानको छ ।
बीउ स्रोत केन्द्र पायक पर्ने स्थानमा भए टाढा जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिए पनि सरकारको योजना कार्यान्वयन नहुँदा किसानको अपेक्षा पूरा हुन सकेको छैन ।