तनहुँ, २१ बैशाख । कोरोना जोखिम बढिरहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले दिएको सिफारिसका आधारमा अन्ततः तनहुँ प्रशासनले पनि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा आज बसेको केन्द्रको बैठकले बैशाख २२ गते मध्यरात १२ बजेबाट लागू हुने गरी वैशाख मसान्तसम्म अत्यावश्यक बाहेकका आवतजावतमा रोक लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

बैठक लगत्तै सोही सिफारिसका आधारमा तनहुँ प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
तर अत्यावश्यक वस्तुको खरिदका लागि भने समय दिने गरी निषेधाज्ञा आदेश जारी भएको छ । अत्यावश्यक सामग्रीको खरिदका लागि विहान ५ देखि ९ र साँझ ५ देखि ७ बजेसम्म समय तय भएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए ।