Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

ठकुरी युवतीले दलितसँग विवाह गर्दा अर्कै परिवारको उठिबास

ठकुरी युवतीले दलितसँग विवाह गर्दा अर्कै परिवारको उठिबास

पत्रपत्रिका

१३, श्रावण २०७८
ठकुरी युवतीले दलितसँग विवाह गर्दा अर्कै परिवारको उठिबास

बैतडी, १३ साउन । बैतडीको शिवनाथ गाउँपालिका–६ कानलीका करन राना र उनकी श्रीमती राजु राना दुवै जना शिक्षक हुन् । करन हिरापुर माविमा निमावि राहत कोटाअन्तर्गत र राजु कृष्ण निमाविमा बालविकास कोटामा कार्यरत थिए । दुवै जना शिक्षण पेसामा कार्यरत रहेकाले पनि उनीहरूको आर्थिक अवस्था राम्रै थियो । राम्रैसँग जीविकोपार्जन गर्दै आएका थिए ।

images

तर, उनीहरूको जीवनमा ६ वर्षअघि एउटा यस्तो घटना भयो कि जुन घटनाका कारण उनीहरू गाउँ र समाजबाटै विस्थापित बन्न पुगे । समाजले उनीहरूमाथि जुन आरोप लगाएको थियो । त्यसमा कुनै पनि सत्यता नभएको उनीहरूको दाबी छ । तर, समाजले उनीहरूको प्रस्टीकरण सुन्न चाहेन । फलतः निर्दोष भएको प्रमाण पेस गरिरहँदा पनि समाजले उनीहरूको कुरा सुन्न चाहेन ।

त्यसपछि राना दम्पत्तीलाई झुटा मुद्दा लगाइयो, जागिरबाट निकालियो । त्यतिले मात्रै नभएर गाउँबाटै निकाला गरियो र अन्तमा घरसमेत जलाइयो । सोच्दै नसोचेको आपत्ति आइलागेपछि एउटा लयमा चलिरहेको उनीहरूको जीवन नै बिथोलियो ।

२०७२ सालको चैत महिना । यही साल र महिनादेखि उनीहरूको जीवनको लय बिग्रिएको हो । स्थानीय गोकर्ण चन्दकी छोरी पूजा र एक जना दलित युवकले २०७२ माघमा प्रेम विवाह गरेका थिए । प्रेम विवाहपछि उनीहरू चार महिनासँगै पनि बसे । तर, पूजाको दलित युवकसँग विवाह हुनुमा करणकी श्रीमती राजुलाई दोष लगाइयो । स्थानीयको यो दोष उनीहरूले स्वीकार गरेनन् । विवाद बढ्दै गयो ।

त्यसपछि चैतमा पूजाका बाबुसहित गएर पूजालाई फिर्ता ल्याए । केटाकेटी दुवैलाई जिल्ला प्रहरी कार्यालय बैतडीमा उपस्थित गराइयो । प्रहरी कार्यालयमै केटीका बाबु, स्थानीयवासी र करन रानाकै अगाडि उनीहरूले आफूले स्वेच्छाले प्रेम विवाह गरेको बताए । एकअर्काबिना बाँच्नै नसक्नेसम्मको कुरा सुनाए । तर, केटाकेटी दुवैको कुरा स्थानीयवासीले सुनेन । सुन्न कोशिस पनि गरेन ।

बरु करनकी श्रीमती राजुलाई दोषी करार गर्न थाले । स्थानीय युवतीलाई दलित केटासँग भगाएको भन्दै उनलाई दैनिक कुटपिट गर्न थाले । त्यसपछि बाध्य भएर उनीहरू घर छाडेर सदरमुकामतर्फ लागे । र, न्यायको भिख माग्न थाले । तर, ६ वर्ष बितिसक्यो । उनीहरूले न्याय पाउन सकेका छैनन् ।

आफूहरूलाई कुटपिट गर्ने, गालीगलौज गर्ने र धम्क्याउने व्यक्तिहरू राजबहादुर चन्द, चक्रबहादुर चन्द, दीपकबहादुर चन्द, रमेशबहादुर चन्द र गोकर्ण चन्द भएको भन्दै उनीहरूविरुद्ध मुद्दा हाले हालसम्म मुद्दाको कुनै फैसला नआएको उनीहरूको भनाइ छ ।

सदरमुकाम बस्दा लागेको ऋणले उनीहरू चिन्तित छन् । सदरमुकाम आएपछि प्रहरी कार्यालयनजिकैको एक होटलमा दुई वर्ष बस्दाको ऋण डेढ लाख रुपैयाँ उनीहरूले तिर्न सकेका छैनन् । ६ वर्ष सदरमुकाम बस्दा १२ लाख रुपैयाँभन्दा बढी ऋण लागेको उनीहरूको भनाइ छ ।

केही वर्षदेखि करनलाई जिल्ला सदरमुकामनजिकै दशरथचन्द नगरपालिका–४ स्थित ईश्वर आधारभूत विद्यालयमा काज सरुवा मिलाइदिएको छ । तर, १३ महिनादेखि तलब पाउन सकेका छैनन् । विगतमा निमावि शिक्षकको राहत दरबन्दीमा काम गर्ने उनलाई प्राविको राहत दरबन्दीमा काज मिलाइएको छ ।

राजुलाई भने दशरथचन्द नगरपालिका ५ स्थित जगन्नाथ प्राविमा दशरथचन्द नगरपालिकाले ६ हजार रुपैयाँ तलब दिनेगरी व्यवस्थापन गरिएको छ । तर, उनले शिवनाथबाट पाउनुपर्ने तलब पाउन सकेकी छैनन् ।


न्याय नपाएपछि करनका सपरिवार १ साउनदेखि जिल्ला समन्वय समितिको कार्यालयअगाडि आमरण अनसन बस्ने योजनामा छन् । आमरण अनसन बस्ने तयारी गरेका करनलाई शिक्षा समितिबाट एक साताभित्र केही गर्छौं भन्दै अनशन नबस्न भनिए पनि दुई साता बितिसक्दा पनि कुनै सुनुवाइ भएको छैन । समाचार आजको राजधानी दैनिकमा सीपी लोहियाले लेखेका छन ।

images
प्रकाशित मिति :श्रावण १३, २०७८ बुधवार - ०९:४३:२३ बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology