बरादी(तनहुँ), १३ भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिका १ स्थित बरादी गाउँ सबै किसिमका उन्नत कृषि उपज प्रविधिको प्रदर्शनस्थल बनेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले सो गाउँलाई प्रविधि गाउँ घोषणा गरेसँगै त्यहाँ नार्कद्वारा प्रमाणीकरण गरी परिपक्क भएका प्रविधि भित्र्याउन सुरु गरिएको हो । जसअनुसार शुक्रबार मत्स्यपालन प्रविधि भित्र्याइएको छ ।
त्यस अवसरमा धान खेतमा ४ सय तथा विभिन्न पोखरीमा बहुजातीय ६ सय माछाका भुरा छाडिएको छ । धानखेतमा कमन कार्प र पोखरीमा सिल्भर, ग्रास कार्प, बिगहेड, रहु, नैनी जातका भुरा छोडिएको हो ।
मत्स्यपालन प्रविधि प्रदर्शनीको उद्घाटन गर्दै नार्कका पशुपन्छी तथा मत्स्य अनुसन्धान निर्देशक डा. स्वयंप्रकाश श्रेष्ठले नेपालमा माछापालन व्यवसायको भविष्य उज्ज्वल रहेको औंल्याउँदै कृषि विचौलियालाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । उनले नार्कले प्रमाणीकरण गरी परिपक्क भएका प्रविधिलाई अब बरादी क्षेत्रमा प्रयोगात्मक रुपमा लागु गर्न सुरु गरिएको भनाइ उल्लेख गरे ।
निर्देशक डा. श्रेष्ठले किसानले काममा विश्वास गर्नुपर्ने भन्दै कार्ययोजना बनाएर अगाडि बढ्दै व्यावसायिक हिसाबले उत्पादनमा जुट्नुपर्ने जोड पनि दिए । कृषि अनुसन्धान निर्देशनालय लुम्लेका निर्देशक डा.कालिकाप्रसाद उपाध्यायले माछापालन प्रविधि फाइदाजनक हुने औंल्याए । बरादी क्षेत्रको कृषि समस्या समाधान गर्न निर्देशनालय सधंै तयार रहेको उनले स्पष्ट पारे ।
गाउँपालिका अध्यक्ष गीरबहादुर थापाले आफ्नो गाउँपालिकामा नार्कअन्तर्गत कृषि अनुसन्धान निर्देशनालय लुम्लेले विगतदेखि नै सहयोग गर्दै आएको जानकारी दिए । कार्यक्रमसँगै बरादी क्षेत्रमा कृषि पर्यटनमा योगदान पुग्ने उनको विश्वास छ ।
मत्स्य अनुसन्धान केन्द्र बेगनास प्रमुख महमद एकवाल हुसेनले पछिल्लो समय माछापालनको क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्रिएको चर्चा गर्दै सबैभन्दा बढी पोखरीमा बहुजातीय माछापालन फाइदाजनक भएको अनुभव सुनाए । उनले सहरोन्मुख ठाउँमा रंगीन माछापालन गर्न सकेको खण्डमा व्यवसाय प्रवद्र्घन हुने धारणा राखे ।
राष्ट्रिय मत्स्य अनुसन्धान केन्द्र गोदावारी प्रमुख डा. आशा रायमाझी, नार्क अन्तर्गत अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख डा. सुधा सापकोटा, किसानहरु चेतबहादुर थापा, वीरबहादुर पन्त, इन्द्रबहादुर गुरुङ, चिजमाया गुरुङ, भीमबहादुर खनाललगायतले बोलेका थिए ।
किसानहरुले प्रमाणीकरण प्रविधिलार्ई मात्रै गाउँ तहसम्म पुर्याउनुपर्ने, कृषि पर्यटनका जोड दिनुपर्ने, विकसित प्रविधि प्रयोग गरी लगानी कम गराउँदै उत्पादन बढाउनुपर्ने, बरादी क्षेत्रमा सिँचाइको राम्रो प्रबन्ध मिलाउनुपर्ने, मासिएको सुन्तला जगाउनुपर्ने, प्रविधि गाउँको कार्यक्रमलाई सफल बनाउनुपर्ने, प्रविधि किसानको मागमा आधारित हुनुपर्ने लगायत माग गरे ।
कृषि अनुसन्धान निर्देशनालय लुम्लेले प्रविधि गाउँमार्फत् बरादीमा करिब लोप हुन लागेको सुन्तलालाई जगाइ छाड्ने जनाएको छ । बरादी मस्र्याङ्दी नदी किनारदेखि मध्ये पहाडसम्मको क्षेत्र भएकाले त्यहाँ विभिन्न कृषि उपजको उत्पादन हुन सक्ने निर्देशनालयको ठहर छ ।
बाह्य अनुसन्धान संयोजक तथा सहजकर्ता डा. काशीनाथ चिलुवालले प्रदेशभरका कुल २१ सम्भावित ठाउँको अवलोकन र विभिन्न छलफलपछि बरादीलाई गत वर्ष प्रविधि गाउँ घोषणा गरिएको स्पष्ट पारे । लुम्लेले प्रदेशका विभिन्न ठाउँको अध्ययन गरी बरादी क्षेत्र प्रविधि गाउँका लागि उपयुक्त रहेको ठहर गर्दै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) समक्ष सिफारिस गरेपछि सो गाउँलाई गत मंसिर २२ मा प्रविधि गाउँ घोषणा गरिएको थियो ।
कृषि अनुसन्धान निर्देशनालय लुम्लेले आयोजना गरेको उक्त कार्यक्रम मत्स्य अनुसन्धान केन्द्र बेगनासको सहआयोजनामा भएको हो ।
आदर्श समाज दैनिकबाट