Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

४ वर्ष बित्दा पनि गोरखाका स्थानीय तहहरुले स्थानीय पाठ्यक्रम पढाउन सकेनन्

४ वर्ष बित्दा पनि गोरखाका स्थानीय तहहरुले स्थानीय पाठ्यक्रम पढाउन सकेनन्

पत्रपत्रिका

४, मंसिर २०७८
४ वर्ष बित्दा पनि गोरखाका स्थानीय तहहरुले स्थानीय पाठ्यक्रम पढाउन सकेनन्
images

गोरखा, ४ मंसिर ।  गोरखाका पालिकाहरु स्थानीय स्तरको पाठ्यक्रम बनाएर पठनपाठन गराउन असक्षम भएका छन् । स्थानीय जनजीवन, ऐतिहासिक, सांस्कृतिक, राजनीतिक, सामाजिक, प्राकृतिक सम्पदाको महत्व बारेमा वोध गराउने उद्देश्यले सरकारले स्थानीयस्तरको पाठ्यक्रम बनाएर पठनपाठन गराउन अनिवार्य गरेपनि यहाँका पालिकाहरु असमर्थ भएका हुन् ।

images
images

पालिका गठन भएको चार बर्ष बितिसक्दा पनि स्थानीय पाठ्यक्रम बनाएर पठनपाठन गराउन नसकेका हुन् ।
११ वटा पालिकामध्य भीमसेनथापा, गण्डकी, आरुघाट, धार्चे, बारपाक सुलीकोट र चुमनुब्री गाउँपालिकाले अहिलेसम्म पाठ्यक्रम नबनाएको स्वीकार गरेका हुन् ।

पाँचवटा पालिकाले कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम तयार गरे पनि पठनपाठन गर्न नसकेको जनाएका छन् ।
‘हाम्रो पालिकामा शिक्षा शाखा प्रमुख नै छैनन्, कसरी बनाउने पाठ्यक्रम ?’, धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङ भन्छन्, ‘गर्छु भनेको काम पनि कर्मचारी अभावका कारण गर्न नपाई कार्यकाल बित्न लाग्यो ।’

गण्डकी गाउँपालिकाले पाठ्यक्रम बनाउन सुरु नै नगरेको जनाएको छ । ‘अहिलेसम्म पाठ्यक्रम बनाउने प्रक्रिया अघि बढेको छैन’, शिक्षा शाखा प्रमुख सुदीप पन्त भन्छन्, ‘अब छिट्टै सुरु गर्नेछौँ ।’
स्थानीय पाठ्यक्रम बनाउन धेरै कोशिष गरेर पनि बनाउन नसकिएको भीमसेनथापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज वाग्लेको भनाइ छ ।

बारपाक सुलीकोट गाउँपालिकाले पनि पाठ्यक्रमको खेस्रा तयार भएको जनाएको छ । मस्यौदा समिति, विज्ञ टोलीसित छलफल गरी त्यसलाई अन्तिम रुप दिन बाँकी रहेको पालिकाले जनाएको छ । कार्यकाल सुरु भएको चार बर्ष बितिसक्दा पनि स्थानीय पाठ्यक्रम बनाएर पढाउन नसकिएको आरुघाट गाउँपालिकाका प्रमुख पूर्ण दाहालले जनाए ।

गोरखा नगरपालिका, पालुङ्टार नगरपालिका, अजीरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र शहीद लखन गाउँपालिकाले कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम तयार गरेको जनाएका छन् । पाठ्यक्रम बनाए पनि ती पालिकामा अहिलेसम्म पाठ्यपुस्तक बनेको छैन । ‘कक्षा १ देखि ३ सम्मको पाठ्यक्रम तयार भएको छ, तर त्यसअनुसार पाठ्यपुस्तकचाहिँ प्रकाशित भएको छैन’, गोरखा नगरपालिकाका शिक्षा शाखाका कर्मचारी ध्रुव अर्यालले भने, ‘बाँकी कक्षाको पाठ्यक्रम चालु बर्ष बनाउने तयारीमा छौँ ।’

सिरानचोक गाउँपालिकाले कक्षा १ देखि ५ सम्मको पाठ्यक्रम बनाएको छ । तर सो अनुसार पठनपाठन भने हुन नसकेको शिक्षा शाखाका कर्मचारी कृष्ण पोखरेलले जानकारी दिए । पालुङ्टार नगरपालिका र अजीरकोट गाउँपालिकाले भने कक्षा १ को पाठ्यपुस्तक छाप्ने तयारीमा रहेको जनाएका छन् । कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम तयार गरिसकेको पालुङ्टार नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम काराखेतीले बताए ।

प्राथमिक शिक्षा पाठ्यक्रम २०६० को दीर्घकालीन सोच, राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ तथा पाठ्यक्रम विकासका सैद्धान्तिक आधार तथा नीति र स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन २०७६ ले मुलुकका ७५३ वटै पालिकाले स्थानीय पाठ्यक्रम बनाएर लागु गर्नुपर्ने व्यवस्था गरेको छ । तर गोरखाका पालिकाहरुले स्थानीय पाठ्यक्रम बनाउने कार्यक्रमलाई प्राथमिकता दिएका छैनन् । दरौदी दैनिकबाट

images
प्रकाशित मिति :मंसिर ४, २०७८ शनिवार - २१:४१:०० बजे

पत्रपत्रिका

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology