Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

विद्युतीय बस चढेर लुम्बिनी पुगे एमाले अध्यक्ष ओली

विद्युतीय बस चढेर लुम्बिनी पुगे एमाले अध्यक्ष ओली

रासस

१५, चैत्र २०७८
विद्युतीय बस चढेर लुम्बिनी पुगे एमाले अध्यक्ष ओली
images

रुपन्देही, १५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत गर्न आज लुम्बिनीमा विशेष तयारी गरिएको थियो । पार्टीको लुम्बिनी नगर कमिटीले आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न लुम्बिनी पुग्नुभएका ओलीलाई स्वागतका लागि एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईलगायतका स्थानीय नेताहरु हातमा खादा र माला बोकेर ओलीको प्रतीक्षामा थिए । ठूलो सङ्ख्यामा स्थानीय नागरिकहरु सडकमै लाम लागेर एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीको प्रतीक्षा गरिरहेका थिए ।

images
images

जब ओली सार्वजनिक विद्युतीय बसबाट ओर्लिनुभयो, त्यहाँको माहोल नै परिवर्तन भयो । प्रहरीको स्कटिङमा कार्यक्रमस्थलमा पुगेका साना र विलासी कारबाट ओली उत्रिने आशङ्कामा आयोजक र स्थानीयवासी त्यतै सोझिएका थिए तर अध्यक्ष ओली बसबाट उत्रिएको देखेपछि स्थानीयवासी छक्क परे । पार्टीका नेता र स्थानीयवासीले माला, खादा र ताली बजाएर अध्यक्ष ओलीको स्वागत गरे । “यति ठूला मान्छे भएर पनि बसमा आउनुभएको रहेछ”, छक्क पर्दै स्थानीय हजरत अलीले भन्नुभयो ।

एमालेका अध्यक्ष ओली तिलोत्तमाको मणिग्रामबाट सार्वजनिक विद्युतीय बस चढेर भैरहवा हुँदै लुम्बिनी पुग्नुभएको थियो । लुम्बिनी नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदूषणमुक्त बनाउन यस्ता बस सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । “आफ्नै विद्युत्ले मोबाइल चार्ज गरेजस्तै गरेर चलाउन मिल्ने यो बस स्वास्थ्यका दृष्टिले पनि ठीक छ, यसअघि मैले काठमाडौँमा सुरुआत गरेको थिएँ, अहिले यहाँ सुरु भयो”, उहाँले भन्नुभयो ।

गौतमबुद्धको जन्मभूमि लुम्बिनीलाई स्वर्गको नन्दनजस्तै बनाउन आवश्यक रहेको धारणा राख्नुभयो । “बुद्धजन्मस्थलमा मुस्किलले उडेर आए काग बस्ने मात्रै भयो । खाली सिसौका रुखमात्रै भए यसलाई हटाएर मगमग फूलको बास्ना आउने बनाउनुपर्छ । यसका लागि हामी लागि परेका छौँ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले विकासका सबै अभिभारा पूरा गर्नका लागि आगामी निर्वाचनमा एमालेलाई जिताउन कार्यकर्तालाई आग्रह गर्नुभयो । “जनता न्यायाधीश हो । तपाईँ नै निर्णायक हो । तपार्इँहरु नै भगवान् हो, तपार्इँहरुले अब निर्णय दिनुस् हामी गर्न तयार छौँ”, ओलीले भन्नुभयो ।

सुन्दर यातायात प्रालि, बुटवलले सञ्चालनमा ल्याएको विद्युतीय सार्वजनिक बसको उद्घाटन गरी ओली त्यही बस चढेर लुम्बिनी पुग्नुभएको थियो । कार्यक्रमपछि ओली पुनः विद्युतीय बसबाट भैरहवा विमानस्थल पुग्नुभएको सुन्दर यातायात प्रालिका सञ्चालक डिआर घिमिरेले बताउनुभयो ।

ओलीसँगै एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल, राष्ट्रियसभा सदस्य गोपाल भट्टराई, प्रदेशसभा सदस्य लीला गिरी, केन्द्रीय सदस्य भूमिश्वर ढकाल, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, सैनामैनाका प्रमुख चित्रबहादुर केसी, बुटवलका उपप्रमुख गुमादेवी आचार्यलगायतका अन्य नेताहरु पनि ओलीसँगै गाडी चढेर लुम्बिनी पुग्नुभएको थियो ।

प्रालिका सञ्चालक घिमिरेले नेपालमै पहिलो विद्युतीय सार्वजनिक बस यस क्षेत्रमा भित्र्याइएको बताउनुभयो । तत्कालका लागि दुई वटा बस सञ्चालनमा ल्याए पनि विस्तारै सबै रुटमा सञ्चालन गर्ने गरी बस थप्दै जाने उहाँको भनाइ छ ।

images
प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - २२:००:४७ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology