Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

स्थानीय तह निर्वाचन २०७४ मा आँबुखैरेनीका ४ यी उम्मेद्वार जसले आफैलाई भोट हालेनन्

स्थानीय तह निर्वाचन २०७४ मा आँबुखैरेनीका ४ यी उम्मेद्वार जसले आफैलाई भोट हालेनन्

इच्छाकामना न्युज

२३, चैत्र २०७८
स्थानीय तह निर्वाचन २०७४ मा आँबुखैरेनीका ४ यी उम्मेद्वार जसले आफैलाई भोट हालेनन्
images

तनहुँ, २३ चैत ।  स्थानीय तहको निर्वाचनले राजनीतिक सरगर्मी हप्पकै बढेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको परिणाम आफ्नो पोल्टामा पार्न केन्द्रदेखि वडा तहसम्मका नेताहरुको दौडधूप निकै बढ्दो छ । राजनीतिक दल यतिबेला वडा तहमा उम्मेदवार बन्न आकंक्षीको सूची तयार पार्दै छन् ।

images
images

स्वतन्त्र रुपमा उम्मेदवारी दिनेहरूले भने धमाधम सामाजिक सञ्जाललाई प्रयोग गर्दै उम्मेदवारी घोषणा गरिरहेको अवस्था छ । निर्वाचनमा उम्मेदवारी दिएपछि सबैको रहर जित्ने हुन्छ । जित्नै नसके पनि कम्तिमा लोकप्रिय मत पाउनलाई कसरत धेरै उम्मेदवारले गर्छन् नै । मतदाताको मन र मत जित्नलाई दौडधूप हुनु स्वभाविक पनि हो । तर, अघिल्लो पटक भएको स्थानीय तहको निर्वाचनमा तनहुँका केही उम्मेदवारले आफैँले आफैँलाई समेत भोट हालेनन् । अर्थात आफैँलाई पत्याएनन् र उनीहरुले शून्य मत प्राप्त गरेका थिए । न त उनीहरूले उम्मेदवारी  फिर्ता लिए न आफैँलाई मतदान गरे ।

२०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा जिल्लाका नौजना उम्मेदवारको शून्य मत रहेको जिल्ला निर्वाचन कार्यालय तनहुँकी सूचना अधिकारी दुर्गा आले मगरले बताइन् । तीन जना वडाध्यक्ष र छ जना वडा सदस्यका उम्मेदवारले शून्य मत प्राप्त गरेको उनले जानकारी दिइन् । सबैभन्दा धेरै आँबुखैरेनी गाउँपालिकाका चार जना, व्यास र शुक्लागण्डकी नगरपालिकाका दुई/दुई जना र देवघाट गाउँपालिकाका एक जना उम्मेदवारले आफैँलाई मतदान गर्न बिर्सिए ।

सूचना अधिकारी आलेका अनुसार व्यास नगरपालिका–१ मा पूर्वराष्ट्र सेवक लोकतान्त्रिक पार्टीबाट वडाध्यक्षमा उम्मेदवारी दिएका उमराज नहर्की, शुक्लागण्डकी नगरपालिका–९ मा स्वतन्त्र रुपमा वडाध्यक्षको उम्मेदवार बनेका रामबहादुर नेपाली र देवघाट गाउँपालिका–५ मा स्वतन्त्र वडाध्यक्षमा उम्मेदवारी दिएका कृष्णराज न्यौपानेको मत शून्य आयो । 

यस्तै आँबुखैरेनी गाउँपालिका–४ मा स्वतन्त्र वडा सदस्यका उम्मेदवार राजु गुरुङ र सुकबहादुर गुरुङ, स्वतन्त्र महिला वडा सदस्यको उम्मेदवार कौशिला गुरुङ र स्वतन्त्र उठेकी दलित महिला सदस्य मनमाया कामीले पनि आफैँलाई मतदान गरेनन् ।

व्यास–१२ मा नेपाल पूर्वराष्ट्र सेवक लोकतान्त्रिक पार्टीबाट वडा सदस्यमा निर्वाचन लडेका जनकबहादुर पन्थ क्षेत्री र शुक्लागण्डकी-३ मा संघीय समाजवादी फोरम नेपालका तर्फबाट दलित महिला सदस्यमा उठेकी पार्वती विक पनि मतविहीन भए । उम्मेदवारी फिर्ता नलिएका तर अरु उम्मेदवारलाई सघाएको कारण पनि शून्य मत भएको हुन सक्ने निर्वाचन कार्यालयको अनुमान छ ।

जिल्लाको १० स्थानी तह र ८५ वडामा एक हजार ५८२ जनाले उम्मेदवारी दिएका दिए ।  एक दलित महिला सदस्य र सात दलित तथा अल्पसंख्यक गरेर आठ जना निर्वाचन अगावै उम्मेदवारी दर्तासँगै विजयी भए । ४६१ निर्वाचनमा होमिएर विजयी भएका थिए । 

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक लाख ९४ हजार ४७१ मतदाता कायम थिए । तर एक लाख ३२ हजार ९४४ मत मात्र खसेको थियो । अर्थात ६१ हजार ५२७ मतदाता स्थानीय तहको निर्वाचन प्रक्रियामा सामेल भएनन् । खसेको मतमध्ये पनि तीन हजार १५४ मत बदर भएको थियो । यसपालि जिल्लामा दुई लाख ४४ हजार ३४० मतदाता कायम भएका छन् । यतिबेला सबै राजनीतिक दलहरु उम्मेदवार छनोटका लागि आन्तरिक गृहकार्य गरिरहेका छन् ।

 

 

images
प्रकाशित मिति :चैत्र २३, २०७८ बुधवार - ०८:३५:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology