Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

संघीयता तर्साउने स्थानीय निर्वाचन

संघीयता तर्साउने स्थानीय निर्वाचन

देवराज गुरुङ

१७, जेठ २०७९
संघीयता तर्साउने स्थानीय निर्वाचन

मुलुकमा संघीयताको कार्यान्वयन पश्चात दोस्रोपटक स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट ७५३ स्थानीय तहमा ३५ हजारभन्दा बढी जनप्रतिनिधि आगामी पाँचवर्षे कार्यकालको लागि चुनिएका छन् । नेपालले संघीयता कार्यान्वयनको सुरुवाती चरण पार गरेको छ । पहिलो निर्वाचन र कार्यकाललाई परिचयात्मक अवधि (समय) को रूपमा हेर्न सकिन्छ । कारण, पहिलो चरणमा आम मानिसभित्र हामीले अपनाएको शासन व्यवस्थाको बनोट र औचित्यको बारेमा जानकारी भयो । निर्वाचित जनप्रतिनिधिको लागि अबको पाँच वर्षे कार्यकाल साँच्चै चुनौतीपूर्ण छ । संघीयताको दिगोपना समेत अबको कार्यकालले निर्धारण गर्नेछ ।

images

संघीयताको दिगोपना

संघीयताको औचित्य र दिगोपना जनप्रतिनिधिको व्यवहार, आचरण र कार्यशैलीले निर्धारण गर्नेछ । जनताले संघीयताको भविष्य निर्वाचितहरूको हातमा सुम्पिएको छ । कतिपयले यसको औचित्य समाप्त भएको समेत भन्न भ्याएका छन् । पहिलो चरणलाई आधार मानेर संघीयताको प्रभावकारी मूल्यांकन पर्याप्त छैन र हुँदैन । यद्यपि, हामी उन्मुख भइरहेको दिशाको प्रवृत्तिगत विश्लेषण भने गर्न सकिन्छ ।

सुरुवाती चरणमा संघीयताबारे आम मानिसमा टीकाटिप्पणी र प्रश्नहरू उठ्नुलाई स्वाभाविक मान्न सकिन्छ । अर्काेतर्फ हाल उत्पन्न समस्या, मतभिन्नता या आंशिक विकृतिलाई आधार बनाएर एकखाले मानिसहरू संघीयतालाई नै असफलताको रूपमा चित्रण गर्दैछन् । यद्यपि, नेपाल जस्तो जातीय, धार्मिक, सांस्कृतिक बहुलता भएको मुलुकमा संघीयता सबैभन्दा उत्तम व्यवस्था हो ।

इतिहासका विभिन्न कालखण्डमा प्रायः सबैखाले शासन व्यवस्था व्यहोरेको नेपालले २१ औं शताब्दीमा आफ्नो परिवेश मिल्दो संघीय शासन व्यवस्थालाई सफल पार्नुको विकल्प हामीसँग छैन । त्यसैले राज्य सञ्चालनको नाममा देशलाई बारम्बार प्रयोगशाला बनाउनु हुँदैन । संघीयताको विषयमा प्रश्न र टीकाटिप्पणी गर्ने अधिकार सबैमा छ, साथै, यसको मर्मअनुसार काम गर्ने जिम्मेवारी पनि सबैको काँधमा छ ।

संघीयताप्रतिको बुझाइ

स्थानीय तह निर्वाचनमा संघीयताप्रति राजनीतिक दल, उम्मेदवार र आम मानिसको बुझाइ कमजोर देखियो । यही छनक र शैलीले संघीयताको दिगोपनामाथि प्रश्नचिहृन खडा गरेको छ । मुख्यतः मतदाता र राजनीतिक दलहरूमा चुनावप्रतिको बुझाइ परम्परागत नै देखियो । आजको परिवर्तन र बदलिएको व्यवस्थासँग चुनावलाई जोड्न सकेन । यो पुरानो व्यवस्थाको चुनाव हैन । तर, दल र जनताको बुझाइ त्यस्तै रहृयो । हिजोकै पञ्च र बहुदल स्थापनापछि भएको चुनावहरूसँग स्थानीय चुनावलाई हेरियो । संघीयतालाई मुख्य एजेण्डाको रूपमा अघि सारेर मतदाताको माझ जाने प्रयास राजनीतिक दलहरूले गरेनन् । अर्थात् चुनाव र संघीयतालाई फरक-फरक स्थानमा राखेर चुनावमा होमिए । यसरी होमिंदा देशले चाहेको व्यवस्था र परिवर्तनले सेटब्याक खाएको छ ।

हामीले व्यवस्था उन्नत खालको रोज्यौं तर, प्रयोग चाहिं पुरानै हुँदा आजको व्यवस्थामाथि प्रश्न उठेको छ । आफ्नो जनप्रतिनिधि छान्ने भनेको अहिलेको व्यवस्था र परिवर्तनलाई बचाउने हो । तर राजनीतिक दलले मतदातालाई त्यो बुझाउन सकेनन् । पुरानै शैलीबाट हामी ग्रसित रहृयौं । राजनीतिक दलहरूको एक मात्र एजेण्डा चुनाव जित्नु बाहेक अरू रहेन । मुख्य एजेण्डा नै चुनावदेखि चुनावसम्म रहृयो । चुनाव जितेपछि के गर्ने भन्ने कुरा सहायक बन्यो । कार्यकर्तालाई भर्ती गर्ने र अर्काे निर्वाचनसम्म आफ्ना मतदाता कसरी बचाउने भन्ने नै राजनीतिक दलको मुख्य एजेण्डा बन्यो । यस्तै बुझाइ र व्यवहारले संघीयताको खिल्ली उडाएको छ ।

सैद्धान्तिक बहसको पाटो

स्थानीय तह निर्वाचनमा सैद्धान्तिक बहसको पाटो निकै कमजोर देखियो । राजनीतिक दल छुट्याउने माध्यम समेत प्रचार सामग्री -झण्डा, टिसर्ट, चुनाव चिहृन आदि) ले मात्र सहज भयो । अपवाद बाहेक कुनै पनि स्थानमा उम्मेदवारले सैद्धान्तिक बहस र एजेण्डालाई प्राथमिकतामा राखेर मत मागेनन् । राजनीतिमा सैद्धान्तिक बहस र मुद्दा ओझेलमा पर्दा हाम्रो व्यवस्था पनि कमजोर नै बनिरहन्छ । किनभने अहिलेको व्यवस्था राजनीतिक मुद्दा र एजेण्डामा आधारित छ । समग्रमा स्थानीय निर्वाचनमा सैद्धान्तिक पाटो ओझेलमा पर्नु भनेको संघीयता कमजोर हुनु हो ।

पूँजीवादको उच्चतम प्रयोग स्थानीय निर्वाचनमा देखियो । आफूलाई माक्र्सवादी भन्ने पार्टीहरू समेत पूँजीवादलाई आधार मानेर चुनावमा होमिए । हिजैदेखि आफूलाई प्रजातन्त्र र पूँजीवादको जननी ठान्ने पार्टीहरूले त्यसको उपयोग गर्नु कुनै नौलो कुरा रहेन, भएन । अर्काेतर्फ माक्र्सवादीहरूले समेत सैद्धान्तिक पक्षलाई लत्याउँदै उत्ताउलो पारामा चुनाव जित्नको लागि भरपुर रूपमा पूँजीको प्रयोग गरे । यसरी चुनावमा अधिकतम रूपमा पूँजीको प्रयोग हुँदा सैद्धान्तिक पक्षहरू ओझेलमा पर्‍यो । पूँजीवादको अगाडि नैतिकता, विचार, आदर्श, समानता, प्रजातन्त्र, सत्ता सबै पक्ष गौण बन्छन् । किनभने पूँजीवादको चरित्र भनेकै राज्य-सत्तालाई दबाउनु हो । राजनीतिक दलहरूसँग सिद्धान्त मात्रै होइन, एजेण्डा पनि जोडिएको हुन्छ । एजेण्डा नै छाडेर संघीय प्रणाली निर्वाचनमा पूँजीको उच्चतम प्रयोग हुँदा त्यसले कस्तो नतिजा देला ? पूँजीको परिचालन गरेर जनप्रतिनिधि बनेकाहरू यो व्यवस्थाको रक्षक बन्न सक्छन् कि सक्दैनन् ? प्रश्न सैद्धान्तिक मात्रै होइन उत्तिकै भावनात्मक छ ।

स्थानीय सरकारप्रतिको बुझाइ

उम्मेदवारले मतदातासँग मत माग्दा झुटो आश्वासनको चाङ नै लगाउने गरेका छन् । संघीय प्रणाली र स्थानीय तह सञ्चालन ऐन नै नबुझी मतदातालाई आश देखाउने प्रवृत्ति सबैभन्दा खतरनाक र घातक छ । मतदातामाझ जाँदा उम्मेदवारले स्थानीय सरकार सञ्चालन ऐन राम्रोसँग अध्ययन नगर्नु सबैभन्दा ठूलो समस्या हो । स्थानीय सरकारसँग स्रोत र साधनहरू सीमित छ । तर उम्मेदवारले गरेको प्रतिबद्धताहरू डरलाग्दो छ । कार्यान्वयनको लागि स्रोत र साधनको अभावमा अपूरो हुने निश्चित छ । स्थानीय तह सञ्चालनको प्रकृति नबुझी जनतामाझ गरिएका वाचाहरू संघीयतामाथिको अर्काे प्रहार हो ।

बितेको पाँच वर्षमा स्थानीय जनप्रतिनिधिहरूले आफ्नो स्थानीय तहमा स्रोत र साधनको उपयोग र प्रयोग सही ढंगले गर्न सकेन । जबसम्म स्थानीय सरकारले आफू बलियो हुनको लागि आफैंभित्र स्रोत र साधनको पहिचान गर्दैन, तबसम्म संघीयताले सार्थकता पाउँदैन । अहिले केन्द्रीय बजेटले मात्र संघीयता चलेको छ । संघीयताको जग नै स्थानीय सरकार भएकाले, स्थानीय सरकार आफ्नै स्रोत र साधनमा बलियो नबनेसम्म देशको संघीयता बलियो हुँदैन ।

अहिलेको स्थानीय सरकारहरूले आर्थिक स्रोत भनेकै कर र प्राकृतिक स्रोत र साधनलाई मानेको छ । कतिपय स्थानीय तहहरू आफैंमा स्रोत र साधनले भरिपूर्ण नहुँदा अर्काे स्थानीय तहमा निर्भर रहनुपर्ने बाध्यता छ । आफ्नो सेवा र श्रम बेच्न र आफ्नो मौलिक स्रोत पहिचान गर्न नसक्दासम्म कुनै पनि स्थानीय तह सक्षम हुन सक्दैन । तत्काललाई उद्योग, कल-कारखाना खोल्ने ल्याकत स्थानीय सरकारसँग छैन । मागेको धोतीले लाज छोप्न सकिन्न भने जस्तै सधैं संघ र प्रदेश सरकारले दिने बजेटले स्थानीय सरकार बलियो बनाउन सकिन्न ।

स्थानीय सरकारको बितेको पाँच वर्षलाई फर्केर हेर्दा, नक्कल गर्ने प्रवृत्ति सबैभन्दा घातक देखियो । उदाहरणको लागि स्थानीय तहहरूले नदी किनारहरूमा रहेको ढुंगा, गिट्टी, बालुवाको बेचबिखन गर्नु स्वाभाविक थियो । भलै नियम कानुन कति माने कति लत्याए त्यो दोस्रो पक्ष रहृयो । तर त्यसैको नक्कल गर्दै नदीनाला नभएका स्थानीय तहहरूले पनि त्यसको लागि टेण्डर आह्वान गरे । यसरी आफ्नो पहिचान के छ ? के कुराको प्रयोग गर्ने भन्ने कुरा पहिचान नगरी अरूको नक्कल गर्दा स्थानीय सरकारहरू असफल बने । आफ्नो पालिकाभित्रको स्रोत र साधनको पहिचान गर्न नसक्नु सबैभन्दा ठूलो समस्या हो ।

अन्त्यमा, पटक-पटक राज्यको व्यवस्था फेर्ने ल्याकत जनतासँग हुँदैन । व्यवस्थाभित्रको अवस्थालाई रूपान्तरणमा जोड दिन सकियो भने उपलब्धि हासिल गर्न सकिन्छ । संघीयता भन्दा उत्तम व्यवस्था नभएको अवस्थामा यसको सही सदुपयोग नै हाललाई अन्तिम विकल्प हो । देशलाई पटक-पटक प्रयोगशाला बनाउनु हुँदैन । त्यसैले यो व्यवस्थाको उचित रूपले प्रयोग गर्नुको विकल्प हामीसँग छैन । राजनीतिक दल, नेता, जनप्रतिनिधि उत्ताउलो भयो भने समयले अर्काे व्यवस्थाको माग स्वाभाविक रूपमा गर्छ । त्यसैले जिम्मेवार निकायहरू यसप्रति सजग रहनै पर्छ ।

images
प्रकाशित मिति :जेठ १७, २०७९ मंगलवार - ०८:२०:१४ बजे

देवराज गुरुङ

लेखक देवराज गुरुङ राजनितिक विश्लेषक हुन् भने इच्छाकामना न्युजका सम्पादक समेत हुन्।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology