सबैभन्दा पहिला समाज, संघ वा संस्था भनेको के हो बुझ्न जरुरी छ । सामान्यतया समाज भनेको कुनै दुई वा दुईभन्दा बढी कुनै उद्धेश्य पूर्तिको लागी राखिएको व्यक्तिहरुको समूहलाई समाज भनिन्छ । अब प्रश्न आउन सक्छ व्यक्तिहरुको समूहलाई मात्र समाज भनिन्छ त ? होइन, यति अर्थमा मात्र परिभाषित गर्दा अपुग हुन्छ । जसले निश्चित उद्धेश्य सहित आफ्नो भाषा र धर्मको लागि, संस्कार र संस्कृतिको लागि, मूल्य र मान्यता, परम्परा र अस्तित्व सुरक्षाका लागी संगठित भई लालच रहित विशुद्ध समाजसेवाको मूलधारमा समाहित रहने प्रारुप वा स्वरुप नै समाज, संघ वा संस्था हो ।
प्राचीन ढुङ्गेयुगमा मानिस एक्लै शिकार गर्न जान्थे र आफ्नो पेट भर्थे । बन्यजन्तुको धेरै त्रास हुन्थ्यो र धेरैको उल्टो आफैं शिकार बन्न पुग्थ्यो । मानव सभ्यताको विकास क्रमसंगै मानिसमा चेतना र बौद्धिक स्तर बढ्दै गयो । उनीहरु समूह भएर हिड्न थाले । यसरी समूहमा हिड्न थालेपछि बन्यजन्तु डराएर भाग्न थाले । यसरी सृष्टिकालदेखि मान्छेको समूह हुँदै समाजको महत्त्व भएको देखिन्छ ।
व्यक्ति व्यक्ति मिलेर बनेको विभिन्न संरचनाहरु परिवार, समूह, क्लब, समूदाय, समाज, संगठन, संस्था र संघको संख्या, बनोट, संजाल र कार्यक्षेत्रको आधारमा आ-आफ्नै उद्धेश्य, विशेषता र परिभाषा फरक हुन सक्दछ । तर यी सबैको उद्धेश्य र तात्विक अर्थ व्यक्तिलाई सामाजिकरण बनाउनु हो । सोझो अर्थमा व्यक्तिले आफ्नो मानव अस्तित्व जोगाउनु र अर्को पिंडीलाई हस्तान्तरण गर्नु हो । व्यक्तिलाई म बाट हामी बन्न अभिप्रेरित गर्दछ । मानिस एक चेतनशील र सामाजिक प्राणी भएकोले आजको युगमा अलग्गिएर बाँच्न सक्दैन । विभिन्न कोणबाट समाजमा आफ्नो अन्तर्सम्बन्ध कायम भई नै रहन्छ ।
व्यक्ति आफ्नो परिवार र समूदायमा हुर्केपछि विस्तारै आफ्नो चालचलन अनुसारको जिविकोपार्जन गर्ने गर्दछ । आफ्नो जिवनयापन र दैनिकी चलाउन हम्मे हम्मे परेपछि हाम्रोजस्तो विकासोन्मुख देशको जनतालाई आफ्नो जन्मभूमि र मातृभूमि चटक्क छोडेर विदेशमा रहरले होईन कहरले रोजगारीको लागी जानुपर्ने बाध्यता छ । प्रवासमा आफ्नो रगत पसिना बगाएर पैसासंग साट्नुपर्ने श्रमको पैसाले आफ्नो घरको चुहिएको छानो फेर्ने सपना, परिवारको लालनपालन र शिक्षादिक्षा हेर्ने अभिभारा हुन्छ । हामी नेपालीहरु यीनै बाध्यताहरु र सपनाहरुले थिचिएर श्रम गरिरहेको कटुसत्य पनि हो ।
जब आफू जन्मेर हुर्केको भूगोल नाघेर विभाजित आकाशको बाटो हुँदै प्रवासमा आफ्नो श्रम बेच्न पुग्छौं त्यो आफैंमा व्यक्त गर्न नसकिने अमूल्य पीडा हुन्छ । नौलो देश, नयाँ परिवेश अनि नभिजेको रहनसहन र वातावरणले न्यास्रो हुनु स्वभाविक हो । कुनै नेपाली अनुहार देखेपनि आफ्नै घरको सदस्य भेटेको जस्तो अनुभव हुने रहेछ । कुराकानीको सबैभन्दा अगाडी सोध्ने भनेको नै तपाई नेपाली हो ? त्यसपछिको भलाकुसारीमा कुन ठाउँ, कुन जिल्ला भन्ने परिचयको सविस्तार हुन्छ । अपनत्व र राष्ट्रियता वार्तालापको हरेक शब्दमा हुने गर्दछ ।
प्रवासको बसाई सोचेजस्तो र अपेक्षा गरेजस्तो सजिलो र सहज हुँदैन । समय अनुसार अनुभव र भोगाईको आधारमा बानी त पर्छ नै यद्यपि आखिर मान्छेको शरीर न हो, तनाव हुन्छ, थकान हुन्छ, पीर हुन्छ । अहिलेको आधुनिक युगमा ईन्टरनेटको विभिन्न पहुँचले घरपरिवारसँग जोडिने माध्यम भएपनि समयको तालमेल नहुँदा कुराकानी गर्ने समय नमिल्न सक्छ । समय सधैं आफू अनुकूल नहुँदा आफ्नो भावना, मर्म र विचारहरु गुम्सिन सक्छन् । प्रवासको रहनसहन, दु:ख पीडा, सार्हो गार्होको केही न केही अनुभव र अनुभूति हरेकलाई हुने गर्दछ । यहाँको वास्तविकता सहन सक्नेहरु आफ्नो कार्यावधि सकेर सकुशल घर फर्कन्छन् भने सहन नसक्नेहरु सामाजिकरण हुन नसक्दा एक्लोपनको महसुस भई मानसिक रोग, डिप्रेशनको शिकार भएको र आत्महत्या समेत गर्ने गरेका थुप्रै उदाहरणहरु छन् ।
प्रवासको बसाईलाई सहज बनाउन, विभिन्न प्रतिकूल तत्वहरुबाट हुने प्रभावहरुबाट बच्न आत्मीय साथीभाईको संगत र सम्पर्कमा रहनुपर्छ । आफ्ना कुराहरु सेयर गर्न ती सबै एक्लोपनको सारथीको रुपमा परदेशमा आफूसँगै रहेको साथीभाई र वरपर रहेको आफन्त परिवारको दर्जा स्वरुप सहायक सिद्ध हुन सक्दछ । समस्या जति नै ठूलो किन नहोस् धेरै व्यक्तिहरुको माझमा अझ उत्कृष्ट समाधानका उपाय निस्कने गर्दछ । हत्केलाको सबै औंलाहरु एकत्रित गरे मुठ्ठी बलियो भएजस्तै जब एकताको कुरा आउँछ समस्याका विशाल पहाडहरु फोर्न सकिन्छ, चुनौतीका घुम्तीहरु छिचोल्न सकिन्छ, दु:खका खाडलहरु पुर्न सकिन्छ अनि पीर तनावका बक्ररेखाहरुलाई मेट्दै सुखद सरल अनुभूति गर्न सकिन्छ । यद्यपि जीवन सङ्घर्षको क्रममा विविध चुनौती र कठिनाईहरु झेल्ने सामर्थ्य र आत्मविश्वास बटुल्दै अगाडी बढ्नु नै बुद्धिमता हो ।
प्रवासमा गठन भएका संस्थाहरुले दु:ख अप्ठ्यारो परेका व्यक्ति, समुदायहरुलाई विभिन्न सहयोग गर्दै आइरहेको छ । जटिल भन्दा जटिल रोगले थलिएका बिरामीहरुको उपचारका लागी आर्थिक संकलन अभियान मार्फत बिरामीले नयाँ जीवन पाएका छन् । कयौंले बिरामी पर्दा वा काम छोडेर बस्दा संस्थाले विशुद्ध सेवाको भावले खोलेको आवास गृह "शेल्टर"को नि:शुल्क उपभोग र सेवा प्राप्त गरिरहेका छन् । त्यसो नहुँदो हो त थाम्नै नसक्ने चर्को मूल्यको होटेल लजको विकल्प हुने थिएन । यसो हेर्दा संस्थाले कठिन अवस्थामा नेपालीहरुको आवश्यकतालाई धेरै हदसम्म पूरा गरेको छ । संस्थाले गरेको यो प्रकारको कार्यहरु सामाजिक सेवाको दरिलो उदाहरणको रुपमा मान्न सकिन्छ ।
कुनै पनि NGO/INGO वा दातृ निकायले गरेको सहयोग प्राप्त गर्न वा कुनै पनि संस्थागत आदानप्रदान विश्वसनीय हुन्छ । पछिल्लो समयमा कोरोनाको महामारीले चपेटामा परेको बखत नेपाललाई करोडौं अरबौंको जिन्सी र नगद विदेशमा भएका संघ संस्थाहरुले सहयोग गरेर राहत उपलब्ध गराएको सबैलाई जग जाहेर नै छ । भुकम्प लगायतका अन्य थुप्रै प्राकृतिक विपत्तिमा गरेको सहयोग र सहकार्य कयौं छन् । शिक्षा, स्वास्थ्यको क्षेत्रमा गरिएको सहयोग र चिसो मौसममा न्यानो कपडा बाढ्ने कार्यक्रमहरु समेत उल्लेख्यनीय छन् । यी सबै एकताको मनोभावना र सबैखाले संगठित संघ-संस्थाले गरेको सामाजिक कार्यको उपज हो, पुण्य कामको ज्वलन्त उदाहरण पनि । सम्बन्धित संस्थाले आफ्नो उद्धेश्य अनुरुप प्रवासमा रहेर पनि आफ्नो अस्तित्व र पहिचान विश्वसामु चिनाउने काम गरिरहेका छन् । अनेकतामा एकताको सन्देश फिजाउँदै नेपालको गौरव, महिमा र नेपालीको सार्वभौम विश्वसामु चिनाउन आ-आफ्नो ढंगले योगदान दिईरहेका छन् ।
नेपाली मौलिकता जोगाउन विभिन्न जातीय संघ संस्थाहरुले चाडपर्वहरुको अवसरमा बाजागाजा सहित खुशीयाली मनाउने प्रसङ्ग उत्तिकै रोचक र प्रशंसनीय छ । दक्षिण कोरियामा स्थापित संघसंस्थाको सन्दर्भमा सम्बन्धित जातीय संस्थाहरुले आ-आफ्नो भाषा, भेषभूषा, पहिचान र अस्तित्व संरक्षणमा लागि परिरहेका छन् । क्षेत्रीय संस्थाहरुले आफ्नो गृह जिल्ला अन्तर्गत आर्थिक, भौतिक र संरचना एवं पूर्वाधार विकासका निमित्त मात्र नभएर दैवीप्रकोपबाट पीडित व्यक्ति वा परिवारलाई राहत प्रदान गर्ने कामहरु भई नै रहेकोे छ । विभिन्न धार्मिक संस्थाहरुले आफ्नो धर्म, शास्त्र, परम्परा र दर्शन जोगाउन खटि नै रहेको देखिन्छ । सामाजिक संस्थाहरु परोपकारी कार्यहरुमा अग्रसरता देखाई नै रहेको छ । भाषिक र साहित्यिक संस्थाहरुले आफ्नो क्षेत्रको विस्तार र उन्नयनको निम्ति जुटिरहेको देखिन्छ । राजनैतिक संस्थाहरुले आफ्ना मुद्धा र राष्ट्रिय एजेन्डाहरुको उठान र आफ्नो विचारधारा अघि सारिरहेकै देखिन्छ । साँस्कृतिक संस्थाहरुले आफ्नो संस्कृति र कलाकारको हितको विषयमा केन्द्रित रहँदै गीत संगीतको माध्यमबाट प्रस्तुत भई नै रहेका छन् । खेलकूद सम्बन्धि संस्थाहरुले स्वस्थ जीवनको लागी खेलकूदको आवश्यकता र अपरिहार्यता जनाउँदै प्रतियोगिता आयोजना गरिरहेकै छन् । शैक्षिक संस्थाहरुले एजुकेशनल एक्स्पो कार्यक्रमहरु आयोजना गर्दै सैद्धान्तिकसँगै व्यवहारिक शैक्षिक प्रणालीको स्तरोन्नति र विधार्थीको हितको निमित्त अघि बढिरहेका छन् । यी उल्लेखित सबै संस्थाहरु एक आपसमा पारस्परिक सम्बन्ध कायम गर्दै सहयोग र समन्वय गरिरहेको देखिन्छ ।
संस्थाद्धारा संचालित वा आयोजना गरिएको जूनसुकै कार्यक्रमको पनि खास उद्धेश्य हुने गर्दछ त्यसै अनुरुप संस्थाले आयोजना गरेको विभिन्न मनोरञ्जनात्मक सांगीतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, भाषिक वा साहित्यिक कार्यक्रम, बनभोज कार्यक्रम, लागुऔषध दुर्व्यसनी नियन्त्रण तथा रोकथामका उपायहरु, समसामयिक विषयमा केन्द्रित विभिन्न चेतनामूलक, अन्तर्क्रिया छलफल तथा परामर्श लगायतका कार्यक्रम मार्फत प्रवासीहरुको थकित मन र तनलाई स्व-स्फुर्त बनाउने र खुशीको अनुभूति दिलाउने कामहरु गरेको छ । यीनै कार्यक्रमहरुबाट कलाकारहरुले अवसर प्राप्त गर्नु र कलाकारितामा प्रोत्साहन हुनु, खेल प्रबर्द्धनमा टेवा पुग्नु र खेलाडीको सम्मान हुनु, भाषा-धर्मको संरक्षण र परम्पराको जगेर्ना हुनु, साहित्यको विकास र संगीत क्षेत्रको सम्बर्द्धन हुनाले राष्ट्रको शान र गौरवसँंग जोडिएर परोक्ष प्रभाव पर्नु भनेको निश्चय नै सुखद र सकारात्मक पक्ष हो । यसको अतिरिक्त संस्थाको मातहतमा चालिएको अभियान र आयोजना गरिएका कार्यक्रमहरु थप विश्वसनीय र प्रभावकारी हुने गरेको पाईएको छ । देशमा भईरहेको बेथिति, विकृति, भ्रष्टाचार, अनियमितता विरुद्ध दवाव दिने, खबरदारी गर्ने र आफ्ना आवाजहरु सामूहिक रुपमा बुलन्द पार्ने सशक्त माध्यमको रुपमा संस्था कोसेढुङ्गा साबित हुन सक्दछ ।
सुखमा समेत एक्लै हाँस्न र रमाउनुको असली मज्जा र आनन्द हुँदैन भने दु:खद परिस्थितिमा सहयोग र साथ चाँहिदैन भन्ने कुरै आउँदैन । यहाँसम्म कि कसैको ढाडस र आश्वासनले मात्रै पनि जीवनको अध्याय नै फेरिएको हुन्छ । आफूलाई उपयुक्त लाग्ने, सहज लाग्ने वा विश्वास लाग्ने प्रवासमा गठन भएका कुनै पनि समूह, संघ संस्थासँग जोडिनु लाभदायी हुन्छ । व्यक्ति संस्थामा जोडिएपछि सम्बन्धित संस्थाको ज्ञान, वैयक्तिक र सामाजिक रुपमा यसले प्रभाव पार्ने पाटोहरुको अध्ययन गर्ने मौका मिल्दछ । आफ्नो व्यक्तित्व विकास, नेतृत्व लिनसक्ने, जिम्मेवार र अभिभारा बोक्न सक्ने क्षमता अभिबृद्धि हुनुको साथै रचनात्मक र सिर्जनात्मक हुन प्रेरित गर्दछ । समूहमा आएका सही र गलत कुराको छनौट गर्ने, मापन गर्ने र उत्कृष्ट निचोड निकाल्दै निर्णय गर्न सक्ने बानीको विकास हुन्छ । चाहे क्षेत्रीय, जातीय, धार्मिक, साँस्कृतिक, साहित्यिक, राजनैतिक, सामाजिक संस्था, खेलकूद सम्बन्धी संस्था, शैक्षिक संस्था वा अन्य कुनै समूह, क्लब वा परिवारको नामबाट सञ्चालित संस्था होस् त्यसले कुनै फरक पर्दैन । तर आफू जोडिएको संस्थाको अवधारणा, उद्धेश्य, नीति, कार्ययोजनाको हेक्का चाँही राख्नैपर्ने हुन्छ र योसँगै संस्था निस्वार्थ भावनाले ओतप्रोत रहेर सामाजिक सेवामा समर्पित रहनु वाञ्छनीय हुन्छ ।
स्वार्थ सहितको संस्थामा उपस्थिति समाजसेवा हुन सक्दैन । नाम कहलिनको लागि वा संस्थाले आयोजना गरेको मञ्चमा शान र मानको लोभले गरेको मात्रैको समाजसेवाले सिमित व्यक्तिको भलाई त होला तर संस्था उन्नतिको बाधक बन्न पुग्दछ । व्यक्तिगत स्वार्थको लागि संस्थालाई माध्यम बनाई प्रयोग गर्नेहरु धेरै समय टिक्न सक्दैन । गलत नियत र प्रवृत्ति कर्तुत पोखिएर जाने निश्चित छ । सबै संस्था शतप्रतिशत राम्रो नै छन् भन्ने पनि होईन । हरेक विषयको राम्रो र नराम्रो पक्ष हुने गर्दछ । कुनै कुनै संस्था विवादित बन्दै नराम्रो काण्डमा समेत मुछिएका पनि भेटिन्छन् । संस्थाको नियम/विधान अनुरुप नचल्ने, राजनैतिक तत्व हावी गर्ने र गराउने, नेतृत्व चयनमा नातावाद र कृपावादलाई प्रश्रय दिने, एकलौटी रुपमा मनोमानी गर्ने, समयमा अधिवेशन नगरी पदको लागी कार्यावधि लम्ब्याउने, आर्थिक हिनामिना र अनियमितता गर्ने, विभिन्न कार्यक्रमहरुको पारदर्शिता प्रस्तुत नगर्ने, आफू र आफ्नो संस्थाले गरेको कार्य मात्रै राम्रो भन्ने र अरुको सम्मान नगर्ने, खेदो खन्दै गल्ती मात्र औंल्याउने जस्ता पात्र र प्रवृत्ति पनि छन् । आफ्नो गाउँ, टोल वा भेगको मात्रैको समेत संस्था गठन भएको पाईएकोले यो अनावश्यक भयो, काम न काजको संस्थाहरु गुणात्मक भन्दा संख्यात्मक धेरै भए भन्ने पनि छन् । खैर सबै यीनै कारणहरुले व्यक्तिको संस्थाप्रतिको असन्तुष्टि, उपेक्षा र वितृष्णा जागेको र मोह नहुनु र सहभागिता न्यून हुनुको कारक तत्व हुन सक्दछ । यद्यपि सबै संस्थालाई गलत उपमा दिनु र एउटै टोकरीमा मापन गर्नु न्यायोचित भने हुँदै होईन ।
संस्था भनेको दु:खको बेला अपनत्व प्रदान गर्ने, आपतविपतमा सहयोग गर्ने र आफ्नो सामाजिक दायित्व र अभिभारा पूरा गर्ने हो भन्नेमा दुईमत छैन । सहयोग र लाभ लिईसकेपछि संस्थासँग धन्य र कृतज्ञ रहँदै हरेक गतिविधिमा निरन्तर जोडिएर सामाजिक कार्यमा अग्रसर हुनेहरु नभएका होइनन् । अघिपछि संस्था भएको नभएझैं गर्ने तर जब आफू वा आफ्नो आफन्त अप्ठ्यारोमा पर्छ संस्थासँग सहयोगको अपेक्षा गर्दै हारगुहार गर्नेहरु पनि प्रशस्त छन् । यहाँ त के पनि भईदिएको छ भने आफू अनुकूल नहुँदा संस्थाको गलत अवमूल्यन र अपव्यख्या गर्दै हिड्नेहरुको समेत कमी भने छैन । यद्यपि संस्थासँग नजोडिकन सामाजिक अभियान्ताको रुपमा परिचित रहँदै समाज कर्म गरिरहेका वा ईच्छाशक्ति भएर पनि समयाभावको कारण संस्थामा जोडिन बञ्चित हुनेहरुको भिन्दै प्रसङ्ग र अलग्गै पाटो बन्न सक्दछ ।
समाजसेवा एउटा नशा हो । यो नशामा रम्ने र रमाउनेहरु लिनुभन्दा दिनुमा खुशी हुन्छन् । प्राप्तिमा भन्दा त्यागमा आफ्नो सन्तुष्टि पाउँछन् । सामाजिक कार्य होस् या अन्य कुनै कार्य आत्मसन्तुष्टिले खास अर्थ राखेको हुन्छ । सामाजिक कार्य गर्ने प्रबल ईच्छाशक्ति र हुटहुटी छ भने कसैले रोकेर रोक्न सक्दैन । समुन्नत समाज र राष्ट्रको हितको निमित्त सामाजिक सेवाको भावनामा कटिबद्ध व्यक्तित्व परिवर्तनको संवाहक हुने गर्दछु । त्यसैले खुलेर साथ र समर्थन गरौं । विश्वास गरौं कि दियोलाई सजिलै फुकेर निभाउन सकिन्छ तर अगरबत्तीलाई होईन किनभने बासना दिने वस्तुलाई निभाउन त्यति सजिलो छैन । समाजको लागि वास्तवमै राम्रो योगदान दिने र सत्यतालाई अङ्गाल्ने व्यक्ति कालान्तरसम्म सर्वप्रिय रहन्छ । सत्मार्गमा लाग्नेहरुले जति अरुलाई दिन्छन् उसको हातमा भगवानले अझ भरिपूर्ण गरिदिन्छन् । “जुन हातबाट अरुलाई फूल बाँडिन्छ, त्यो हातमा पनि सुगन्ध पक्का आउँछ ।” एक आपसमा सद्भाव कायम गर्दै सामाजिक उत्तरदायित्वमा फराकिलो भएर सोचौं । सबैको जय होस् ।