इतिहासको एकोहोरो रटानले एकीकरणको भाष्यको जगलाई मजबुत गराउने काम गरेकै छ । यो क्रम हेर्दा आजसम्म पनि एकीकरण अभियान जारी नै छ । आज पनि पृथ्वीनारायण शाहका बारेमा फरक मत राख्दा आक्रोशित हुने जमातको कमी छैन । निश्चित व्यक्तिभन्दा परको मान्छेले लेखेको इतिहासले किन वैधता पाउँदैन ? यस्तै–यस्तै अनुत्तरित प्रश्नले हाम्रो इतिहास माथि शंका–उपशंका पैदा गरेको छ ।
यस्तै प्रश्न र अहिलेसम्म पढाइएको इतिहासलाई चुनौती दिने पुस्तक हो, ‘नेपालको प्रथम जनविद्रोही सहिद लखन थापा मगर ।’ जंगबहादुर राणाले जहानियाँ राणाशासनको सुरुवात गरेपछि वर्ण–व्यवस्थामा आधारित नेपाली समाजको निर्माण कानुनमार्फत नै गरे । वि.संं. १९१० मा मुलुकी ऐन जारी गर्दै वर्णव्यवस्था नभएको जनजातिलाई समेत जबर्जस्त वर्णव्यवस्था लागू गर्न कानुन नै निर्माण गर्यो । जहानियाँ राणाशासनविरुद्ध लखन थापा मगरले गरेको विद्रोहको शृंखलालाई लेखक जीवन आले मगरले आफ्नो पुस्तकमा वर्णन गरेका छन् ।
पुस्तकलाई विभिन्न १४ खण्डमा विभाजन गरिएको छ । पुस्तकमा लखन थापा मगरको जन्म, विद्रोह, मृत्यु, प्रथम सहिद घोषणासम्मका महत्वपूर्ण पक्ष समावेश गरिएका छन् । पुस्तक विश्वविद्यालयमा अपनाइने, अनुसन्धान पद्धति अर्थात् थेसिस लेखन शैलीमा लेखिएको छ । यो पुस्तक लखन थापा मगरको वास्तविक इतिहास जान्न चाहने र विश्वविद्यालयका विद्यार्थीका लागि पनि उत्तिकै उपयोगी छ । लखन थापा मगरबारे लेखिएका सबैभन्दा तथ्यगत र उत्कृष्ट पुस्तकमध्ये यो पुस्तक एक हो ।
भारतमा भएको सिपाही विद्रोह दबाउन वि.सं. १९१४ मा जंगबहादुर राणा १४ हजार सैनिकसहित लखनउ पुगे । सिपाही विद्रोहबाट फर्किनेबित्तिकै गुरुङ पल्टनको जम्दार श्रीपति गुरुङले जंगबहादुरविरुद्ध सैनिक विद्रोहको आँट गरे । त्यसको रहस्य खुलेपछि जंगबहादुरको आदेशमा टुँडिखेलमा परेडकै क्रममा हत्या गरियो । त्यस घटनाबाट पाठ सिकेका लखन थापा मगरले सैनिक विद्रोहमार्फत जंगबहादुरलाई सत्ताच्यूत गर्न नसक्ने निष्कर्ष निकाले । त्यसका लागि जनतालाई सुसूचित गर्ने र राजनीतिक रूपले विद्रोह गर्नुपर्ने कुरा उनलाई महसुस भयो । वि.सं. १९२७ मा पल्टनबाट घरबिदा लिएर गोरखाको बुङ्कोट काहुले भङ्गार पुगेका लखन थापा मगर छुट्टी सकिए पनि पल्टन नफर्की राणाशासनविरुद्ध विद्रोहको तयारीमा लागेको कुरा पुस्तकमा मसिनो गरी चर्चा गरिएको छ ।
त्यसवेलाका मानिसमा धर्मप्रतिको अगाध आस्था रहेको हुँदा लखन थापाले जनतालाई संगठित गर्न धर्मको साहायता लिए । जोसमनी सन्त परम्परालाई उनले संगठित गर्ने आधार बनाए । लखनले योगीको जस्तो भेषमा ‘मलाई देवीले वरदान दिएर पठाएकी छन्, आओ भाइ हो, हामी सबै मिलेर जंगबहादुरलाई हटाएर नेपालमा सत्य युग फिराऊँ’ भनी गाउँ–गाउँमा प्रचार गर्दै हिँडेको प्रचार शैलीलाई पुस्तकमा उठान गरिएको छ ।
लखनले जनसेना, जनसरकार तथा वैकल्पिक सत्तासमेत स्थापना गरे । लखनको वाक्शक्ति र प्रचार शैलीबाट झन्डै दुई हजार युवा मोर्चामा सक्रिय बने । सन् १८७६ मा जंगबहादुर सिकार खेल्न सुदूरपश्चिम तराईको जंगलमा पुगेको र फर्किंदा लखन थापाले चन्द्रागिरिआसपासको जंगलमा धराप थापेको कुरा लेखकले निकै रोचक शैलीमा व्याख्या गरेका छन् ।जंगबहादुर सुदूरपश्चिमबाट फर्केपछि देवीदत्त पल्टनलाई गोरखामा गएर ती विद्रोहीलाई जिउँदै पक्रेर ल्याऊ भनी आदेश दिए ।
गोरखामा दोहोरो भिडन्त भएपछि लखन थापालाई सिक्रीले बाँधेर काठमाडौं लगियो । थापाथली दरबारमा कोर्रासहितको यातना दिइयो र लखनलाई गोरखा बुङ्कोटमै पुर्याएर खिर्राको रुखमा झुन्ड्याएर मृत्युदण्ड दिने फैसला सदर गरियो । फाँसीमा चढ्ने समयमा लखनले आफ्नो भनाइ राख्ने क्रममा भने, ‘म मर्न गइरहेको छैन । यदि म मुर्दा अवस्थामा परिणत भएँ भने जंगबहादुरको पनि छिटै अन्त्य हुनेछ ।’
नेपाली समाजमा जंगबहादुरको हत्या ‘लिँडे बाघ’ र ‘जार काट्ने मगर युवक’को हातबाट भएको भन्ने जनश्रुति पाइन्छ । मगरलाई अपमानजनक रूपमा सम्बोधन गर्दा ‘लिँडे’ भन्ने चलन छ । त्यसैले लिँडे बाघले मारेको भन्ने भनाइले कुनै साहसी मगर युवकको आक्रमणबाट जंगबहादुरको हत्या भएको संकेत गर्छ । अर्कोतर्फ विद्रोहीको हातबाट हत्या भएको भन्नु लज्जास्पद हुने भएकाले उनको मृत्यु रहस्यमय बनाइएको हुन सक्छ ।
लिँडे बाघ भन्नाले पुच्छर नभएको बाघ हो । तर, लिँडे बाघ नेपालको कुनै पनि भागमा भेटिँदैन । मगरलाई अपमानजनक तरिकाले लिँडे भन्ने प्रचलन हुनुले यसको पुष्टि गर्छ । अर्काे तर्फ जङ्गबहादुरको अन्त्येष्टिमा उनकै ११ जना रानीहरूले समेत अनुहार हेर्न नपाउनुले पनि माथिको कुरालाई थप प्रस्ट पार्छ । पुस्तकमा लखन थापा मगरलाई प्रथम सहिद घोषणा गर्न विशेषगरी जातीय संघसंस्थाले वि.सं. २०३९ सालबाट गर्दै आएको पहल र वि.सं. २०७२ साल असोज ३ गत्ते मात्र नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयले सार्थकता दिएको पक्षलाई समेत उजागर गरिएको छ ।
पुस्तकमा सहिद लखन थापाले राणाशासनविरुद्ध गरेको संघर्ष र त्यसले नेपालको प्रजातन्त्रमा पारेको प्रभाव पनि समेटिएको छ । यो पक्ष आफैँमा प्रशंसालायक छ । तर, लखन थापाको सहयोगीको रूपमा रहेको जैसिंह चुमी वि.सं. १९३३ फागुन २ गत्ते लखन थापासँगै एकै साथ खिरी र बेलौतीको रुखमा झुन्ड्याइएको थियो । उनको बारेमा पनि पुस्तकमा चर्चा हुनुपथ्र्यो ।