ध्यान कुलुङ, सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका १ सिसुवाखोला बेसिन्दा गाउँका पहिरो प्रभावितलाई स्थानान्तरण गर्न सरकारले जग्गा उपलब्ध गराएको छ । २०७७ असार २७ गते राति आएको पहिरोबाट प्रभावित भएका नागरिकलाई २ वर्षपछि सरकारले घोषणा गरेअनुसार जग्गा प्रदान गरेको हो ।
पहिरोका कारण ११ घर बगेको थियो भने ३ जना वेपत्ता भएका थिए । पहिरोमा परि ३ जना घाइते भएका थिए भने ९२ परिवार विस्थापित भएका थिए ।
विस्थापितमध्ये ३७ परिवारलाई सिलिचोङमा र ५५ परिवारलाई खाँदबारी नगरपालिकामा जग्गा उपलब्ध गराईएको छ । स्थानीय, प्रदेश र सङ्घ तिनै सरकारको सम्मन्वयमा सिलिचोङमा बस्न चाहने ३७ परिवारलाई ५७ रोपनी र खाँदबारीमा बस्न चाहनेहरूलाई ६९ रोपनी जग्गा खरिद गरि उपलब्ध गराईएको हो ।
सरकारले पहिरोबाट विस्थापित भइ जग्गा प्राप्त गरेकाहरूको घर निर्माणको लागि प्रति परिवार ५ लाख ५० हजार रूपैयाँ रकम पनि सहयोग गर्ने भएको छ । यो बजेटको सहयोगमा प्रभावितले सरकारले मापदण्ड तोके अनुसारको घर बनाउनुपर्ने जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी नूरहरी खतिवडाले बताउनुभयो ।
पहिरोबाट विस्थापितहरूलाई मनसुनजन्य विपद प्रभावितहरूलाई पुनस्र्थापना गर्ने सम्बन्धी कार्यविधि नुसार बजेटको व्यवस्थापन गरि जग्गा खरिद तथा घर निर्माण गर्न लागिएको हो ।
सो कार्यविधी अनुसार सङ्घीय सरकारले ६०, प्रदेशले ३० र स्थानीय सरकार सिलिचोङ गाउँपालिकाले १० प्रतिशत लगानी गरेको छ ।