Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

जाडो छल्न नेपाल आइपुगे पर्यटक चरा

जाडो छल्न नेपाल आइपुगे पर्यटक चरा

रासस

२५, भाद्र २०७९
जाडो छल्न नेपाल आइपुगे पर्यटक चरा
images

बेलबारी । भदौको मध्यसँगै हिउँदे पर्यटक चरा नेपाल आउने क्रम सुरुभएको छ । चैत अन्तिमसम्म जाडो छल्न नेपाल आउने विदेशी पर्यटक चरा विगतका वर्षमा झैँ यस वर्ष पनि नेपालका खोलानाला र सिमसार क्षेत्रमा आइपुगेका छन् ।

images
images

सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानीजस्तै बनेको छ । देशभरि पाइने आठ सय ८८ चरामध्ये हाल यहाँ पाँच सय ३१ चरा फेला परिसकेका छन् । “नेपालमा पाइने सबै प्रजातिका चरा पनि वर्षभरिनै नेपालमै रहन्छन् भन्ने हुँदैनन्”, वर्ड वाचिङ क्याम्प कोसी टप्पुका सञ्चालक कुरमान मन्सुरी बताउँछन् । उनले भने, “नेपालमा हिउँदमा आउने हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै आउने आगन्तुक पाहुना चराको बसाइँसराइँ वर्षभरि नै निरन्तर चलिरहन्छ ।”

कोसीटप्पुमा बर्सेनि नयाँ नयाँ प्रजातिका चरा आउने क्रम थपिए तापनि विगत वर्षहरुमा झैँ झुण्ड झुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको मन्सुरी बताउँछन् । उनका अनुसार कोसीटप्पुकै आसपासमा रहेको बर्जु ताल र मोरङको बेतना सिमसारमा भने अझै पनि पाउना चरा झुण्डमै आउने गरेको पाइएको छ । प्राध्यापक डा दामोदर थापा क्षेत्रीका अनुसार नेपालको विभिन्न भागबाट तथा दक्षिण भारत र साइबेरीयासम्मका चरा बेतनामा मज्जाले हेर्न पाइन्छ । कोसी टप्पुमा आउने प्रायजसो पाहुना चरा यहाँ पनि आइपुग्छन् । विशेष गरी मङ्सिरदेखि फागुन महिनासम्म विदेशी चरा यहाँ बस्ने उनले बताए ।

प्रा डा थापाका अनुसार बेतना सिमसार राजमार्गसँगै जोडिएको र वनभोजस्थल पनि रहेकाले त्यहाँका पाहुना चरालाई निकै असर पु¥याएको छ तर केही मात्रामा चै विस्तारै विस्तारै स्वभाविक हुँदै जाँदा पनि रहेछन् । साइबेरीया देखी आउने एक प्रकारका चरा, कर्मोरेन्ट (लामो घाँटी भएको एक प्रकारको चरा), विभिन्न किसिमका बकुल्लाका जात र पानि हाँसका विभिन्न जात प्रशस्तै पाइने गरेको प्रा डा थापाले बताए ।

उत्तरी ध्रुवमा हिमपातको सुरुआतसँगै हिउँद यामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा ताल, तलैया र नदी आसपासमा हजारौँ पर्यटक चरा बसाइँसरी आउने गर्दछन् ।

बर्सेनि करिब एक सय ५० प्रजातिका चरा रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्याङ्क रहेको छ । करिब ५० प्रजातीका बटुवा चरा नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान र श्रीलङ्कातिर जाने गर्दछन् । जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोसीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदिशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोसी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्राय रहने गर्दछन् ।

जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् । अन्य प्रजातिमा सिकारी तथा माँसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् ।

दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रीष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ ।

images
प्रकाशित मिति :भाद्र २५, २०७९ शनिवार - ११:०६:३९ बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology