अमर खड्का, सुनसरी । सुनसरीको वराहक्षेत्र चर्चित धार्मिक स्थलमध्य एक हो । तर, बराह क्षेत्रसम्म पुग्नको लागि राम्रो सडक पूर्वाधारको अभावका कारण पर्यटक तथा भक्तजनहरूलाई कठिनाइ हुने गरेको छ । बराह क्षेत्र आसपासमा सडक सुविधा नभएकै कारण धार्मिक पर्यटन प्रबर्धनमा मुस्किल परिरहेको छ ।
सुनसरी बराह क्षेत्रको कोशी पुलबाट साढे ३ किलोमिटर उत्तरमा रहेको बराहक्षेत्र मन्दिर पुग्नलाई निर्माण गरिएको पक्की सडक जिर्ण भइरहेको छ । बर्खाको समयमा लगातार पहिरो खस्ने समस्याका कारण भत्तजन र पर्यटकलाई सास्ती हुने गरेको छ ।
साँघुरो सडक, त्यसमा पनि बेलाबेलामा पहिरो खसिरहने कारण बाटो अबरुद्ध हुने गरेको छ । जसका कारण दैनिक बराह क्षेत्र पुग्ने सयौं नागरिकले दुःख पाइरहेका छन् । बाटोको दीर्घकालिन रुपमा समाधान खोज्नुपर्नेमा भक्तजनहरूको सुझाव रहेको छ ।
पछिल्लो समय कोशी नदीमा सञ्चालन भइरहेको जेट बोट मार्फत पनि भक्तजनहरू मन्दिर पुग्ने गरेका छन् । तर,बर्खामा बाढीका कारण कोशीमा बोट सञ्चालन गर्न रोक लगाउने गरिएको छ। यतिबेला सडक मार्ग हुँदै जानुको बिकल्प रहेको छैन ।
मन्दिरको प्रवद्र्धन र व्यवस्थापनमा तिनै तहको सरकारले ध्यान दिनुपर्ने बराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादु श्रेष्ठको भनाइ छ ।
बराहक्षेत्र नगरपालिकाले भने मन्दिर आवत जावतमा समस्या नहोस भनेर २४ घण्टा नै डोजरको व्यवस्था गरेको छ । जुन, सडक डिभिजनका कर्मचारीहरू मार्फत अबरुद्ध बाटो खुलाउन परिचालन हुने गरेको छ । प्रख्यात तीर्थस्थलको रुपमा रहेको बराहक्षेत्र सम्म पुग्ने सडकलाई चुस्त राख्न सके धार्मिक पर्यटन बृद्धि गराउन सकिने स्थानीय बताउँछन् ।