चौध वर्षीया बालिकामाथि भएको यौन दुर्व्यवहारबारे सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियो पछ्याउँदै जाँदा प्रहरीले एकजना १६ वर्षीय बालकलाई पक्राउ गरेको छ। पक्राउ परेका ती बालकमाथि बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।
कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकका अनुसार कास्कीमा बसोबास गर्दै आएकी ती बालिकामाथि यौन दुर्व्यवहार भएको भनेर सामाजिक सञ्जाल टिकटकमा भिडियो भाइरल भएको थियो। धेरैजनाले त्यो भिडियो सेयरसमेत गरेको प्रहरीले बताएको छ। त्यसपछि प्रहरीले त्यो भिडियो पछ्याउँदै अनुसन्धान गरेको थियो। अनुसन्धानकै क्रममा पीडितसमक्ष प्रहरी पुुगेपछि बल्ल दुर्व्यवहार गरेको भनेर आरोप लागेका बालकबारे थाहा भएको डिएसपी विकले बताए।
‘शनिबारदेखि एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। १४ वर्षकी बालिकामाथि यौन दुव्र्यवहार भएको भनेर टिकटकमा पनि धेरैले सेयर गरेपछि प्रहरीको ध्यानाकर्षण भएको हो’,उनले भने, ‘अनुसन्धानमा खटिएको प्रहरी पीडित बालिकाको परिवारको सम्पर्कमा पुगेपछि बल्ल घटनाबारे थाहा पायौं।’
प्रहरीले घटना कहिले भएको भन्ने खुलाएको छैन, तर पीडित पक्षले बाल यौन दुरूपयोग शीर्षकमा आइतबार मात्र कास्की प्रहरीमा जाहेरी दिएको डिएसपी विकले जानकारी दिए। आफन्तको जाहेरीपछि यौन दुव्र्यवहार गरेको भनी विवादमा परेका बालकलाई नियन्त्रणमा लिइएको डिएसपी विकले बताए। प्रहरीका अनुसार ती बालक पनि कास्कीमा बसोबास गर्छन्। प्रहरीको नियन्त्रणमा रहेका ती बालक १६ वर्षका हुन्।
‘अनुसन्धान भइरहेको छ। सामाजिक सञ्जालमा भाइरल भएकै कारण हामीलाई पीडितसम्म पुग्न सहज भयो। घटना लुुक्न पाएन’,उनले भने, ‘सामाजिक सञ्जालमा भाइरल नभएको भए यो उजुरी तत्काल नपर्न पनि सक्थ्यो। जबकि प्रहरी आफैंले पीडितबारे बनेको भिडियो पछ्याउँदै परिवारसम्म पुगेको थियो। परिवारको सम्पर्कमा प्रहरी पुगेपछि उजुरी गर्न झनै सहज भएको छ।’प्रहरीको नियन्त्रणमा रहेका ती बालकलाई बाल यौन दुरूपयोगसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको डिएसपी विकले बताए। नागरिक दैनिकबाट